News 24 Television
झलनाथ पनि मिसिए प्रचण्ड-माधवकै लाइनमा, घनश्याम र जनार्दन बाहिरिए

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत १० वटा साना पार्टी–समूहहरु एकता प्रक्रियामा गएका छन् । बुधबार पुष्पकमल दाहाल (प्रचण्ड) र माधव नेपाल नेतृत्वमा एकीकृत भएका १० वटा कम्युनिष्ट पार्टीहरुले एकता घोषणा सम्मेलन गरे । सम्मेलनमा पार्टीका शीर्ष नेताहरु प्रचण्ड–माधवसहित सबै घटकका नेताहरुले संयुक्त रुपमा रिमोट थिचेर उद्घाटन गरेका थिए । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ भने चुनाव चिह्न तारा रहेको छ । 

एकता सम्मेलनमा अघिल्लो दिनसम्म असन्तुष्ट देखिएका नेता झलनाथ खनाल पनि सहभागी भए । मंगलबारसम्म एकता अस्वीकार गर्दै एमालेमा मिसिने या पार्टी पुनर्गठन गर्ने अडान लिएका खनाल बुधबार अचानक एकता प्रक्रियामा सामेल भएका हुन् । मंगलबार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका खनालले बुधबार बिहानै प्रचण्डसँग भेट गरेका थिए । खनालले समाजवादी कार्यक्रममा जानुपर्ने लगायतका ४ शर्त पूरा गरेमा एमालेमै फर्कने धारणा राख्दै आएका थिए । तर ओलीसँग कुरा नमिलेपछि उनी अन्ततः प्रचण्ड–माधवकै लाइनमा सामेल भएका हुन् । सम्मेलनमा प्रचण्ड, माधवसहित नेपाल समाजवादी पार्टी, जन समाजवादी पार्टी, नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, माओवादी कम्युनिष्ट केन्द्र र देशभक्त समाजवादी मोर्चा लगायतका १० वटा कम्युनिष्ट पार्टीका नेताहरु सहभागी थिए । 

 यद्यपि एकता गरिरहँदा मुख्य घटक दलभित्रै भने अर्को भुइँचालो गएको छ । एकातिर मन मिल्नेहरु एकाकार हुँदा अर्कोतिर असन्तुष्ट नेताहरु धमाधम बाहिरिने लहर चलेको छ । जसले गर्दा एकताको औचित्यमाथि नै प्रश्न उठेको छ । आइतबार माओवादी–समाजवादीसहित ८ वटा दलबीच एकता गर्ने सहमतिमा हस्ताक्षर भएको थियो । समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण गर्ने भनिए पनि माओवादी र एकीकृत समाजवादीले आफ्नै नेताहरुलाई एकाकार गर्न सकेनन् । फलस्वरुप दुवै पार्टीबाट एक–एक समूह अलग भएका छन् । विगतदेखि पार्टीभित्रै अध्यक्ष प्रचण्डसँग संघर्ष गर्दै आएका माओवादी केन्द्रका नेता जनार्दन शर्माले एकताप्रति असन्तुष्टि जनाउँदै अलग भएको घोषणा गरेका छन् । शर्माले माओवादी केन्द्र छाडेर ‘प्रगतिशील अभियान नेपाल’ संचालन गर्न लागेको जानकारी पनि दिए । उनीसँगै माओवादी केन्द्रबाट नेता राम कार्कीको समूह पनि बाहिरिएको छ । कार्कीले खास गरेर आफूहरुको पिँढीले ‘नालायक नेतृत्व’लाई प्रतिस्थापन गर्ने ल्याकत राख्न नसकेको स्वीकार गरे । हाल नेपालको कम्युनिष्ट आन्दोलन विघटन हुन पुगेको उनको भनाइ थियो ।

उता, नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसालले आफ्नो नेतृत्वमा समाजवादी पार्टी पुनर्गठन गर्ने बताएका छन् । एकता प्रक्रियामा असन्तुष्ट रहेका भुसालले मंसिर पहिलो हप्तामा पार्टीको राष्ट्रिय भेला गर्ने बताएका छन् । पार्टीको बहुमत केन्द्रिय समितिले माओवादीसँग आत्मा सर्मपण गरेको उनको आरोप छ । तर जिल्ला तहमा भने आफूहरुको बहुमत रहेको उनको दाबी छ । राजनितिक रुपमा एकीकृत समाजवादी पार्टी क्रियाशिल रहने बताउँदै उनले स्थायी समिति, पोलिटव्युरो, केन्द्रिय समिति, प्रदेश, जिल्ला, विभिन्न विभागमा रहेका धेरै नेताहरु समाजवादीमा नै रहने दाबी गरे । 

यसैगरी एकीकृत समाजादीकी नेतृ रामकुमारी झाँक्रीको समूह भने माउ पार्टी एमालेमा नै एकताबद्ध हुने पक्षमा रहेको छ । बुधबार आफ्ना समूहका नेताहरुसहित पत्रकार सम्मेलन गरी झाँक्री र नेता कृष्णकुमार श्रेष्ठले आफूहरु एमालेमा विनाशर्त फर्कने बताएका छन् । देशभरका एकीकृत समाजवादी पार्टीमा आबद्ध नेता–कार्यकर्ताहरुलाई पनि आफूहरु उभिएको ठाउँमा एकताबद्ध भएर उभिन झाँक्रीले आह्वान गरिन् । 

यसरी एकातिर कम्युनिष्ट शक्तिहरु एकीकृत हुनुपर्ने भन्दै पार्टी एकता भइरहँदा अर्कोतिर तिनै पार्टी चोइटिएर नयाँ समूह खडा भइरहेका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update