काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी औपचारिक रुपमै फुटमा पुग्ने देखिएको छ । माधव नेपालसहितको ठूलो समूहले माओवादी केन्द्रसँगको एकतालाई निर्णायक मोडमा लैजाने निर्णय गरेपछि नेकपा एसभित्रको विवाद छताछुल्ल मात्रै भएन्, पार्टी नै विभाजनमा पुग्ने मोडमा देखिएको हो ।
नेकपा एकीकृत समाजवादी पार्टी विभाजनको मोडमा आइपुगेको छ । तत्कालीन नेकपाको विभाजनसंगै एमाले पनि विभाजित भएको थियो । सोही घटनाक्रमसँगै जन्मिएको नेकपा एस अहिले आफै विभाजन सम्मुख देखिएको छ ।
एमालेबाट विद्रोह गर्दै माधव नेपालको नेतृत्वमा बनेको एस विभाजन नजिक पुग्नुको कारण माधव नेपालकै कदम बन्ने देखिएको छ । माधव नेपालसहितका बहुमत नेताहरुले माओवादी केन्द्रसंग एकता गर्ने निर्णयमा जोड दिएपछि सम्मानित नेता झलनाथ खनालसहितका नेताहरुले नेकपा एसको पुनर्गठनै गर्ने भनेका छन् ।
यतिमात्रै नभई माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सम्पत्ति शुद्धिकरण विभागको निगरानीमा रहेको र माधव नेपाल पतञ्जली प्रकरणमा भ्रष्टाचार आरोपी रहेको भन्दै यो एकतालाई नेकपा एसका नेताहरुले अभियुक्तहरुको एकता भनेका छन् ।
यसरी विवाद चल्दै गर्दा माधव नेपालले भने केन्द्रीय समिति बैठक उद्घाटनमै एमालेसंग लम्पसार पर्न चाहनेहरुले पार्टी फुटको औचित्य पुष्टी नभएको तर्क गरेको भन्दै इतर पक्षमाथि आक्रोश पोखेका थिए ।
किन छुटे झलनाथ–घनश्याम ?
वामपन्थी एकताको पक्षमै रहेको दाबी गर्ने झलनाथ खनाल र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल एकताबाट बाहिरिने संकेत प्रष्ट पारेका छन् । झलनाथले आफूलाई माधव नेपालले महत्व नदिएको भन्दै सहसंयोजकको माग माओवादी केन्द्रसंग गरेको बताइन्छ भने घनश्याम भुसालले महासचिवकै जिम्मेवारी मागेको दाबी गर्ने गरिन्छ ।
दुई नेताको महत्वकांक्षा र झलनाथ–घनश्यामसंग रहेका केहि नेताहरुले एमालेमै फर्किने गरि तयारी गरेकाले सिंगो पार्टी एकतामा जान नसकेको दाबी गरिन्छ । यसमा रामकुमारी झाँक्री भने एमालेमै फर्किएर सक्रिय बन्न चाहेकी छन् । एमाले नेताहरुले पनि पुरानो घर फर्किन भन्दै अपिल गर्न थालेका छन् ।
यस्तो स्थितिमा नेकपा एकीकृत समाजवादीको टिममा मतभेद देखिन पुगेको बताइन्छ । उसोतः झलनाथ र घनश्याम भने पदीय मिलानकै कारण कार्यदिशामा पुगेर अल्झिएको आरोप लागिरहेको छ ।
के भन्छन नेताहरु ?
नेकपा एकीकृत समाजवादीभित्र पार्टी एकताको विषयलाई लिएर मतभेद भने देखिएको छ । नेताहरुले माओवादीसंगको एकतालाई वामपन्थी मिलान पनि भनिरहेका छन् भने केहिले सन्देह समेत व्यक्त गरिरहेका छन् ।
पार्टी एकताको विषयलाई वामपन्थी एकताको रुपमा लैजानुपर्ने भन्दै पार्टी नेतृत्वसंग मतभेद गर्दै आएकी नेतृ रामकुमारी झाक्रीले समेत केहि नेताहरु अब पार्टीका गतिविधिमा सहभागी नहुने निर्णय गरेको दाबी गरिन् ।
यसरी हेर्दा एकीकृत समाजवादी औपाचारिक रुपमै विभाजनका लागि केवल एक घोषणा बाँकी रहेको अवस्थामा छ । नेताहरुले अब एकताको विषयलाई पार्टी बैठकमा घोषणा नै गरेका छन् भने माओवादीसंगको एकता प्रक्रिया समेत अघि बढ्ने भएको छ ।
यस्तै, विप्लव नेतृत्वको नेकपा पनि विभाजन भएको छ । चिरन पुन ’सी’को नेतृत्वमा पार्टी विभाजन भएको र माओवादी केन्द्रसंग एकता गर्ने भनिएको छ । ७५ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको चिरन सी नेतृत्वको पार्टीले शनिवार पत्रकार सम्मेलन गरि आफ्नो निर्णयबारे औपचारिक जानकारी दिने भनेको छ ।
वाम तयारी कस्तो ?
पार्टी पुनर्गठन गर्ने दाबी गरिरहेका नेकपा एकीकृत समाजवादीमा विद्रोहको जग बसाल्न तम्सिएका नेताहरुले बाहिर रहेकाहरुलाई समेट्ने प्रयास समेत गर्ने बताइन्छ ।
यसमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका नेत्रविक्रम चन्द ’विप्लव’देखि अन्य साना दल र घटकहरु समेत हुने बताइन्छ । उसोतः माओवादी केन्द्रभित्र समेत नेकपा एससंगको एकतापछि केहि नेताहरुले विद्रोह गर्ने र उनीहरु पनि यहि समूहमा मिसिन आउने दाबी गर्न थालिएको छ ।
माओवादी केन्द्रभित्र जनार्दन शर्माले विद्रोह गर्न लागेको चर्चा चलाइएको छ । तर, जनार्दन आफैले भने पार्टी विभाजनमा जाने गरि तयारी नगरेको बताइन्छ ।
यता, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समेत वैकल्पिक शक्ति निर्माणका लागि अभ्यास र रिले दौड चलाएपनि त्यो सम्भव नभएपछि रन्थनिन पुगेको बताइन्छ । श्रेष्ठले महाधिवेशन आयोजक समितिको संयोजक नभए विद्रोह गर्ने चेतावनी दिदै आएपनि पछिल्लो समय अन्यत्र पार लाग्ने नदेखिएपछि थामथुम स्थितिमा रहेको बताइन्छ ।
