काठमाडौं । युरोपियन युनियनले १९ पुरुष र १४ महिलासहित ३३ नेपाली विद्यार्थीहरुलाई २०२४/२५ शैक्षिक वर्षमा शुरु हुने दुईबर्षे इरासमस+ स्नातकोत्तर कार्यक्रमको लागि पुर्ण छात्रबृत्ति प्रदान गरेको छ । यो पछिल्लो घोषणासहित स्नात्तकोत्तरको लागि दिईने छात्रबृत्तिबाट लाभान्वित हुने विद्यार्थीहरुको संख्या ५०० नाघेको छ भने अन्य ३०० विद्यार्थी र कर्मचारीहरु इरासमस कार्यक्रमकै इन्टरनेशनल क्रेडिट मोविलिटीबाट लाभान्वित हुनुभएको छ ।
विश्वव्यापी रुपमा, इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स डिग्री छात्रबृत्ति यो बर्ष १३७ वटा देशका २६०३ विद्यार्थीहरुलाई प्रदान गरिएको छ । यी मास्टर्स डिग्रीहरु अर्थात स्नातकोत्तर डिग्री केही युरोपियन विश्वविद्यालयहरुले संयुक्तरुपमा प्रवाह गर्ने अध्ययन कार्यक्रम हुन् । यसले विद्यार्थीहरुलाई ख्यातीप्राप्त डिग्री हासिल गर्ने चाहना पुरा गर्ने क्रममा केही युरोपियन देशहरुमा बस्ने र सिक्ने मौका प्रदान गर्दछ । यस अतिरिक्त, छात्रबृत्ति प्राप्त गर्ने विद्यार्थीहरुको सम्पुर्ण शुल्क, यातायात खर्च तिरिएको हुन्छ र मासिक भत्ता समेत उपलब्ध हुन्छ ।
२०२४ इरासमस मुन्डस ज्वाइन्ट मास्टर्स कार्यक्रमको २० औं बार्षिकोत्सव समेत हो । यो युरोपियन युनियन बाहिर रहेका देशहरु, उच्च शिक्षाका संस्थाहरु र विद्यार्थीहरुमा यस कार्यक्रमले पारेको सकारात्मक प्रभावको महत्व दर्शाउने एउटा महत्वपुर्ण अवसर हो । युरोपियन युनियनले प्रदान गर्ने यी छात्रबृत्तिहरुले शैक्षिक अवसरहरु र अन्तराष्ट्रिय साझेदारी सृजना गर्ने युरोपियन युनियनको जारी प्रतिवद्धताको उदाहरण प्रस्तुत गर्दछ ।
इरासमस+ युरोपियन युनियनको प्रमुख कार्यक्रम हो । यो युरोप र बाहिर पनि शिक्षा, तालिम, युवा, खेलकुद लगायतमा सहयोग गर्न तय गरिएको कार्यक्रम हो । विविध पृष्ठभुमीका विद्यार्थीहरुलाई विविधतापुर्ण सांस्कृतिक वातावरणमा उच्च गुणस्तरीय शिक्षाको अनुभवको मौका प्रदान गर्दै यो कार्यक्रमले व्यक्तिगत विकास, प्राज्ञिक उन्नयन र आजिवन कायम रहने अन्तराष्ट्रिय सम्बन्धमा महत्वपुर्ण योगदान दिन्छ ।
युरोपियन युनियन इरासमस+ कार्यक्रमसहित शिक्षा क्षेत्रको विश्वकै ठुलो दाता हो । सन् २०२१ देखि २०२७ सम्मको लागि इरासमस कार्यक्रमहरुको बजेट २६.२ अर्ब युरो रहेको छ । अघिल्लो चक्र अर्थात सन् २०१४ देखि २०२० सम्म यस कार्यक्रमको बजेट १४.७ बिलियन युरो रहेको थियो । उल्लेख्य रुपमा बृद्धि भएको बजेटमार्फत इरासमस+ थप समावेशी, डिजिटल र हरित हुने छ ।
