News 24 Television
जेठ १५ : राजावादीको सम्भावित प्रदर्शनको परिदृश्य ! 

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पछिल्लो समय आक्रामक शैलीमा प्रस्तुत भइरहेका छन् । उनले गणतन्त्रविरुद्ध कडा अभिव्यक्ति दिँदै राजसंस्था पुनस्र्थापनाको मागलाई तीव्र बनाएका छन् ।

पछिल्लो सातामा मात्रै उनले दिएका अभिव्यक्तिहरु सुन्दा लिङ्देन निकै आक्रामक बनिरहेको पुष्टि हुन्छ । उनले गणतन्त्रवादीहरूलाई चेतावनी दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले  देश छोडेर भाग्नु पर्ने अवस्था आए हेलिकप्टर उपलब्ध गराउने र गणतन्त्र पलभरमै ढाल्न सकिने दाबी गरे । उनका पछिल्लो यी दुई अभिव्यक्तिलाई फेरि एकपटक सुनौ । 

झापा ३ बाट प्रतिनिधिसभामा निर्वाचित लिङ्देनले चुनावमा एमालेसँग सहकार्य गरेका थिए । उनलाई कतिपयले एमालेको साथ र सहयोगले नै निर्वाचन जितेको आरोप लगाउँछन् । सोमवार उनले काठमाडौँमा आयोजित पार्टीका ४० मुनिका युवाहरुसँगको साक्षात्कार कार्यक्रममा यस्तै प्रश्नहरुको सामना गर्नु पर्यो । 

कार्यक्रम सकेर निस्किदै गरेका लिङ्देनलाई पत्रकारहरुले एमालेसँगको सम्बन्धलाई लिएर केरकार गरे । तर आक्रोशित मुद्रामा पत्रकारहरुको प्रश्नको जवाफ नदिई उनी बाहिरिए । एमालेसँग चुनावी सहकार्य गरेका लिङ्देन अहिले एमाले र अध्यक्ष केपी शर्मा ओलीको कट्टर आलोचक बनेका छन् भने मौका पाउँदासम्म नेताहरु र वर्तमान व्यवस्थाप्रति कडै झटारो हान्ने गर्छन् । एमालेसँग चुनावी तालमेल गरेका र केही समय उपप्रधानसहित उर्जामन्त्री समेत बनेका लिङ्देन एकाएक यसरी आक्रामक किन बन्ने भन्नेमा सन्देह देखिएको छ । 

उनका अभिव्यक्तिहरु सुन्दा उनको नेतृत्वमा राजावादी आन्दोलनले नयाँ गति लिन खोजेको संकेत गर्छ । जेठ १५ गते गणतन्त्र दिवसको दिन राप्रपासहितका राजावादी समूहले काठमाडौंमा तय गरेको प्रदर्शनका लागि जिल्ला जिल्लाबाट सहभागि हुन आह्वान गरेका छन् ।  यस्तो अवस्थामा लिङ्देनको आक्रामकताको पछाडिको शक्ति, प्रदर्शनको सम्भावित स्वरूप र सरकारको सुरक्षा रणनीतिबारे विश्लेषण आवश्यक छ । 

लिङ्देनको आक्रामकताको रहस्य 

लिङ्देनको आक्रामक अभिव्यक्तिको पछाडि धेरै कारणहरु हुन सक्छन् ।

पहिलो, देशमा बढ्दो आर्थिक संकट, भ्रष्टाचार र राजनीतिक अस्थिरताप्रति जनतामा रहेको असन्तुष्टिलाई उनले उपयोग गर्न खोजेका छन् । चैत १५ को तीनकुने प्रदर्शनमा देखिएको ठीकैको सहभागिताले राजावादीहरुलाई उत्साहित गरेको हुन सक्छ । तर त्यो प्रदर्शन हिंसात्मक बनेपछि भने राजावादी समूहहरुलाई निकै ठूलो धक्का लागेको थियो । 

दोस्रो, पूर्वराजा ज्ञानेन्द्र शाहको पृष्ठभूमि भूमिका महत्वपूर्ण छ । वैशाख २५ मा ज्ञानेन्द्रले लिङ्देन, नवराज सुवेदी, कमल थापा लगायतलाई नगरकोटमा भेटेर आन्दोलनलाई एकजुट गरेको बताइन्छ भने केही अघि मात्रै पनि सोल्टी होटलमा गरिएको लन्च मिटिङ पनि चर्चामै छ । पूर्वराजासँगको यो भेटले लिङ्देनलाई राजावादी समूहको नेतृत्वमा उभ्याएको छ । 

तेस्रो, राप्रपाको परम्परागत समर्थन आधार र हिन्दु राष्ट्रको नारा अहिलेको धार्मिक र सांस्कृतिक भावनासँग जोडिएको छ । यो कारण पनि उनको आत्मविश्वास बढेको देखिन्छ भने विशेषगरी भारतीय जनता पार्टी बीजेपीको सम्भावित समर्थनको आशंकाले पनि उनलाई बल पुगेको हुन सक्छ ।  यद्यपि यो पुष्टि भने भएको छैन । 

जेठ १५ को प्रदर्शनको सम्भावित स्वरूप

जेठ १५ को प्रदर्शन राप्रपासहित नवराज सुवेदीको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को नेतृत्वमा हुँदैछ । यो प्रदर्शन गणतन्त्र दिवसलाई चुनौती दिने गरि राजावादी शक्तिहरुले आयोजना गरेका हुन् । गत चैत १५ को तीनकुने प्रदर्शनमा हिंसा, आगजनी र दुई जनाको मृत्यु भएको कारण यो प्रदर्शन पनि तनावपूर्ण बन्छ कि भन्ने आशंका देखिन्छ । राप्रपाले शान्तिपूर्ण प्रदर्शनको दाबी गरे पनि लिङ्देन र प्रधानमन्त्री ओलीको उत्तेजित बनाउने किशिमको अभिव्यक्तिले तनाव बढाउन सक्छ । 

सरकारको सुरक्षा रणनीति

जेठ १५ को प्रदर्शनलाई लिएर सरकारले कडारुपमा प्रस्तुत हुने संकेत देखाएको छ । सरकारले चैत १५ को हिंसाको पुनरावृत्ति हुन नदिन विशेष सुरक्षा योजना बनाउनै पर्छ । प्रदर्शनकारीको गतिविधिमा निगरानी, भिड नियन्त्रणका लागि आवश्यक तयारी र संवेदनशील क्षेत्रमा ब्यारिकेड राख्नु आवश्यक छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update