
काठमाडौं । माओवादी केन्द्रले फागुनको दोस्रो साताबाट ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’ संचालन गरेपनि यसको समापन नगरिकनै स्थगित गरेको छ । झण्डै एक महिना अभियान चलाउन लागेको माओवादीले झापादेखि सुदुरपश्चिमको कञ्चनपुरसम्म अभियान चलाउने तयारी गरेको थियो । यद्यपि राजावादीहरुको सक्रियता बढेको भन्दै उसले मधेश प्रदेशका केही जिल्लासम्म कार्यक्रम गरेर अनिश्चित कालका लागि अभियान स्थगित गरेको छ ।
पूर्वराजाको काठमाडौं आगमनलाई लक्षित गर्दै राजावादीहरुले प्रदर्शन र उपस्थिति बढाएपछि नै माओवादीले आफ्नो अभियान स्थगित गरेका हो । यद्यपि प्रचण्ड राजावादीहरुको गतिधिधिबाट खासै नआतिएको प्रतिकृया दिइरहेका छन् ।
संसदमा माओवादीको प्रस्तुती
माओवादी केन्द्रले आफ्नो अभियान रोकेपछि संसद र सडक नै रोजेको देखिन्छ । जसमा प्रचण्डले आईतबार मात्रै संसदमा सम्बोधन गरे । र, अन्य देशव्यापी दौडमा समेत निश्कने उनको तयारी छ । प्रचण्ड बुधबार शीर्ष नेताहरुलाई लिएर रुपन्देही पुगेका छन् । यसको अघिल्लो दिन संसदमा खरो रुपमा प्रस्तुत भएका प्रचण्डले मुख्यतः सरकारको कामकारवाही र कार्यशैलीको चर्को विरोध गरेका थिए ।
खासगरी राजावादीहरु वर्तमान व्यवस्थाविरुद्ध चर्किरहँदा माओवादी भने सत्तारुढ दलहरुमाथि नै आक्रोश पोख्न तल्लीन देखिएको छ । उसले संसदबाटै राजवादीहरुको सक्रियता बढ्नु काँग्रेस एमालेकै कार्यशैलीलाई मानेको छ ।
सदनबाट माओवादीले सत्ता पक्षको रवैया बढिरहेको भन्दै एकातर्फ सत्तारुढ दलहरु र अर्कोतर्फ राजावादीको बढ्दो चहलपहललाई दोहोरो चुनौतीका रुपमा पेश गरिरहेको हो ।
माओवादीको थप अभियान
संसदमा सत्ता पक्ष र राजावादीविरुद्ध प्रस्तुत भएसँगै अब माओवादीले सडक आन्दोलनसमेत थाल्ने तयारी गरिरहेको छ । माओवादी समाजवादी मोर्चामार्फत सडक आन्दोलनको तयारीमा निश्कन लागेको हो । मधेशबाट फर्कने वित्तिकै माओवादीले गणतन्त्रात्मक व्यवस्थामाथि संकट पैदा भइरहेको भन्दै राजावादहीहरुको काउन्टरमा प्रदर्शन गर्ने प्रतिकृया दिएको थियो । यसैस्वरुप माओवादी सम्मेलित समाजवादी मोर्चाले चैत १५ गते राजावादीहरुविरुद्ध काउन्टर प्रदर्शन गर्ने भएको हो ।
जनता उचालेको आरोप !
माओवादीले वर्तमान संविधानलाई आफ्नो उपलब्धीका रुपमा लिन्छ । संघीयता, समावेशीता, समानुपातिक प्रणाली र धर्म निरपेक्षता वर्तमान व्यवस्थाको प्राण हो । तर यो व्यवस्थामा पुनः धावा पैदा भइरहेको भन्दै माओवादीले समाजमा पुनः द्वन्द्व हुनसक्ने चेतावनी दिइरहेको छ ।
प्रचण्डका यस्ता अभिव्यक्तिलाई कतिपय दलहरुले जनता र समुदायलाई नै विभाजन गर्न खोजेको आरोप लगाइरहेका छन् । त्यस्तै माओवादीले गरेको १० वर्षे जनुद्धलाई समेत कतिपयले अनावश्यक द्वन्द्वका रुपमा व्याख्या गर्ने गरेका छन् । हाल माओवादीले सामाजिक, धार्मिक तथा जातियताका सवालमा गरिरहेका केही टिप्पणीले पनि फेरि मुलुक द्वन्द्वतिरै फस्ने खतरा पैदा त नहोला ? भन्ने प्रश्न आम रुपमा उठिरहेका देखिन्छन् ।