
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादी शक्तिको सक्रियतापछि समाजवादी मोर्चा प्रतिरोधमा उत्रिएको छ । मोर्चामा रहेका दलहरुले राजतन्त्रको मुद्दा स्थापित हुनै नसक्ने भन्दै प्रदर्शन र विरोधमा जनसहभागिताको अपिल गरिरहेका छन् । किन समाजवादी मोर्चाले राजावादी शक्तिबाट खतरा देख्यो त ?
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि गणतन्त्रवादी दलहरु आक्रोशित बनेका छन् । सत्तारुढ दल एमाले र कांग्रेसले राजतन्त्रको पुनागमन हुन नसक्ने भन्दै आन्दोलनकै बाटोमा खास प्रतिक्रिया नदिएपनि समाजवादी मोर्चामा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले संयुक्त रुपमा राजावादी शक्तिविरुद्ध शक्ति प्रदर्शन गर्ने भएका छन् ।
काठमाडौंमा चैत्र १५ गते गर्ने भनेको प्रदर्शनमा उनीहरुले तीब्रताका साथ काम गरिरहेको भनेका छन् । यो प्रदर्शन तुलनात्मक हिसावले चुनौतिपूर्ण समेत देखिन्छ । राजावादी शक्तिभन्दा धेरै जनता सडकमा ल्याउनुपर्ने बाध्यतामा रहेका उनीहरुले कस्तो प्रभाव पार्लान ? यो समेत चासोमा रहेको विषय हो । यता, मोर्चाका शीर्ष नेताहरुले राजावादी शक्तिको सक्रियतालाई परास्त पार्नुपर्ने भनिरहेका छन् ।
शीर्ष नेताहरुले वामपन्थी बाहुल्यता कायमदेखि राजावादी शक्तिको प्रदर्शनलाई प्रतिक्रियावादी कदम भनेका छन भने प्रचण्डले दरबार हत्याप्रकरणमा शक्तिशाली आयोग बनाएर छानविन गर्नुपर्नेमा जोड दिन थालेका छन् ।
यसरी एकताबद्ध रहेको सन्देश दिन जुटेका दलहरुले सरकारमाथि आक्रोश समेत पोखेका छन् भने प्रतिक्रियावादीहरु सल्बलाएकाले एकजुट हुनुपर्ने भनेका छन् ।
विश्वकर्माले समाजवादी मोर्चाको प्रतिनिधित्व गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् । अहिले मोर्चाको संयोजक विप्लव रहेकाले पनि विश्वकर्माले मोर्चाको आधिकारीक धारणा राख्ने गरेको देखिन्छ । गणतन्त्रवादी दलहरुले राजावादीको सक्रियतालाई लिएर प्रतिरोध गर्ने दाबी गर्दै गर्दा राप्रपाका नेताहरुले भने संवैधानिक राजतन्त्र पक्षमा वकालत गरिरहेका छन् ।
लोहनीजस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि अब राजतन्त्रको पक्षमा माहोल जुटिसकेको भन्दै आन्दोलन नरोकिने दाबा गरिरहेका छन् ।
राजा फर्काउने भन्दै सक्रिय अन्य राजावादी शक्ति र समूह एकीकृत भने हुने देखिन्न । राजावादी समूहमा सक्रिय दुर्गा प्रसाईले अब पूर्वराजा ज्ञानेन्द्र शाहसँगबाहेकका आन्दोलनमा नजाने भनिरहेका छन भने कमल थापाले चाहेको एकतामा राजेन्द्र लिङ्देन आफैले कटाक्ष गरेर वातावरण बिरागिरकेका छन् । तर, यता गणतन्त्रवादी दलहरु राजतन्त्रको विपक्षमा भने प्रष्टै उभिने देखिन्छ । यस्तो स्थितिका कारण पनि अबको राजनीति कतै तनावमा परिणत हुने त होइन ? चिन्ता बढ्न थालेको छ ।