News 24 Television
टुक्रियो जसपा, उपेन्द्र यादवभन्दा अशोक राई शक्तिशाली 

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल औपचारिक रुपमै फुटेको छ । लामो समयदेखि उपेन्द्र यादवले एकलौटी गर्न थालेको भन्दै विवाद चर्किरहेको थियो । यो विवादले उग्ररुप लिएपछि जसपाभित्र बहुमत सांसदले पार्टी विभाजनलाई अन्तिम रुप दिन कस्सिएका हुन् । बहुमत सांसद नै उपेन्द्रविरुद्ध खनिनुको भित्री कारण के  हो त ? किन फुट्यो त जसपा ? 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई समेत दबाबमा राख्दै माथिल्लो वरीयतामा रहन सफल भएका उपेन्द्र यादव १२ सांसदसहित संसदमा बार्गेनिङका लागि पर्याप्त शक्ति लिएर बसेका थिए । २०७९ को आमनिर्वाचनमा पराजय व्यहोरेपछि केही कमजोर बनेका उनी उपचुनावमार्फत निर्वाचित भएर आएपछि फेरि पार्टीमा हस्तक्षेपकारी भूमिका बढाउदै सरकारदेखि पार्टी सत्तामा आफूलाई नै केन्द्रमा राख्न थालेका थिए । 

उपेन्द्रको यही व्यवहारले जसपाभित्रको असन्तुष्टि चुलिएको थियो । त्यो असन्तुष्टी अशोक राईको नेतृत्वमा पोखिएको छ । सोही कारण जसपाभित्र उपेन्द्र विदेश गएकै बेला सप्राइज बनि पार्टी विभाजनको प्रक्रिया प्रारम्भ भएको छ । यद्दपी, वर्तमान सरकारलाई दिएको समर्थन भने राजनीतिक स्थिरताका लागि कायम राखिने प्रतिक्रिया राई पक्षका नेताहरुको छ ।

राईको नेतृत्वमा जनता समाजवादी पार्टी नाम राखेर निर्वाचन आयोगमा निवेदन दिन पुग्नेमा १२ मध्ये ७ सांसदहरु रहेका छन् । भने २९ केन्द्रीय कार्यकारिणी सदस्यहरु समेत सहभागी भएका छन् । सांसदहरु अशोक राई, सुशिला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, विरेन्द्र महतो र हसिना खान छन् । यस्तोमा अब उपेन्द्र यादवको पक्षमा ५ सांसदमात्रै बाँकी रहेका छन् ।

उपेन्द्रको शासनमाथि अशोकको धावा

उपेन्द्र यादव वामपन्थी झुकाव राख्ने समाजवादी पार्टीका नेता हुन् । मधेस आन्दोलनबाट चर्चामा आएपछि सधैं सत्तामा पुग्न सफल उपेन्द्र यादवले पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईसँग पार्टी मिसाएपछि उनलाई आफूभन्दा कनिष्ठ नेता बनाइदिए । 

मुलुकको प्रधानमन्त्री भइसकेको व्यक्ति कनिष्ठ बनेपछि उपेन्द्रले राजनीतिक रुपमा आफूलाई स्थापित गर्ने विषयमा मात्रै नभई कस्तो प्रभाव राख्ने रहेछन् भन्ने सन्देश दिन समेत सफल बने । तर, पार्टीमा आफ्नो मतलाई निर्णयमा बदल्न सिपालु उपेन्द्रमाथि बहुमत सांसदले धावा बोलेपछि उनको पार्टी मात्रै विभाजन भएको छैन्, उनी थप कमजोर बनेका छन् । 

अशोकको राजनीतिक यात्रा

अशोक राई, तत्कालीन एमालेका उपाध्यक्ष । एमालेभित्र जनजाति मत र समुदायमाथि आधिपत्य जमाइरहेका उनी ठूलो शक्ति लिएर एमालेबाट बाहिरिए । त्यसपछि उनले २०७९ मा संघीय समाजवादी पार्टी गठन गरे । एमालेमा सर्वाधिक मतसहित उपाध्यक्ष बनेका राईले पार्टी विभाजन गरेपछि उनले पहिचानको मुद्दालाई जोडबलले उठाए । तर, उनको पार्टीले शक्ति विस्तार गर्न नसकेपछि उनले पार्टी एकतादेखि अनेक काम गरे । 

