काठमाडौं । तपाईले कहिले ‘एआई पेट’ को कल्पना गर्नुभएको छ ? तपाईले ‘हेल्लो’ भन्दा हात हल्लाईदिने, ‘डान्स’ भन्दा नाचिदिने अनि ‘जम्प’ भन्दा उर्फिदिने । सुन्दा अवास्तविक लागे पनि हाम्रो भविश्यको वास्तविक यहि हो ।
प्रविधिले यति फड्को मारेको छ कि तपाई मनोरञ्जनका लागि एआई साथी राख्न सक्नुहुन्छ । किनकी विश्व प्रविधिको बन्दै गएको छ ।
आईएनजी स्किल एकेडेमीले इस्लिङ्टन कलेजसँगको साझेदारीमा प्रविधि महोत्सव ‘फ्युचरामा’ आयोजना गरेको छ । जसमा भविष्यका सम्भावनाहरूलाई विद्यार्थीहरू आफैले आकार दिएका छन् ।
महोत्सवमा गुगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिले अत्याधुनिक भविष्यको चित्रण गरेको छ । प्रदर्शनीमा समावेश गरिएको डिजिटल दुनियाँलाई जीवन्त बनाउन वृत्तचित्र, साइबर सुरक्षा, र एनिमेशनका अनुभवहरूले युवाहरूलाई प्रविधिको संसारमा अझ गहिरो बुझाइ प्रदान गरेको छ ।
प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक, र मनोरञ्जनपूर्ण भएको सहभागी विद्यार्थीले महशुस गरेका छन् ।
विश्वमा प्रविधिले जसरी फड्को मारेको छ, त्यसरी नै नेपालमा वेब डेभलपमेन्ट, मोबाइल एप्लिकेसन, रोबोटिक्सलगायतका अन्य एआईलाई वेवास्ता गरिएको छ । एआईको बढ्दो प्रयोगसँगै ठूलो मात्रामा रोजगारी गुम्छ कि भन्ने डरका कारण पनि प्रविधिमा त्यति अभ्यस्त भएको पाइदैन । तर, मानव मस्तिष्कले नै एआईको परिकल्पना गरेकाले त्यसले दैनिकी सहज मात्रै बनाउने आईटी क्षेत्रमा भएकाहरूको अनुभव छ ।
अबको दिनमा प्रविधिलाई दैनिकीबाट अलग राखेर कल्पना गर्न सकिदैन । ‘फ्युचरामा’ ले प्रविधिको अतिरिक्त दिगोपन र उद्यमशीलतालाई पनि जोड दिने प्रयास गरेको छ । आईएनजी स्किल एकेडेमीले प्रविधि महोत्सव ‘फ्युचरामा’ नेपालका विभिन्न स्थानहरूमा आयोजना गर्न लागेको छ ।
जसले रचनात्मकता, सहयोग, र जानकारी साझेदारीलाई प्रोत्साहित गर्ने आयोजकको भनाई छ । च्याटजीपीटी सार्वजनिक भएपछि विश्वभर आर्टिफिसयल इन्टेलिजेन्स (एआई) अर्थात कृतिम बौद्धिकताको चर्चा व्यापक भइरहेको छ । विश्वको बेञ्चमार्क हेर्दा नेपालमा एआई बामे मात्रै सर्दैछ ।
आर्टिफिसयल इन्टेलिजेन्सबाट विश्वमा आर्टिफिशल सुपर इन्टेलिजन्स (एएसआई) को चर्चा सुरु भएको छ । एआईको दुरुपयोगको मात्र कुरा गर्नु भन्दा पनि सदुपयोग कसरी गर्न सकिन्छ भन्ने कुरामा नेपालले जोड दिन आवश्यक छ ।