News 24 Television
विद्यालयमा बुक कर्नर, पूस्तकको ठाउँमा धुलै–धुलो

काठमाडौं । नेपालमा विद्यार्थीहरुमा पठन संस्कृति निकै कम छ । त्यसमा पनि पछिल्लो समय इन्टरनेटको लतका कारण पूस्तक पढ्ने प्रचलन हराउँदै गएको छ । 

यस्तोमा सामुदायिक विद्यालयका विद्यार्थीमा पठन संस्कृतिको विकासका लागि हरेक कक्षामा विषयगत शैक्षिक सामग्री सहित बुक कर्नर राख्नुपर्ने व्यवस्था छ । 

त्यसका लागि सरकारले वर्षेनि एक अर्ब भन्दा बढी रकम खर्च गर्दै आएको छ । तर अधिकांश विद्यालयका कक्षा कोठामा बुक कर्नर छैनन्, भएकाहरुमा पनि पर्याप्त पूस्तकहरु पाइदैनन् ।  

सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सन्दर्भ पुस्तक खरिद गर्न प्रत्येक बर्ष एक अर्व ६३ करोड रकम विनियोजन गर्छ । प्राथमिक तहमा सन्र्दभ पुस्तक अनिवार्य रुपमा खरिद गर्नुपर्ने प्रावधान रहेको छ । प्रत्येक विद्यालयले अनिवार्य रुपमा कक्षा कोठामा बुर्क कर्नर बनाउनुपर्छ । 

जसमा विद्यालयले पाठ्यपुस्तक बाहिरका सन्र्दभ पुस्तक प्रत्येक बर्ष खरिद गर्नुपर्छ । सरकारले चालु आर्थिक बर्षमा प्राथमिक तहका २३ लाख वालवालिकाका लागि पुस्तक खरिद गर्न मात्र ३४ करोड ५० लाख रकम खर्च गरेको छ । तर अधिकांश विद्यालयका कक्षा कोठामा त्यस्ता बुक कर्नर नै छैनन् । 

राजधानी काठमाडौ कै विद्यालयका  बुर्क कर्नर पुस्तकविहिन छन् । क्षेत्रपाटीको शान्ति शिक्षा मन्दिर माविको बुक कर्नर पनि खाली नै छ । यो विद्यालयमा कक्षा ५ सम्म बुक बर्नर बनाइएको छ तर पूस्तक नहुँदा बुक कर्नर नाम मात्रैको छ । विद्यालयलाई बागमती प्रदेश सरकारले विद्यार्थी केन्द्रित पुस्तक खरिद गर्न ८ लाख रकम उपलब्ध गराएको थियो । तर ५० हजार रकम मात्रै विद्यालयले बुक कर्नरका लागि खर्च गरेको छ । 

कक्षा १२ सम्म ६ सय ५० विद्यार्थी अध्ययन गर्ने वालुवाटारस्थित महेन्द्र राष्ट्रिय माध्यामिक विद्यालयमा कक्षा ४ सम्म मात्र बुक कर्नर बनाईएको छ । तर ती बुक कर्नरहरुमा पनि पुस्तक छैनन् । विद्यालयले अन्य कागजजात राखेर बुक कर्नर भरेको छ । 

शिक्षा मन्त्रालयले २०६२ सालदेखि देशभरका २६ हजारभन्दा बढि सामुदायिक विद्यालयका लागि बुक कर्नर बनाउन बजेट बिनियोजन गदै आएको छ । जसमा कक्षा ५ सम्मका १ विद्यार्थी बराबर १ सय ५० रुपैयाँ, ६ देखि  कक्षा १० सम्मका विद्यार्थीलाई २ सय रुपैया र ११ र १२ का विद्यार्थीलाई २ सय ५० रुपैयाको दरका रकम बिनियोजन हुने गरेको छ । 

पछिल्लो १० वर्षको आँकडा मात्रै हेर्ने हो भने पनि बुक कर्नरका लागि राज्यको १० अर्ब रुपैया खर्च भइसकेको छ । तर यो कार्यक्रम प्रभावकारीरुपमा भने कार्यान्वयनमा आउनै सकेको छैन । २० बर्षदेखि रकम विनियोजन हुँदा पनि बुक कर्नरलाई विद्यालयहरुले स्थापित गर्न सकिरहेका छैनन् ।  

सरकारले कक्षा ८ माथिका १ हजार ६ विद्यालयमा पुस्तककालय बनाउन ६ बर्षदेखि ६ लाख ५० हजारका दरका रकम पठाइरहेको छ । तर पुस्तकालय निर्माणको रकम पनि सदुपयोग भएको छैन । 

विद्यार्थीको पठन संस्कृत वढाउनुका साथै पाठ्यक्रम बाहिरका बिषयमा ज्ञान दिन ल्याईएको बुर्क कर्नरको अवधारणा अनुसारको रकम खर्च सम्बन्धित क्षेत्रमा खर्च नहुनुले रकम दुरुपयोग भएको आशंका गर्न सकिन्छ । 

कतिपय विद्यालयहरुले बुक कर्नरका लागि आएको रकम अन्य शीर्षकमा समेत खर्च गरेका छन् भने कतिपय विद्यालयहरुले बुक कर्नरको महत्व र आवश्यकता बुझ्न पनि सकेका छैनन् । त्यसैले वर्षेनी १ अर्बका दरमा जाने बजेट राज्यका लागि बालुवामा पानी खन्याएजस्तो भइरहेको छ । 

प्रकाशित मिति: शनिबार, जेठ १९, २०८१  ०७:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update