
सप्तरी । गर्मि बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ । गर्मि मौसम शुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि सप्तरीको राजविराज नगर क्षेत्रमा भने नगरपालिकाले समयमा औषधि नछर्किँदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो । नगरपालिकाले खरिद गरेको लामखुट्टे मार्ने विषादी एक वर्षदेखि स्टोरमा थन्काइएको छ ।
सप्तरीको राजविराज नगर क्षेत्रमा लामखुट्टेको बिगबिगी बढेको छ । बेलुका सुर्यास्त हुन लाग्दै घरघरमा लामखुट्टेले हैरान पार्ने गर्दछ। लामखुट्टेको बिगबिगीले राजविराज नगरपालिकाका बासिन्दा हैरान बनेका छन्। लामखुट्टेको टोकाइबाट बिरामी पर्ने सम्भावना अत्याधिक रहेको छ ।
लामखुट्टेको टोकाइले स्थानीय बासिन्दालाई लामो समयदेखि सास्ती भइरहँदा समेत नगरपालिकाले खरिद गरेको लामखुट्टे मार्ने बिषादी एक बर्षदेखि स्टोरमा थन्काइएको छ । नगरपालिकाले लामोसमयदेखि लामखुट्टे मार्ने बिषादी प्रयोगमा नल्याएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
राजविराज नगरपालिकाले २०८०\८१को नगरस्तरीय योजना अन्तर्गत न्यू खान अटोमोबाइल्स एण्ड इलेक्ट्रोनिक्ससँग २० लाख ५८ हजार ६ सय ८४ रुपैयाँको लामखुट्टे मार्ने बिषादी र मेसिन खरिद गरेको थियो ।
गत वर्ष अषाढमै खरिद गरेको मेसिन र विषादी एक वर्षदेखि नगरपालिकाको गोदाममा थन्काइएको छ। स्वास्थ्य शाखासँग समन्वय नगरि बजेट खर्चिने उदेश्यले गत असारमा फटाफट खरिद गरेको बिषादी छर्किन योग्य रहे नरहेको यकिन छैन्। राजविराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख निरञ्जन प्रसाद यादवले विषादी आफ्नो शाखाको स्टोरमा नरहेको र खरिदको बिषय आफुलाई जानकारी नभएको बताएका छन् ।
लामखुट्टेको समस्या सम्बन्धी नगरवासीले गुनासो गर्न थालेपछी बिषादी बारे सोधखोज गर्दा विषादीको प्रयोगबारे नगरपालिकाले यकिन गर्ने प्रक्रिया सुरु गरेको छ ।
बिषादी खरिद अनुगमन समेत गरेकी राजविराजकी कार्यवाहक नगरप्रमुख प्रमुख इसरत परविनले नियम र प्रक्रिया मिलाएर काम गर्नुपर्ने भएकोले बिषादी छर्किन समय लागेको जवाफ दिएकि छन् ।
एक महिनादेखि बिषादी बिषयमा बुझ्ने प्रक्रियामा रहेको नगरपालिकाले स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्राचार गरेर सोधेको थियो। महाशाखाले पत्र पठाउँदै डेल्टामेथ्रिन डव्लू पी औलो तथा कालाजारमा अन्तरंग अवशिष्ट विषादी छर्किनका लागि स्वीकृत विषादी छिडकाउ निर्देशिका वमोजिम प्रयोग गरेको छ ।
तर नगरपालिकाले खरिद गरेको डेल्टामेथ्रिन –अति कम भोल्युम प्रयोग प्रयोजनका लागि हालसम्म कार्यविधि÷निर्देशिका तयार नगरिएको हुनाले प्रदेश तथा स्थानीय तहवाटै एकिकृत किट व्यवस्थापन निर्देशिका २०२०, औलो तथा कालाजार रोगमा विषादी छिडकाउ समबन्धि निर्देशिका २०८१ बमोजिम आवश्यक निर्णय गर्न भनेको छ । तर नगरपालिकाले हालसम्म यस बिषयमा निर्णय गर्न सकेको छैन्। बिषादी छर्किन योग्य रहे नरहेको यकिन नभएकोले बिषादी र मेसिन स्टोरमा थन्किएको छ ।