द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल र इरासमस मुन्डस एशोसियन नेपालले ७ अगस्ट (२३ साउन) मा नयाँ छात्रबृत्ति प्राप्त गर्नेहरुको लागि प्रस्थान अघिको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा विद्यार्थीहरुले युरोपको बसाई र अध्ययन, सांस्कृतिक समायोजन र उहाँहरु चयन हुनु भएका सम्बन्धित संस्थाहरुको अपेक्षाको विषयमा उपयोगी तथा अत्यावश्यक सुचना प्राप्त गर्नुभएको थियो ।
इरासमस+ का पूर्व विद्यार्थीहरुले नयाँ अध्येताहरुलाई मार्गनिर्देश गर्दै उहाँहरुको अनुभव र दृष्टिकोणहरु राखेका थिए । साथीसंगतिमा हुने अन्तरक्रियाले नयाँ शैक्षिक यात्रा शुरु गर्न लागेका अध्येताहरुलाई प्रेरणा र प्रोत्साहन गर्ने आशा राखिन्छ ।
यस बर्ष इरासमस छात्रबृत्तिमा छानिएकाहरुको छनौटका क्षेत्रहरुमा बनस्पति प्रजनन्, विकेन्द्रित स्मार्ट उर्जा प्रणाली, स्मार्ट शहर र समुदाय, अग्नि रक्षा इन्जिनियरिङ्ग, कृषि, वातावरण र समाजमा इन्टरनेशनल मास्टर्स अफ साईन्स, भु–जानकारी, ध्वनी तथा कम्पन इन्जिनियरिङ्ग, वातावरणीय संक्रमण, नवप्रवर्तन र दीगोपन आदीमा संयुक्त स्नातकोत्तर आदी छन् ।
छात्रबृत्ति प्राप्त गर्नेहरुलाई स्वागत गर्दै नेपालका लागि युरोपियन युनियनका राजदूत महामहिम भेरेनिक लरेन्जोले भन्नुभयो, “इरासमस+ छात्रबृत्तिले नेपाली विद्यार्थीहरुलाई विश्वस्तरीय शिक्षा प्राप्ति मात्र नभई युरोपियन युनियन र नेपालबीच शैक्षिक सम्बन्ध बलियो बनाउने मौका पनि दिन्छ ।”
“इरासमस+ छात्रबृत्तिको पहलले नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने युरोपियन युनियनको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ । यसले ज्ञानको आदानप्रदान र क्षमता विकासको माध्यमबाट देशको विकासका साथै नागरिकस्तरमा जीवनभर रहने मित्रतामा पनि योगदान दिन्छ,” उहाँले थप्नुभयो ।
डिग्री प्राप्तिको क्रममा शैक्षिक संस्था हेरफेर गर्न र युरोपियन युनियन र बाहिर समेतको संयुक्त वा बहुमुखी डिप्लोमालाई पहिचान दिने भएकोले इरासमस छात्रबृत्ति विशिष्ठ रहेको उहाँले बताउनुभयो । उहाँले छात्रबृत्ति पाएका सबैलाई उनीहरुको प्राज्ञिक यात्राको क्रममा व्यक्तिगत र पेशागत उन्नयनको शुभेच्छा सहित छात्रबृत्ति पाएकाहरुले नेपालमा फर्किएर यहाँको जनशक्ति अभावमा पुलको काम गर्दै योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।
इरासमस+ छात्रबृत्तिले युरोपियनहरुलाई पनि नेपालका विभिन्न विश्वविद्यालयहरुमा संक्षिप्त अध्ययन गर्ने र अध्यापन गर्ने अवसर प्रदान गर्दछ ।
