News 24 Television
गृहमन्त्रीलाई जोगाउन ओली देउवा कस्सीए, पार्टीभित्र विस्फोटको खतरा !

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले आरोपित गृहमन्त्री रमेश लेखकलाई जोगाउने खेलमा लागेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने गरेको भिजिट भिसाको सेटिङ प्रकरणमा जोडिएका गृहमन्त्री लेखकलाई सत्तारुढ दलहरु काँग्रेस एमालेको शीर्ष नेतृत्वले नै जोगाउने योजना बुनेका हुन् । यससम्बन्धमा आईतबार मात्रै बसेको सत्तारुढ शीर्ष दलका नेताहरुको बैठकले गृहमन्त्रीमाथि अनावश्यक लाञ्छना लगाइएको निश्कर्ष निकाल्यो । 

प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु सम्मेलित बैठकमा गृहमन्त्रीमाथि लागेका आरोपहरुबारे पनि छलफल भएको थियो । 

जसमा सबैजसो नेताहरुले लेखकले राजीनामा दिनुनपर्ने भनेका थिए । त्यस्तै उक्त बैठकले रवि लामिछानेको मुद्धाको प्रकरणसँग जोडेर गृहमन्त्रीमाथि मिथ्या आरोप लगाइएको निष्कर्ष निकालेको थियो । एक कर्मचारीले बदमासी गर्दैमा मन्त्रीले नै राजीनामा दिनुपर्ने भन्ने विषय नमिल्दो भएको सत्ता गठबन्धनको निश्कर्ष छ । 

पार्टीका आन्तरिक निष्कर्ष पनि उस्तै !

सत्ता गठबन्धनको निश्कर्षजस्तै काँग्रेस एमालेले पनि आ–आफ्नै पार्टीको बैठक बसालेर गृहमन्त्री निर्दोष रहेको निचोड दिएका छन् । सत्ता गठबन्धनको बैठक बस्नुअघि नै एमालेले सचिवालय बैठक राखेको थियो । जसमा गृहमन्त्री लेखकमाथि लागेका आरोपलाई हल्लाका भरमा विश्वास गर्न नसकिने निश्कर्ष निकालियो । एमालेले सम्बन्धित निकायले गरेको अनुसन्धानलाई मात्रै आधिकारिक मान्ने तर हल्लाको पछि नलाग्ने जिकिर गरेको छ । उसले अहिलेको स्थितिमा गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निचोड निकालेको छ । 

उता नेपाली काँग्रेले पनि गृहमन्त्रीविरुद्ध कुनै उजुरी नपरेको तथा भिजिट भिसा प्रकरणमा लेखकको संलग्नता नदेखिएकाले उनी कारवाहीको भागेदार बन्नुपर्ने स्थिति नभएको निश्कर्ष निकालेको छ । 

तर गृहमन्त्रीमाथि लागेको आरोप भने सामान्य छैन । भिजिट भिसा प्रकरणमा अध्यागनका कर्माचारीहरुको ठूलो बदमासी र असुली धन्दा नै देखिन्छ भने उक्त कर्मचारीहरु गृहमन्त्रीको सचिवालयसँगै जोडिएको देखिएका छन् । जसले गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने आवश्यकता दर्शाउँछ । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईको अस्वभाविक सरुवाले समेत गृहमन्त्रीसँगको कनेक्सन भिजिट भिसा प्रकरणमा रहेको दावी गर्न सकिन्छ । किनकी गृहमन्त्रीले नै यसअघि अध्यागमनमा अख्तियारले छापा मार्ने तयारीपछि आफ्नै मन्त्रालयमा तानेका थिए । यद्यपि उनी अहिले अख्तियारकै नियन्त्रणमा छन्  ।

काँग्रेस एमालेभित्र दुई धार !

काँग्रेस र एमालेको मुल नेतृत्वले गृहमन्त्रीले राजीनामा दिनुनपर्ने निश्कर्ष निकालेपनि पार्टीमा केही नेताले भने राजीनामाको लागि दवाव दिइरहेका छन् । काँग्रेसका सांसदहरु शेखर कोइराला, राजेन्द्र बजगाईँ र शुनिल शर्माले गृहमन्त्रीको राजीनामा माग गरेका छन् ।

त्यस्तै एमाले नेता विष्णु रिजालले पनि सामाजिक संजालमा स्टाटस लेख्दै गृहमन्त्रीमाथि घुमाउरो आलोचना गरेका छन् । उनले ‘भिजिट भिसा’ काण्डले मुलुकको शीर नै निहुरिएको टिप्पणी गर्दै सरकारी अदालतबाट उन्मुक्ति पाएपनि जनताको अदालतबाट उनीहरु सँधै अपराधि भएको बताएका छन् । 

उनले भनेका छन् ‘बेरोजगार नागरिक बेचेर पैसा असुल्नेहरूले कानुनका छिद्र समातेर सरकारी अदालतबाट उन्मुक्ति त मिलाइहाल्लान् । तर नागरिकको अदालतमा तिनीहरू सदासर्वदा अपराधीकै रूपमा अभिलिखित हुनेछन् ।’

गृहमन्त्रीमाथि यतिबेला राजीनामाका लागि ठूलो नैतिक दवाब बढी रहेको छ । प्रतिपक्षी दल माओवादी केन्द्र र रास्वपाले पनि गृहमन्त्रीको राजीनामा माग गरेका छन् । यसैबीच गृहमन्त्री लेखकले मंगलबारको प्रतिनिधिसभा बैठकमा विशेष प्रष्टिकरण दिने कार्यसूची छ । तर उनको प्रष्टिकरणले विपक्षी कन्भिन्स हुनेमा शंका नै देखिन्छ । विपक्षी दलहरु, सत्ता पक्षका केही नेता र आम नागरिकबाट लेखकले राजीनामा दिनुपर्ने आवाज तीव्र रुपमा उठिरहेका छन् । तर सत्ता पक्ष भने गृहमन्त्रीको बचाउमा उत्रिरहँदा यो प्रकरण अझ रोचक मोडमा पुगेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update