एमालेका शक्तिशाली र भावी अध्यक्षको रुपमा हेरिएका राई अन्ततः उपेन्द्रको कार्यकर्ता बनेपछि उनीमाथि अनेक प्रश्न गरिए । तर, उनी अविचलित रुपमा लागि रहे । प्रचण्ड सरकारमा शिक्षा मन्त्रीको जिम्मेवारी नै सम्हालेका उनी २०५१ सालमै मनमोहन अधिकारी नेतृत्वको सरकारमा समेत मन्त्री बनिसकेका थिए । तर, राईलाई उपेन्द्रले सधैं छायाँमा पारिरहे । यसै  कारण राईले ठूलो शक्तिसहित फेरि जसपा नेपाल फुटाएका छन् । 

उपेन्द्र-अशोक विवाद

गएको निर्वाचनमा उपेन्द्र यादव जनमत पार्टीका अध्यक्ष सीके राउतरसँग पराजित भए । सीकेसँग पराजित बनेपछि रन्थनिएका उनले संसदमा आफ्नो प्रभाव कसरी जमाउन सकिन्छ भन्नेबाहेक अन्त ध्यान दिनै सकेनन् । 

उपेन्द्रले पराजय भोगेपछि संसदीय दलको नेताका स्वभाविक दाबेदार र वरिष्ठ नेता थिए, अशोक राई । अशोक राईलाई दलको नेता बनाउँदा आफू छाँयामा पर्ने डरले उपेन्द्रले जुक्ति लगाएरै उपराष्ट्रपति बनेका रामसहाय प्रसाद यादवलाई संसदीय दलको नेता बनाइदिए । यादव नेता बने पनि राईको नेतृत्वमा जसपा सरकारमा त गयो, तर उपेन्द्रको हेपाह प्रवृत्ति भने रोकिएन् । 

यस्तोमा अशोक राईले उपर्युक्त स्थितिको खोजी थालिसकेका थिए ।  तर, रामसहाय उपराष्ट्रपति बनेपछि गठबन्धनको जोडबलमा उपेन्द्र सांसद निर्वाचित बनेर आएपछि आफै दलको नेतादेखि सरकारमा जानेमा अग्रभागमा देखिए ।

जसपाको अर्को फ्याक्टर

जनता समाजवादी पार्टीभित्र उपेन्द्रले मधेसी मुलका नेताहरुमाथि समेत अत्याचार गरिरहेका थिए । समान अवसर वितरणमा पछि हट्ने उपेन्द्रले सांसद प्रदीप यादव लगायतमाथि अन्यायको शृङ्खला थोपरेको आरोप लाग्ने गरेको थियो । 

उसो त प्रदीय यादव लगायतका नेताहरुले पहिले नै जसपा–लोसपा विभाजन पहिले पनि पार्टी फुटाउने असफल प्रयास गरिसकेका थिए । यस्तोमा अहिले उपेन्द्रले गरिरहेको होचोहेलामा अशोक राईमाथि यस्तै असन्तुष्टहरुले समर्थन दिदा उनी बलिया बन्न पुगेका छन् । 

शक्ति लिएर गए पनि कमजोर बन्ने 

अशोक राई शक्ति र दलबलसहित पार्टी विभाजनमा उत्रिए पनि व्यवस्थापकीय दृष्टिले कमजोर बन्ने गरेका छन् । एमालेसँगको विभाजन होस वा आफ्नै पार्टी खोल्दाको विषय होस् । उनी सफलतातर्फ लम्किएको ज्वलन्त उदाहरण भने छैन । तर, अहिले असन्तुष्टहरुको दलबलसहित छुट्टिएका अशोकमाथि ठूलो अवसर आएको बेला के उनले यसलाई पुँजीको रुपमा विकास गर्न सक्लान् ? यो चासोको विषय बनेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update