News 24 Television
राजीनामा दिनेहरुः आफ्नै हतारको निर्णय अहिले भारी !

मकवानपुर । गत भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन लगत्तै बागमती प्रदेश सभामा रहेका दलहरुले सामाजिक सञ्जालमार्फत भटाभट राजीनामाको घोषणा गरे । 

दोस्रो दिनको प्रदर्शनमा बागमती प्रदेश सभादेखि मन्त्रालयहरु समेतमा आगजनी भएपछि प्रदेश संरचना नै खारेज होला भन्ने अनुमानकै भरमा राजीनामा घोषणा गरेका दलहरुले अहिले आफ्नै निर्णयमा पछुतो मान्दै त्यतिबेलाको स्टाटस डिलिट गर्न थालेका छन् । 

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमती प्रदेश सभाका दुई राजनीतिक दल जेन–जी प्रदर्शनको विध्वंशले अत्तालियो । 

प्रदेश संरचनाकै सुविधा भोग गरिरहेपनि प्रदेश खारेजीको मुद्धा उठाइरहने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र काठमाडौँमा ख्याती कमाएको लौरो अभियानबाट निर्वाचित भएर प्रतिनिधित्व गर्न आइपुगेको हाम्रो नेपाली पार्टी (हानेपा) ले जेन–जी आन्दोलन लगत्तै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेरै राजीनामाको घोषणा गरे । 

यता, राजसंस्था रुचाउने राप्रपाले बागमती प्रदेश सभाको सभामुख पद लिइरहेको थियो । आफ्ना दलको निर्णय अनुरुप तत्कालिन सभामुख भुवनकुमार पाठकले पनि सामाजिक सञ्जाल फेसबुकमार्फत नै राजीनामा दिएको घोषणा गरे । राप्रपाका महामन्त्री समेत रहेका पाठक भदौ महिनाभित्रमा देशमा राजसंस्था कायम हुनेमा ढुक्क देखिन्थे । 

सामाजिक सञ्जालमा आएको राजीनामाका बिषयमा पाठकले चर्को दबाब झेल्नुपरेपछि उनले लिखित पत्र प्रदेश सभामा बुझाए । 

योसँगै राप्रपाको पोल्टामा रहेको सभामुख पद ख्यालख्यालमै फुत्कियो । प्रदेश सभामा हालसम्म सभामुख भुवनकुमार पाठकको मात्रै राजीनामा पत्र प्राप्त भएको प्रदेश सभा सचिव रामकुमार पौडेल बताउँछन् । प्रदेश सभामा प्राप्त पत्रलाई मात्रै आधिकारिक मान्न सकिने बताउँदै उनले सभामुख पाठक बाहेक कसैको पनि राजीनामा प्राप्त नभएको बताएका हुन् । 

यता, सभामुख पद गुमाइसकेको राप्रपा बामगती प्रदेश सभामा रहेका १३ जना सांसदको पद जोगाउने कि छोड्ने भन्ने अन्यौलमा पर्यो ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले प्रतिनिधि सभा र प्रदेश सभामा रहेका सबै सांसदहरुले पदबाट राजीनामा दिई सांसद पदबाट बाहिरिने निर्णय गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए । तर उनको निर्णय राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उल्टाइदियो । देशको अवस्था राप्रपाले सोचेजस्तो नबनेपछि बागमती प्रदेश सभामा राजीनामा बुझाएनन् । सदनमै बसेर प्रदेश खारेजीको मुद्धामा अडिग रहने भन्दै तत्कालका लागि लिखित राजीनामा नबुझाइएको राप्रपाको दाबी छ । 

त्यसो त, हाम्रो नेपाली पार्टी (हानेपा) ले पनि जेन–जी को भावना र मर्म अनुरुप प्रदेश सभाबाट आफ्नो दल बाहिरिएको घोषणा गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामाको घोषणा गरेको थियो । लौरो चुनाव चिन्हबाट काठमाडौँको १(८) बाट प्रत्यक्ष निर्वाचित भएर प्रदेश सभामा आएको हानेपाको बागमती प्रदेश सभामा दुई सिट छ । 

शैलेन्द्रमान बज्राचार्य प्रत्यक्ष निर्वाचित भएका हुन् भने सरिता खड्गी समानुपातिक सांसद हुन् । दुई सिट रहेको हानेपा बागमती संसदीय दलका नेता बज्राचार्यले पनि सिर्जित परिस्थिति अनुसार हानेपा बागमती प्रदेश सभाबाट बाहिरिएको घोषणा गरेका थिए । 

भदौ २४ गते साँझ स्टाटस लेखेका उनले परिस्थिती सहज भएपछि लिखित राजीनामा प्रदेश सभामा पेस गर्ने बताएका थिए । तर उनले पनि असोज अन्तिम साता उक्त स्टाटस हटाएका छन् । राजीनामा दिने आफ्नो निर्णयप्रति आफ्ना शुभचिन्तक, दलका अन्य नेताहरू तथा मतदाताहरुले आपत्ति जनाएको भन्दै राजीनामा नदिने निर्णयमा पुगेको उनले बताए ।

११० सदस्यीय बागमती प्रदेश सभामा ७ राजनीतिक दलको प्रतिनिधित्व छ । जसमा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को ३ र हानेपाको २ सिट छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १५, २०८२  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update