News 24 Television
पश्चिमा प्रयोग– जेनजी आन्दोलन, गुमराहमा थियो ओली सरकार

काठमाडौँ । नेकपा एमाले र नेपाली काँग्रेस गठबन्धनको शक्तिशाली भनिएको सरकार जेनजी आन्दोलनको तयारी र यसको पछाडिको शक्तिबारे गुमराहमा थियो ? नत्र २ दिनमै सत्तापलट हुनेगरी राज्य नै खण्डहर बनाउनेगरी भएको उक्त विध्वंशक आन्दोलनबारे तत्कालीन केपी ओली नेतृत्वको सरकारले किन चाल पाउन सकेन ? यी प्रश्न पछिसम्म आम नेपालीको मनमा उब्जिरहनेछन् । स्वयं तत्कालीन प्रधानमन्त्री ओलीले आफूलाई सुरक्षा निकायले कुनै जानकारी नदिएर गुमराहमा राखिएको बताउँदै आएका छन् । हुन पनि गुप्तचर निकाय समेत प्रधानमन्त्रीकै अन्डरमा रहँदा पनि ओलीले त्यतिबेला आन्दोलनको गम्भीरता र परिणामबारे आकलन गर्न नसक्नुले उक्त सरकार गुमराहमै थियो भन्ने आधार भेटिन्छ । ओलीले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड, चोरी र लुटपाटको घटनालाई नेपालविरुद्धको योजनाबद्ध षड्यन्त्र भएको टिप्पणी गर्दै आएका छन् । यो घटना पहिलेदेखिकै एमालेमाथिको नियोजित निशाना र आफू नेतृत्वमा हुँदा राज्यमाथि नै निशाना साधिएको उनको भनाइ छ ।

एमाले महासचिव शंकर पोखरेलले पनि नवयुवालाई जेनजीको नाममा भड्काएर पश्चिमा पुँजीवादी शक्तिहरुले नेपालमा खेलेको आरोप लगाएका छन् । भदौ २३–२४ को उक्त घटना पश्चिमा पुँजीवादीहरूले आफूसँग असहमत सत्तालाई कमजोर पार्न ‘डीप स्टेट’को अवधारणाअन्तर्गत ‘कलर रेभुलुसन’ गर्ने विश्वव्यापी योजनाको एक भाग भएको उनको तर्क छ । पश्चिमा शक्तिहरूको यही रणनीतिका कारण नेपाल असामान्य अवस्थामा प्रवेश गरेको पोखरेल बताउँछन् । पुरानो पुस्ताले नयाँ पुस्ताको मनोविज्ञान बुझ्न नसक्ने भाष्य सिर्जना गरेर युवाहरुलाई आफ्नो स्वार्थमा प्रयोग गरेको कारण नेपालमा जेन–जी आन्दोलन भएको उनको भनाई छ । यद्यपि भदौ २३ मा युवाहरुले उठाएका माग सही रहेको बताउँदै उनले तत्कालिन सरकारसमक्ष ती मागलाई आउनै नदिएको, आन्दोलनको नेतृत्वकर्ता समेत नभएकोले सरकारले संवाद गर्न समेत नसकेको जिकिर गरे । सामाजिक सञ्जाल नियमनको विषयमा भने तत्कालिन सरकार चुकेको र त्यसको लाभ गलत तत्वले उठाएको उनको स्वीकारोक्ति छ ।

पोखरेलले एमाले विरुद्ध नेपालमा चार शक्ति क्रियाशील रहेको पनि बताउँदै आएका छन् । ती हुन्– बाह्य शक्ति, राजसंस्थावादी शक्ति, माओवादी केन्द्र र स्वतन्त्रका नाममा अराजकता फैलाउने शक्तिहरु । ती चार शक्ति विगतदेखि नै एमाले र एमाले नेतृत्वको सरकारविरुद्धमा लागेको उनको आरोप छ । राजसंस्था पुनःस्थापनमा जुटेकाहरुलाई एमाले नेतृत्वको सरकारले असफल बनाउनु, माओवादी केन्द्र सत्ताच्युत हुनु र अराजकताको विरुद्धमा प्रतिवाद गरेका कारण रास्वपा लगायत स्वतन्त्रताको नाममा अराजकता फैलाउनेहरु नियोजित रुपमा एमालेविरुद्ध लागेको उनको भनाइ छ । भदौ २३ को घटनामा प्रहरीले गरेको गतिविधि, भीड नियन्त्रणको लागि अपनाएको विधि पनि शंकास्पद भएको पोखरेलको दाबी छ । त्यसकारण जेन–जी पुस्ताको आन्दोलन आकस्मिक, अस्वभाविक भूकम्पजस्तै भएको र सरकारले भेउसम्म पाउन नसकेको उनले बताए । 

यद्यपि एमाले निर्वाचनबाट भाग्ने पार्टी नरहेको उनको भनाइ छ । तर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार ‘प्रतिगमनतिर उन्मुख’ भएको, निर्वाचन सुरक्षाको वातावरण नबनेको लगायत आरोप उनले लगाएका छन् । वर्तमान सरकार सार्वभौम सत्तामा आधारित संविधानलाई कुल्चिएर बनेको अरोप लाउँदै उनल सर्वोच्च अदालतले विगतका नजिरका आधारमा संसद पुनस्र्थापना गर्ने विश्वास समेत व्यक्त गरे । 
 

प्रकाशित मिति: सोमबार, कात्तिक १७, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update