
काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केहीदिन अघि संसदमा सत्ता पक्षप्रति कठोर हुँदा राजावादी गतिविधिहरुप्रति नरम सुनिएका थिए । उनले संसदमा राजावादीहरुको बढ्दो गतिविधिलाई चुनौतीका रुपमा व्याख्या गरेपनि मुख्य चुनौती वर्तमान सत्ता नेतृत्वको चरित्रलाई नै औँल्याएका थिए ।
यी अभिव्यक्तिले प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्ड काँग्रेस–एमालेविरुद्ध कठोर भएको तर राजावादीहरुप्रति नरम रणनीतिमै रहेको दावी गरियो । यसको थप पुष्ट्यिाइँ सत्तारुढ दलहरुकै कार्यशैलीले राजावादीहरु हौसिएको भन्ने उनको आरोपले पनि गर्छ । तर शुक्रबार प्रचण्डले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिले भने विपक्षी दलहरुमै कटुताको संकेत गरेको छ ।
जसले एकातिर सरकारमाथि सृजना गर्नुपर्ने दवाव र कदमविरुद्धको आन्दोलन कमजोर हुने खतरा पैदा गराएको देखिन्छ भने, अर्कोतर्फ सत्तारुढ दलहरुलाई हाइसन्चोको स्थिति निर्माण भएको छ । प्रचण्डले राजसंस्थाको वकालत गर्ने दल राप्रपासहितलाई समेटेर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि कठोर भाषा बोलेका छन् । उनले पूर्वराजा ज्ञानेन्द्रलाई भाईमारा, मूर्ती चोर देखि बंश नासकर्तासम्मको गम्भीर आरोप लगाएका छन् ।
प्रचण्डले दिएको यो अभिव्यक्ति पूर्वराजालाई काउण्टर भएपनि राजसंस्थाकै वकालत गर्ने राप्रपाले भने यस्लाई निको मान्ने अवस्था छैन । प्रचण्डको अभिव्यक्ति लगत्तै राप्रपाले प्रतिजवाफ फर्काएको छ ।
पार्टीका सचेतक ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि नै गम्भीर आरोपसहित काउण्टर जवाफ फर्काएका हुन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै तत्कालीन समयमा राजा हटाउन प्रचण्डको नेतृत्वमै माओवादीले हतियार उठाएको तथा दरबार हत्याकाण्ड पछि माओवादीले नै बढी राजनीतिक फाइदा लिएको टिप्पणी गरेका छन् । त्यस्तै दरबार हत्याकाण्डको घटना तत्कालीन सरकार र प्रचण्ड मिलेरै गराएकोसमेत शाहीले गम्भीर आरोप लागएका छन् ।
उनले भनेका छन् – ‘मोबाइल फोन नभएको समयमा स्याटालाईट फोन युरोपियन युनियनले कसलाई बोक्न दियो ? भारतमा लुकेर राजनीतिक रूपमा भड्काएर १७ हजार नेपाली निमुखा गरिबका छोराछोरी कसले मार्यो ? निहत्या नागरिकलाई बाटोबाटोमा बम थप्दै कसले हत्या गर्यो ? विदेशीको इशारामा मन्दिर, गुम्बाका पुजारी र लामालाई कसले घाँटी रेट्यो ? ३३ किलो सुन तस्कर कसले गर्यो ? क्यान्टोनमेन्ट घोटाला कसले गर्यो ? सिधा भाषामा भन्दा बिदेशीको इसारामा प्रचण्डजी तपाईंँ र तत्कालीन सरकार मिलेर राजा वीरेन्द्रको वंशनाश गर्नुभयो ।’
उत्तेजित अभिव्यक्तिले फाटो !
मुख्यतः आजको मुद्धा सुशासन, समृद्धि र विकास हो । तर यहीबीचमा व्यवस्था परिवर्तनकै चर्को बहस उठिरहेको छ । यस्तो अवस्थामा गणतन्त्रवादी र राजतन्त्रवादीको दोहोरी नै चलिरहेको छ । तर यस्तोमा दलहरुले पनि आ–आफ्नो स्वार्थ अनुसारको उत्तेतिज अभिव्यक्ति दिइरहँदा एकअर्कामै फाटो आउने खतरा पैदा भइरहेका छन् ।
यसरी विपक्षी नै विभाजित हुँदा सरकारको कामकारवाहीमा खबरदारी गर्न चुक्ने अवस्था सृजना भएको छ । यसले दलहबीच नै असमझदारी पैदा मात्रै गराएको छैन, नागरिकका आवश्यकता सम्बोधन र मुलुकको समृद्धिलाई नै रोकावट गरिरहेको छ ।