News 24 Television
जान्नेलाई छान्न नजानेको रास्वपा, जमानत जफत भएपछि निर्मम समीक्षा

काठमाडौँ । भर्खरै सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा इलाम– २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जमानत नै जफत भयो । पत्रकारिता तथा माओवादी केन्द्र त्यागेर आएका मिलन लिम्बूलाई उक्त निर्वाचनमा रास्वपाले आफ्नो उम्मेदवार बनाएको थियो । तर लिम्बूले अपेक्षाकृत कम भोट मात्रै पाएनन्, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमसँग समेत प्रतिस्पर्धा गर्न सकेनन् । इलाम– २ मा रास्वपाको जमानत नै जफत भएपछि उक्त पार्टीले यस निर्वाचन परिणामको गम्भीर समीक्षा गर्ने भएको छ । 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा भएको व्यवस्थाअनुसार कुल सदर मतको १० प्रतिशत मत पाउन नसक्ने उम्मेदवारको जमानत जफत हुन्छ । रास्वपाका लिम्बूले १० प्रतिशत मत पनि नपाएपछि उनले राखेको जमानत अर्थात् धरौटी रकम जफत भएको हो । इलाम– २ मा खसेको कुल सदर मत ६८ हजार ४७२ रहेको थियो, जसको १० प्रतिशत भनेको करिब ६ हजार ८४७ मत हुन आउँछ । तर रास्वपाका लिम्बूले जम्मा ५ हजार ५० मत मात्रै पाएका छन् । स्वतन्त्र उम्मेदवार थेगिमले भने ११ हजार ४५७ मत पाए । उक्त निर्वाचनमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ २७ हजार ७७२ मतसहित विजयी भएका छन् भने काँग्रेस उम्मेदवार डम्बर खड्काले २१ हजार ९४२ मत पाए । 


 
अघिल्लो आम निर्वाचनबाट अविश्वसनीय ढंगले उदाएको रास्वपाको नारा थियो– जान्नेलाई छान्ने । तर यसपटक ठूलो तामझाम र प्रचारसहित मिलन लिम्बूलाई चुनावी मैदानमा पठाएको रास्वपाले जान्नेलाई छान्न नजानेको देखियो । गतिलो पृष्ठभूमि समेत नभएका र अवसर छोप्दै आएका लिम्बूलाई स्थानीय मतदाताले पत्याएनन् । यसमा पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेसहित केही नेताहरुविरुद्ध लागेको ‘सहकारी ठग’को ट्यागले समेत रास्वपाविरुद्ध नकारात्मक जनमत बनेको देखिन्छ । 

निकै चासोका साथ हेरिएको यस उपनिर्वाचनमा रास्वपाले जमानत समेत जोगाउन नसकेपछि उक्त पार्टीका सभापति लामिछानेले पराजयलाई सहर्ष स्वीकार गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै लामिछानेले ‘चुनाव जित्न नसकिए पनि सिक्न सकिएको’ बताएका छन् । उम्मेदवार लिम्बु र निर्वाचनका क्रममा खट्ने सबैलाई धन्यवाद दिँदै उनले सहर्ष पराजय स्वीकारेर थप जिम्मेवार बन्न कार्यकर्ताहरुलाई अनुरोध गरेका हुन् । 

पार्टीले यस पराजयबारे आगामी केन्द्रीय समिति बैठकमा गम्भीर समीक्षा गर्ने समेत जनाएको छ । एक विज्ञप्ति जारी गर्दै रास्वाले पार्टीका केही कमजोरी रहेको स्वीकार गर्दै समीक्षा गरेर अघि बढ्ने जनाएको हो । ‘सही समयमा घण्टी नबजाएरै बजाइदिनुभएको सांकेतिक घण्टीले हामीलाई सचेत गराएको छ’ भनी विज्ञप्तीमा भनिएको छ ।

यसपटकको उपनिर्वाचनले केही राजनीतिक सन्देश समेत दिएको छ । रास्वपा उम्मेदवार लिम्बूले इलामका जनताले परम्परागत राजनीतिक शक्ति काँग्रेस–एमालेको विकल्प खोजेको बताउँदै आफूले जित्ने दाबी गर्दै आएका थिए । तर त्यहाँका मतदाताले विकल्प खोजेनन्, सुवास नेम्वाङको विरासत उनैका छोराको पोल्टोमा थमाइदिए । उता काँग्रेस नेताहरुले रास्वपाविरुद्ध अभिव्यक्ति दिँदै सहकारी ठगीको आरोप लाएर मतदातामा वितृष्णा छर्ने काम गरेका थिए । तर काँग्रेसलाई पनि मतदाताले पत्याएनन् । अन्ततः एमालेको पहिचानविरोधी परम्परागत शैली नै मतदातले अनुमोदित गरे । पहिचान पक्षधर मानिएका लिम्बू र थेगिम एमाले–काँग्रेसको पुछारतिरै रोकिए । 

रास्वपाप्रति जनताको आशा अपेक्षा धेरै देखिए पनि रास्वपाका नेता–कार्यकर्ताको पछिल्लो कार्यशैली र विभिन्न विवादमा मुछिँदै आएका कारण केही निराशा छाएको यस निर्वाचनका क्रममा देखिएको छ । नयाँ अनुहार भए पनि चरित्र र शैली पुरानै देखियो भन्दै जनताले रास्वपाप्रति पनि वितृष्णा ओकल्न थालिसकेका छन् । 

भाषणबाजी ज्यादा तर काम कम, सत्तामा जान मरिहत्ते गर्ने, अवसरवादी चरित्र, विभिन्न आर्थिक विवादमा मुछिने र नियम–कानुनप्रति संवेदनशील नदेखिनेजस्ता प्रवृत्तिका कारण रास्वपा नेताहरुप्रतिको जनअपेक्षा घट्दै गएको छ । अर्कोतिर पुराना दलहरुको गठबन्धन संस्कार र मतदातामा पनि विकल्प खोज्ने हुटहुटी नदेखिनुले रास्वपाका लागि उप–निर्वाचन एउटा पाठ मात्र बनेको छ । आगामी निर्वाचनमा पनि रास्वपाले अझै अप्ठेरो स्थिति बेहोनुपर्ने अवस्था आउन सक्छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख १९, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update