News 24 Television
ओलीका लागि विद्या नै तगारो ! फकाउन अनेक जुक्ति

काठमाडौँ । नेकपा एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा सोमबार हीरक जयन्ती मनाउँदैछ । एमालेले मनाउने हीरक जयन्ती किन र केका लागि त ? 

एमालेले कम्युनिष्ट पार्टी स्थापनाको ७५ औं वर्ष प्रवेश गरेको अवसरमा हीरक जयन्ती मनाउने भएको छ । हीरक जयन्ती मनाउन एमालेले २००६ साललाई कम्युनिष्ट पार्टी स्थापनाको आधिकारिक वर्ष मानिएको छ । यस्तोमा एमालेले कम्युनिष्ट शक्तिको नेपालमा बढेको जनमत, जनताले दिएको विश्वास, कम्युनिष्ट पार्टी स्थापना गर्न गरिएको संघर्ष, कम्युनिष्ट नेतृत्व र एमालेको लिगेसीलाई जोडेर भिडियो समेत सार्वजनिक गर्ने भएको छ । एमालेले आयोजना गरेको हीरक जयन्तीमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा विशेष वक्ताका रुपमा रहनेछन् भने, अन्य दलका नेतृत्वलाई समेत आमन्त्रण गरिएको छ । 

एमालेले हीरक जयन्तीलाई विशेष बनाउन राष्ट्रिय गौरव पदकबाट सम्मान व्यक्त गर्ने बताएको थियो । यस्तो पदक कसले पाउला भन्ने आम चासो पनि एमालेले मेटाइदिएको  छ । पदक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिने घोषणा समेत एमालेले गरेको छ । 

पूर्वराष्ट्रपति भण्डारीले विशेष परिस्थितिमा अतुलनीय योगदान गरेको भन्दै सम्मान गर्ने बताएको छ । उनी राष्ट्रपति पद सम्हाल्नु अघि एमालेको उपाध्यक्ष थिइन् भने जननेता मदन भण्डारीकी पत्नी समेत हुन् । 

भण्डारीको कार्यकाल कस्तो थियो त ?

दुई कार्यकाल राष्ट्रपति बनेर मुलुकको नेतृत्व गरेकी विद्यादेवी भण्डारीमाथि प्रशंसासँगै अनेक आरोप पनि छन् । महिलाले राष्ट्रपतिको भूमिका निर्वाह गर्नु नेपाल जस्तो पितृसत्तात्मक सोच भएको मुलुकमा सराहनीय विषय हो । महिला नेतृको रुपमा उदाएकी भण्डारीले दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गर्दै समग्रतामा महिला प्रतिनिधित्व र सक्रियता बढाउने सन्देश दिएकी छन् । 

तर, भण्डारीले राष्ट्रपति बनेपछि प्रशंसा मात्रै भने बटुल्न सकिनन् । राष्ट्रपतिको जिम्मेवारीमा रहँदा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । भण्डारीले ओलीले गरेका निर्णय तत्काल सदर गर्ने काम मात्रै गरिन् । यसै कारण राष्ट्रपतिलाई ओलीले आफ्नो इशारामा समेत चलाउन भ्याए भन्ने आरोप लाग्यो । राष्ट्रपति स्वतन्त्र भूमिकामा हुनुपर्ने भनिएपनि उनले एमालेमै झुकाव राख्ने र निर्णय प्रक्रियामा समेत सामेल हुने आक्षेप लागिरह्यो । यतिमात्रै नभई तत्कालीन नेकपामा समेत उनले हस्तक्षेपकारी भूमिका खेल्ने गरेको आरोप बाक्लै लाग्यो । अर्को विषय संविधानले नै नदिएको अधिकार प्रयोगमा समेत अघि बढेको आरोप लागेपछि उनी विवादीत बनिरहिन् । 

पदकको राजनीतिक अर्थ

एमालेले विद्यादेवी भण्डारीलाई नै हीरक जयन्ती पदक दिने निर्णय किन गर्यो ? यो विषयमा समेत बहस शुरु भइसकेको छ । कतिपयले एमालेले रणनीतिक रुपमै भण्डारीलाई पदक दिने निर्णय गरिएको दाबी गरिरहेका छन् । भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्किने तयारी केहि समय पहिले गरेकी थिइन् । उनलाई कतिपय नेताहरुले पार्टी मिलाएर लैजान पनि अध्यक्ष बन्नु प¥यो भन्दै उक्साएपछि उनी सक्रिय राजनीतिमा फर्किने तयारीमा जुटेकी थिइन् । 

त्यो बेला एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रुपमै असन्तुष्टी पोखेका थिए । सम्मानित पदमा बसिसकेको मान्छेले अब मुलुकको हित सोचेर घरमै बस्नुपर्ने भन्दै ओलीले जवाफ फर्काएका थिए । यतिमात्रै नभई ओलीले भण्डारीलाई उक्साउने काम गर्नेहरु माथी अझैं २० वर्ष सक्रिय राजनीति गर्ने भन्दै मनोवैज्ञानिक त्रास समेत फैलाउन खोजेका थिए । 

भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा आउन रोक्न पदकले काम गर्ने एमाले नेतृत्वको बुझाई छ । हीरक जयन्तीमा गरिने सम्मान कम्युनिष्ट आन्दोलनमा योगदान पु¥यायवापत नै हुने र त्यो भनेको अब सक्रिय राजनीति होइन योगदान दिइसके भन्ने हो । यि सबै अवस्था नियाल्दै एमाले नेतृत्वको चाहनामा नै भण्डारीको नाममा निर्णय गरिएको बुझ्न कठिन छैन् । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update