
कास्की । बसाइ सराई रोक्न र सहर झरेकालाई गाउँ फर्काउने उद्देश्यसहित कास्कीको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा होमस्टे सञ्चलानमा ल्याइएको छ । कुनै बेला ८५ घर धुरी रहेको डिठ्ठा गाउँमा अहिले १७ घर मात्रै छन् । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउँमा बास बसेका थिए । गाउँ नै रित्तो हुने अवस्थाबाट रोक्न गाउँका अगुवाहरु होमस्टे सञ्चालनमा जुटेका हुन् ।
कास्कीको सदरमुकाम पोखराबाट पूर्वतर्फ २४ किलोमिटर परको स्याक्लुङ्कोट डिठ्ठा गाउँमा स्थानीयको सक्रियतामा गुरुङ संस्कृतीमा आधारीत होमस्टे सञ्चालनमा ल्याइएको छ । पोखराको पृथ्वीचोक, बिजयपुर, तालचोक, बेगनासताल, सुन्दरीडाँडा, तालबेसी हुदैँ १४ सय मिटर उचाइको स्याक्लुङ्कोट पोखराबाट करिब ४० मिनेटमा पुग्न सकिन्छ । यो गाउँ निकै पुरानो हो । सडक र खानेपानीको समस्याले स्थानीय बसाइ सरेर बजार झर्न थालेपछि डिठ्ठा गाउँ रित्तिने अवस्थामा पुगेको छ ।
८५ घरधुरी रहेको स्याक्लुङ्कोटमा अहिले १७ घरधुरी मात्रै रहेको स्थानीय बताउछन् । अहिले भने गाउँमा पुग्ने अधिकांस सडक पक्की भएको छ भने थोरै मात्र सडक कच्ची छ । लिफ्टिङ गरेर घरघरमा धारामा पानी पुर्याइएको छ । अहिले भएका घर पनि बसाई जाने र गाउँ रित्तिने चिन्ताले होमस्टे संचालन गर्न लागिएको अगुवा क्याप्टेन तेजबहदुर गुरुङ बताउछन् ।
गाउँ लगभग खाली छ, पुराना घर भत्कने अवस्थामा पुगेका छन् । खेतबारी बाँझै छ । अहिले भने ५ घरबाट होमस्टे सुरुवात गरिएको छ ।
होमस्टेमा एक रातमा ३० देखि ३५ जनालाई राख्न सक्ने क्षमता छ । स्थानीय उत्पादन पर्यटकलाई खुवाउने र आयआर्जन बढाउने उद्देश्यले होमस्टे संचालनमा ल्याइएको हो । तत्कालीन बेलायती राजकुमार चाल्र्सले वि.सं २०३९ मा पदयात्रा गर्दा यही ठाउमा बास बसेका थिए । यस हिसावले पनि यो ठाउँ विशेष महत्वको छ ।
होमस्टे सञ्चालनले गाउँमा रहेका स्थानीयको आयआर्जन बढाउने र बजार झरेका पनि फर्कने वातावरण बन्ने गुरुङको अपेक्षा छ ।
यहाँबाट मनोरम अन्नपूर्ण हिमश्रृङ्खला र पोखरा तर्फको मनोरम दृष्य देख्न सकिन्छ । रुपा गाउँपालिकाको वडानम्बर ७ मा पर्ने डिठ्ठा गाउँ पुग्नका लागि पालिकाले पनि सडक सञ्जाल निर्माणलाई तिब्रता दिएको छ । सरकारी स्तरबाट सडक, खानेपानी लगायतका पूर्वाधार निर्माण भएसँगै गाउँमा स्थानीयको सक्रियता पनि बढेको छ ।
जसले रित्तिनै लागेको डिठ्ठा गाउँलाई पुनः पुरानो अवस्थामा फर्काउन सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।