
कास्की । पोखरा र प्याराग्लाइडिङलाई एकअर्काका पर्यायवाचीको रूपमा लिने गरिन्छ । तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सराङकोटबाट उड्ने प्याराग्लाइडरहरूलाई अन्यत्र स्थान्तरण गरियो । जसका कारण रङ्गीचङ्गी पुतली बिनाको अर्थात् प्याराग्लाइडरहरू बिनाको पोखरा खल्लो हुँदै गएको थियो । तर, लामो समयको प्रतिक्षापछि फेवातालमाथी प्याराग्लाडिङ गर्ने अनुमति पाएसँगै पोखराको पर्यटनमा खुशी थपिएको छ ।
प्याराग्लाइडिङ पोखराको पर्यटनको एक महत्वपूर्ण पक्ष हो । अहिले यसै पक्षमा एउटा खुशी थपिएको छ । लामो समयको प्रतीक्षापछि फेवातालमाथि प्याराग्लाइडिङ उडाउन अनुमति पाएसँगै पर्यटन क्षेत्रमा खुशी थपिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि उडान र अवतरण स्थल करिब ५ किलोमिटर टाढा सारिएपछि पोखराको पर्यटन व्यवसायमै असर परेको थियो ।
अब भने फेवातालको आकाश फेरि रंगीन बन्ने भएको छ भने, फेवाताल माथिको आकाशमा हावा खाँदै ताल किनार चंखपुर र खपौदीमा अवतरण गर्न पाइने भएको छ ।
प्याराग्लाइडिङ कम्पनीहरूको छाता संगठन नेपाल हवाई खेलकुद संस्था (ना) ले सुरुदेखि नै अन्तर्राष्ट्रिय अभ्यास र सुरक्षाका दृष्टिले पुरानै ठाउँबाट उडान र अवतरण गर्दा कुनै फरक नपर्ने बताउँदै आएको थियो ।
विभिन्न अध्ययन पछि नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिले बल्ल उडान क्षेत्राधिकार विस्तार गरिदिएको छ । विमानस्थललाई पनि असर नपरोस् र प्याराग्लाइडिङको पनि उडान होस् भन्ने नागरिक उड्डयनको चाहना रहेको र पोखराको प्याराग्लाइडिङमा उच्च प्रविधिको प्रयोग भएकाले जोखिम नभएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताउँछन् ।
प्याराग्लाइडिङ उडान र अवतरण पहिलेको भन्दा करिब ५ किलोमिटर पर सर्दा व्यवसायमा पनि असर गरेको व्यवसायीले बताउँदै आएका थिए । फेवातालको आकाशमा प्याराग्लाइडिङ उडेको देखेर नै पोखरामा आउने पर्यटक मध्ये धेरैले प्याराग्लाइडिङ उडान गर्ने हुँदा पोखराको पर्यटन चलयमान बन्नेमा यहाँका व्यवसायी तथा पाइलट अहिले भने उत्साहित बनेका छन् ।
हाल पोखराको प्याराग्लाईडिङ व्यवसायमा २७० जना प्यारापाइलट छन् । फेवातालमाथीको आकाशमा उडाउन अनुमति पाएसँगै प्यारापाइलटहरुमा समेत हौसला थपिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरामा प्याराग्लाइडिङ गर्ने उडानको तालिकामा समेत समय थपेको छ । यसअघि दिउँसो ३ बजेसम्म मात्र उडान भर्न पाइनेमा समय थपेर साढे ४ बजेसम्म उडान भर्न पाइने गरी अनुमति प्राधिकरणले दिएको छ । यता उच्च प्रविधिमार्फत प्रत्यक्ष निगरानी गरिने भएकाले पूर्णरुपमा सुरक्षित रहेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले बताउँछन् ।
पोखरामा हाल ५७ वटा प्याराग्लाइडिङ कम्पनी सञ्चालनमा छन् । पोखराको प्याराग्लाईडिङ व्यवसायमा करिब एक अर्ब लगानी भइसकेको नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ ।
प्याराग्लाइडिङको यो दृश्य केवल साहसिक खेलको मात्र होइन, पोखराको पुनः जागेको पर्यटनको संकेत हो । जसका कारण फेवातालमाथिको आकासमा देखिएका यी रंगीन पखेटाहरूले पोखराको पर्यटनमा थप उर्जा पैदा भएको छ ।