सृष्टी केसीले सन् २०१५ देखि सन् २०१७ सम्म नृत्य ज्ञान, अभ्यास र सम्पदा बिषयमा इरासमस मास्टर्स गर्नुभयो । विदेशको पढाई सकेर घर फर्किएपछी उहाँले “ब्लाइन्ड रक्स्” नामक संस्था खोल्नुभयो । उहाँको अनुसार युरोपको अनुभव र अध्ययनले उहाँलाई संस्थालाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न मद्धत पुगेको छ ।
“म इरासमस छात्रबृत्ति पाएकोमा आभारी छु । यसले मलाई दैनिकी रुपान्तरण गर्न र कामलाई निरन्तरता दिन सहयोग गरेको छ । आज म इरासमस नेपाल च्याप्टरको उपशभापतिको रुपमा काम गर्न पाउँदा सम्मानीत र गौरभान्वित महसुस गरेको छु । यो भूमिकाले मलाई उन्नति गर्न, सिक्न र आफ्ना अनुभवहरु अरुसँग बाँड्न अवसर दिएको छ,“ सृष्टी भन्नुहुन्छ ।
कार्यक्रममा काठमाडौं र नयाँ दिल्लीस्थित युरोपियन युनियनका सदस्य राष्ट्रका प्रतिनिधीहरु सहभागी भएर विद्यार्थीको जिज्ञासाको जवाफ दिनुभएको थियो । यसरी सहभागी हुनेहरुमा नयाँ दिल्लीमा रहेको चेज रिपब्लिकको दुतावासकी प्रतिनिधी श्वेता कपुर, पोर्चुगल दुतावासका प्रतिनिधी जोअओ मा¥क्युज मेन्डेस, नेपालका लागि फिनल्याण्डकी राजदुत रिना रिक्का हेक्का, काठमाडौंस्थित फ्रान्सेली दुतावासका शार्से दफेयर जोँ ब्याटीस्ता लिजेक, भारतका लागि ग्रिकका राजदुत अलोकी कत्सोमीटपोलु, नयाँ दिल्लीस्थित अस्ट्रियन दुतावासका प्रथम सचिव मरी ब्रकमायर र क्याम्पस फ्रान्सका प्रविण राणा लगायत हुनुहुन्थ्यो ।
यस अतिरिक्त, इरासमस राष्ट्रिय सम्पर्क केन्द्र, त्रिभुवन विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी विश्वविद्यालय, र पोखरा विश्वविद्यालयका प्रतिनिधीहरु पनि यस बर्षको प्रस्थान पूर्वको अभिमुखीकरण कार्यक्रममा सहभागी हुनुभएको थियो ।
युरोपियन युनियनले नेपालको शैक्षिक क्षेत्र सुधारको लागि २० बर्षभन्दा लामो समयदेखि सहयोग गर्दै आईरहेको छ र गुणस्तरीय शिक्षामा पहुँचको लागि सहयोग गर्ने युरोपियन युनियनको मुल प्रतिबद्धता हो ।
युरोपियन युनियनले ‘सवैका लागि गुणस्तरीय शिक्षा’को लागि गरेको ५३ मिलियन युरोभन्दा बढीको सहायताले नेपाल सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनमा सहयोग गर्नेछ । यस योजनाले देशको सामाजिक र आर्थिक विकासमा सक्रिय भुमिका खेल्नसक्ने सुशिक्षित र सीपमुलक समाज निर्माणमा योगदान गर्ने उदेश्य राखेको छ। छात्राहरुको शिक्षा सुधार युरोपियन युनियनको अर्को प्राथमिकता क्षेत्र हो किनभने किशोरी तथा महिलाहरु शिक्षित हुँदा त्यसको प्रभाव केवल साक्षरतामा मात्र सिमित हुँदैन । शिक्षित महिलाहरु गरिबीको चक्र भत्काउन, उन्नत स्वास्थ्यमा, र समग्र सामुदायिक विकासमा योगदान गर्न महत्वपुर्ण हुन्छन् ।