
काठमाडौं । मुलुकमा आम नागरिकमा वर्तमान राज्य ब्यवस्थाप्रति निराशा छाइरहेका बेला राजावादीहरु सक्रिय भइरहेका छन् । युवा पंक्तिमा मुलधारका राजनीतिक दलहरुप्रतिको आक्रोशका कारण नयाँ दलहरु पनि उदाएका छन् । तर राजनीतिको जग मानिने विश्वविद्यालयमा भने न त राजावादीहरुको बाहुल्यता छ, न त रास्वपा लगायतका उदीयमान दलहरुको विद्यार्थी संगठनहरु नै छन् ।
त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पससहित ६२ वटा आंगिक क्याम्पस र सम्बन्धन प्राप्त १ हजार ४० क्याम्पसहरु यतिबेला स्वतन्त्र विद्यार्थी युनियनको चुनावले तातेको छ । चैत ५ गते हुने चुनावका लागि राजनीतिक दलका विद्यार्थी संगठनहरु रस्साकस्सी र दौडधुपमा छन् । तर यतिबेला राजवादी शक्तिहरु गणतान्त्रिक ब्यवस्थाकै विकल्प खोज्नुपर्ने भन्दै सडक प्रदर्शनमा उत्रिरहेका छन् ।
फाल्गुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहको पोखराबाट काठमाडौं आगमनको क्रममा भएको प्रदर्शनले राजावादीहरु निकै हौसिएका छन् । अब २, ४ महिनामै शाहलाई गद्दिशिन गराउने सपना बाँडिरहेका छन् । फाल्गुन ७ गते पूर्व राजा शाहले वर्तमान ब्यवस्थाको कमजोरी औंल्याउँदै आफूलाई साथ दिन आह्वान गरेपछि राजावादीहरुको सक्रियता बढेको हो ।
यता, पुराना राजनीतिक दलहरुले देश विगाएको भन्दै गएको आम चुनावबाट एकाएक उदाएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी पनि आफूलाई बैकल्पिक शक्ति बताइरहेका छन् । ‘मिशन ८४’ अभियान चलाउँदै लागिपरेको रास्वपा पार्टी सभापति रवि लामिछानेको सहकारी प्रकरणको अल्झनसँगै हराईरहेको छ ।
यतिबेला लाखौं विद्यार्थीहरुसँग जोडिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले क्याम्पसहरु तताइरहँदा नयाँ र बैकल्पिक भन्ने यी शक्तिहरु भने गुमनाम छन् । क्याम्पसहरुमा उही पुरानै दलहरु कांग्रेस, एमाले र माओवादी केन्द्र निकट विद्यार्थीहरुको बोलवाला देखिएको छ ।
राजालाई फेरि नारायणहिटीमै गद्दिसिन गराउने बताइरहेका राजावादी शक्तिहरुको क्याम्पसहरुमा सून्य प्रभाव देखिएको छ । संसदको चौंथो ठूलो दल रास्वपा पनि क्याम्पसहरुमा पुग्न सकेको छैन । रास्वपा विद्यार्थी संगठनविहिन छ । शैक्षिक प्रतिष्ठान राजनीतिक मुक्त हुनुपर्ने पार्टीको नीति रहेको भन्दै विद्यार्थीको सांगठनिक संरचना नै निर्माण नगर्दा रास्वपा स्ववियु चुनावबाटै बाहिरिने भएको छ । जसका कारण रास्वपा समर्थक विद्यार्थीहरुको मत अन्यौलमा छ ।
क्याम्पसमा तीन दलकै बर्चश्व
स्ववियुको फाल्गुन ५ गते हुने निर्वाचनका लागि चुनावी प्रचारप्रसारको समय पनि सकिएको छ । आइतबादेखि विद्यार्थी उम्मेदवारहरु चुनावी प्रचार गर्न पाउने छैनन् ।
राजनीतिको जग भनेकै विद्यार्थी हुन् । कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका राजनीतिक दलका नेताहरु विद्यार्थी राजनीतिबाटै मुलधारको राजनीतिमा स्थापित भएका हुन् ।
त्यसैले राजनीतिको जग मानिने त्रिभुवन विश्वविद्यालय र आंगिक क्याम्पसहरु तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा हुँदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको यो निर्वाचनमा पनि उनै कांग्रेस, एमाले र माओवादी केन्द्र सम्बद्ध विद्यार्थीहरुकै बर्चश्व देखिएको छ ।
अहिलेसम्म ८२ वटा क्याम्पसको नेृतृत्व निर्विरोध निर्वाचित भइसक्दा यिनै ३ पार्टीका विद्यार्थी संगठनहरु अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले बाजी मारेका छन् । निर्विरोध हुनेमा एमाले निकट अनेरास्ववियु पहिलो, कांग्रेस निकट नेविसंघ दोस्रो र माओवादी केन्द्र निटक क्रान्तिकारी तेस्रो स्थानमा छन् ।