News 24 Television
हिमालयल श्रृंखलामा नदीहरू जोखिममा, इकोसिस्टम नै खतरामा 

काठमाडौँ । हिमाली क्षेत्रमा तत्काल जलवायु अनुकुलनका कार्य नगर्ने हो भने पानीको स्रोतमा गम्भीर असर पुग्ने चेतावनी विज्ञहरूको छ । विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण वर्तमान जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औँल्याइरहेका छन् । त्यसमा पनि जलवायु परिवर्तनका कारण भविष्यमा नेपालका खोलानाला सुक्ने सम्भावना गम्भीर चिन्ताको विषय बनेको छ ।

हाम्रा हिमालहरू जो सधैं चिसो र सुन्दर देखिन्थे, ती विस्तारै पग्लिंदैछन् । सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । खोलानालाहरू, जो कहिल्यै सुक्दैनथे, सुक्खा हुँदैछन् । गर्मीमा चिसो हावा दिने हाम्रो जंगल, तातो हावामा परिणत भइरहेको छ । यसबेला, जलवायु परिवर्तनको प्रभावले हाम्रो जीवनलाई गहिरो रूपमा परिवर्तन गर्दैछ । तर, के हामी यसलाई रोक्न सक्छौं ? सर्वत्र चर्चा छ । इन्धनमाथिको चरम निर्भरताले विश्वतापक्रमको बृद्धिले असर पारिरहेको छ । तापक्रकम वृद्धिले हिउँ पग्लने क्रम पनि तिब्र गतिमा बढाउने भएकाले अन्ततः पानीको स्रोतमा नै बढी असर पर्ने विज्ञहरूले औल्याएका छन् । 

हिमालय क्षेत्रका हिमनदीहरु वार्षिक रूपमा लगभग ०.३ मिटर पग्लिरहेको तथ्यले खोलाहरूको प्रवाह घट्ने संकेत गरेको विज्ञहरूको तर्क छ । मुख्यतः गंगा, कोशी, गण्डकी, ब्रह्मपुत्र, र कर्णालीजस्ता नदीहरु करिब ८ सय किलोमीटर लामो हिमालयन श्रृंखला आसपासका भूमिका लागि नदी प्रणालीका मूल्य स्रोत हुन् । हिउँ पग्लने कारण नदीहरूमा जलप्रवाह बढ्े पनि लामो अवधिमा हिमनदीको ह्रासले खोलानालामा पानीको मात्रा कम हुँदै जानेछ । यसले नेपालमा कुल जलवायु–निर्भर कृषिमा आधारित अर्थतन्त्रका लागि खोलानालाको सुक्खापनले ठूलो असर गर्छ । 

हिमालय श्रृंखलाका नदीहरु जलवायु परिवर्तनको प्रत्यक्ष असरमा परिरहेका छन् । तापक्रम वृद्धि, हिमनदीहरूको पग्लिने दर बढ्नु, वर्षाको ढाँचामा परिवर्तन जस्ता कारणले पछिल्ला केही दशकयता हिमाली नदीहरूको प्रवाह, पानीको गुणस्तर र बहावमा उल्लेखनीय परिवर्तन आएको छ । यो बाहेक क्षेत्रमा बढेका विकास निर्माणका गतिविधि जस्तै जलविद्युत परियोजना र सडक निर्माणले नदीको प्राकृतिक प्रवाह अवरुद्ध बनाइरहेको छ भने वन कटानी र जमिनको अतिक्रमणले पानीको गुणस्तर र जैविक विविधतामा पनि व्यापक असर परिरहेको छ । यस्तो हुँदा यो क्षेत्रको पारिस्थितिक प्रणालीमै चुनौति देखा पर्न थालेपछि यी सबैको विकल्प क्लिन इनर्जी अर्थात स्वच्छ ऊर्जाको बारेमा बहस शुरु भएको छ । 

क्लीन इनर्जीको बहस किन ? 
क्लिन इनर्जीको बहस जलवायु परिवर्तन, पर्यावरणीय क्षति र ऊर्जा स्रोतहरूको सीमितताका कारण सुरु भएको हो । औद्योगिक क्रान्तिपछि जीवाश्म इन्धनको अत्याधिक प्रयोगले वायु प्रदूषण, हरितगृह ग्यास उत्सर्जन र ओजोन तहको ह्रास जस्ता समस्याहरु निम्तिदा सम्पुर्ण विश्व नै खतरामा पुगेको छ । २०औँ शताब्दीमा वैज्ञानिकहरूले मानव गतिविधिका कारण ग्लोबल वार्मिङ बढिरहेको र यसको प्रभाव खतरनाक हुने चेतावनी दिएका थिए । गैर–नवीकरणीय स्रोतहरू तेल, कोइला र ग्यास सीमित भएकाले स्वर्च ऊर्जा स्रोतको खोजीको आवश्यकता बढ्दै गएको हो । १९९२ को रियो अर्थ समिट र २०१५ को पेरिस सम्झौता जस्ता विश्वस्तरीय फोरमहरूले दिगो ऊर्जा समाधानमा जोड दिएपछि वातावरणीय संरक्षण, ऊर्जा सुरक्षाको आवश्यकतालाई ध्यानमा राख्दै क्लिन इनर्जीको महत्वलाई विश्वप्यापी बहसको केन्द्र बनाएको हो । 

क्लीन इनर्जीको सम्भावना ? 

जलविद्युत क्लीन इनर्जीको प्रमुख माध्यम हो जसको नेपालमा अधिक सम्भावना छ । नेपालमा करिब ६० हजार मेगावाटभन्दा बढी ऊर्जा उत्पादन गर्न सकिने अनुमान छ । तर हालसम्म यसको ५% मात्र उपयोग भएको छ । सौर्य ऊर्जाका लागि पनि नेपालमा वार्षिक ३ सय दिनभन्दा बढी घाम लाग्ने भएकाले ग्रामीण विद्युतीकरणदेखि ठूला परियोजनासम्म उपयोग गर्न सकिने विज्ञहरूको तर्क छ । वायू ऊर्जा उत्पादनका लागि नेपालका पहाडी र हिमाली क्षेत्रहरू उपयुक्त छन्, जहाँ साना टर्बाइनको प्रयोग गरेर बिजुली उत्पादन गर्न सकिन्छ । 

त्यस्तै, बायोमास ऊर्जा, विशेष गरी कृषि अवशेष र जनावरको गोबरबाट, ग्रामीण क्षेत्रमा बायोग्यास उत्पादन गर्न सकिन्छ । भू–तापीय ऊर्जाका लागि पनि नेपालका केही हिमाली क्षेत्रहरूमा सम्भावना छ । विश्व मौसम विज्ञान संगठनको एक रिपोर्टअनुसार सन् २०२४  रेकर्डमा सबैभन्दा तातो वर्ष भएको छ । हरितगृह ग्यासको स्तर रेकर्ड उच्च छ । समुन्द्री सतह बढ्दै र मौसमी घटनाहरूमा अत्याधिक वृद्धि हुँदै गएको छ । यसले संसारभरि जीवन र जीविकोपार्जनको ठूलो क्षति भएको विज्ञहरुको भनाइ छ । जलवायु परिवर्तनका कारण मौसममा आएको परिवर्तनले नेपालमा बाढी, पहिरोजन्य घटनाहरुमा वृद्धि भएको र अर्थतन्त्र धरापमा छ । त्यसैले विश्वकै लागि जटिल बन्दै गएको जलवायु परिवर्तन न्यूनीकरणका लागि तत्काल कदम चालिएन भने यसले भविष्यमा थप जोखिम निम्त्याउने निश्चित छ । 


 

प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update