
कास्की । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मीटरको अन्नपूर्ण–प्रथम हिमाल सफल आरोहण गरेका थिए । यसै स्वर्णिम क्षणलाई सम्झँदै म्याग्दीको नारच्याङमा ’अन्नपूर्ण हिरक महोत्सव’ आयोजना हुने भएको छ । ७५ वर्षअघि फ्रान्सेली टोलीले पाइला राखेको यस ऐतिहासिक हिमालको सम्मानमा जेठ १६ देखि २२ गतेसम्म विविध सांस्कृतिक र पर्यटकीय कार्यक्रमहरूसहित महोत्सव मनाउने तयारी गरिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण– प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पुरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड गण्डकी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपाल गण्डकीले सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ, अन्नपूर्ण हिमालको उत्तरी आधार शिविरलगायतका स्थानमा जेठ १६ देखि २२ गतेसम्म विभिन्न कार्यक्रम गरी हिरक महोत्सव मनाइने जानकारी दिएको हो । सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुईस लचेन र दुई जना नेपाली शेर्पाहरूले अक्सिजन बिना ८ हजार ९१ मीटरको अन्नपूर्ण प्रथम हिमाल सफल आरोहण गरेका थिए ।
ठूलो पर्यटकीय सम्भावना रहेको अन्नपूर्ण १ हिमाली क्षेत्र अझै पनि ओझेलमा रहेको छ । तर पछिल्लो समय म्याग्दीको अन्नपूर्ण गाउँपालिका गुरुयोजना नै बनाएर अन्नपूर्ण क्षेत्रको आधार शिविर व्यवस्थापन, हिमतालको संरक्षण, प्रवद्र्धन तथा होटल लगाएतका पर्यटकलाई आवश्यक पर्ने संरचना निर्माणमा लागि परेको छ । कुनै पनि कार्यक्रम तथा महोत्सव सम्वन्धित स्थानमै गएर मनाएमा मात्र यसले सार्थकता पाउने अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनको भनाई छ ।
७ दिनसम्म भव्य रुपमा मनाईने ‘अन्नपूर्ण हिरक महोत्सवमा अन्नपूर्ण १ हिमालका पहिलो आरोहीहरू मौरिस हर्जोग, लुईस लचेन र सोनाम वाङ्चुक शेर्पाको शालिक अनावरण गरिनेछ । नारच्याङमा स्थापना गरिएको शालिकको अनावरण प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजकले जानकारी दिएको छ । संसारभर चिनिएको ठाउँ भएपनि यसलाई थप प्रचारप्रसार र अझ बढी चिनाएर हिमालय पर्यटनमार्फत नेपालमा धेरै पर्यटन ल्याउन पनि यो हिरक महोत्सवले थप मद्दत मिल्ने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछाने बताउँछन् ।
महोत्सवमा फ्रान्ससहित युरोप–अमेरिका लगायत १२ देशका राजदुत सहभागि गराउने तयारी आयोजकले गरेको छ । मौरिस हार्जोगका छोरा र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइसकेका छन् । हिरक जयन्तीको यो महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय पहिचान विस्तारमा ऐतिहासिक योगदान पु¥याउने आयोजकको अपेक्षा छ । अन्नपूर्ण प्रथमको ७५ वर्षे गौरवपूर्ण यात्रा सम्झन यो महोत्सवले नेपाली पर्यटन र पर्वतारोहणको इतिहासमा नयाँ अध्याय थप्ने विश्वास समेत लिइएको छ ।