
काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनामा मात्रै १ खर्ब ५१ अर्ब भन्दा बढी रेमिट्यान्स आएको छ । चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो ।
यस अवधिमा नेपालबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या के कस्तो छ त ? अनि मुद्रास्फीति दर कस्तो छ ? समग्रमा नेपालको अर्थतन्त्रको दृष्य अहिले कस्तो देखिन्छ त ? गएको महिना फागुनमा मात्रै नेपालमा १ खर्ब ५१ अर्ब भन्दा बढी रेमिट्यान्स आएको छ । बुधवार नेपाल राष्ट्र बैंकले जारी गरेको आर्थिक वर्ष २०८१\८२ को आठ महिनामा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले रेमिट्यान्सको वर्तमान अवस्थाबारे जानकारी गराएको हो । प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रिएकोमा फागुन मात्रै डेढ खर्बभन्दा बढी रेमिट्यान्स आएको हो ।
रेमिट्यान्सको अवस्था
- फागुन महिनामा मात्रै नेपालमा १ खर्ब ५१ अर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- चालु आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
- चालु आर्थिक वर्षको रेमिट्यान्स ९.४ प्रतिशतले वृद्धि
- समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह ९.४ प्रतिशतले वृद्धि भई फागुन मसान्तसम्म रेमिट्यान्स १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको
- अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको
- अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा डलरको तुलनामा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धिदर बढी देखिएको
- माघ मसान्तमा ९ खर्ब ५८ करोड रहेको रेमिट्यान्स फागुनमा मात्रै १ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँले बढी
- अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १८.३ प्रतिशतले बढेको
- अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड
- अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको
- चालु आर्थिक वर्षको फागुनसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) ११ खर्ब ४८ अर्ब १२ करोड
- अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १० खर्ब ४१ अर्ब ९९ करोड रहेको
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या कति ?
- चालु आ.वको फागुनसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा वृद्धि
- गत आर्थिक वर्षको फागुनसम्म वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपाली २ लाख ८५ हजार ३५२ जना थिए ।
- त्यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ८२ हजार ७८३ थियो ।
- चालु आर्थिक वर्षको फागुनसम्म अन्तिम श्रम स्वीकृत र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ ।
- फागुसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख १७ हजार ४०३ रहेको छ ।
उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत
- फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७५ प्रतिशत
- देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.८२ प्रतिशत रहेको थियो ।
- खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ प्रतिशत
- गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत
- अघिल्लो वर्षको यसै अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.९५ प्रतिशत र ४.०७ प्रतिशत थियो ।
- समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १३.७४ प्रतिशत, दाल तथा गेडागुडीको ७.८० प्रतिशत, फलफूलको ६.८२ प्रतिशत र गैर–मदिराजन्य पेय पदार्थको ५.१५ प्रतिशतले वृद्धि
- मरमसला उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.१७ प्रतिशत, तरकारीको १.२४ प्रतिशत र माछा तथा मासुको ०.७४ प्रतिशतले कम
- गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.१४ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ७.०१ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.०७ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ५.५९ प्रतिशत र यातायातको ५.०७ प्रतिशतले वृद्धि
- समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.१८ प्रतिशतले वृद्धि, शहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.६० प्रतिशतले वृद्धि
- प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६८ प्रतिशत, मधेश प्रदेशको ३.५२ प्रतिशत, बागमती प्रदेशको २.९८ प्रतिशत, गण्डकी प्रदेशको २.७७ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७७ प्रतिशत, कर्णाली प्रदेशको ३.८० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ४.४१ प्रतिशत
- समीक्षा महिनामा काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत
- २०८१ फागुन महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ४.४३ प्रतिशत
- अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत रहेको थियो ।
- समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पूँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.०२ प्रतिशत, २.५७ प्रतिशत र ३.१७ प्रतिशत
- साथै निर्माण सामग्रीको थोक मुद्रास्फीति १.६३ प्रतिशतले वृद्धि