News 24 Television
चैते धानमा विचौलियाको रजगज

झापा । सिंचाई झापाका धेरै ठाउँमा चैते धान लगाइन्छ । चैतमा लगाइएको धान भित्र्याएर असारको धान रोप्ने तयारीमा रहेका यहाँका किसानले चैते धानको उचित मूल्य पाएका छैनन् । 

व्यापारीले चैते धानको न्युनतम समर्थन मूल्य कार्यान्वयन नगर्दा समस्या भोगिरहेका किसानहरुले सरकारसँग न्युनतम समर्थन मूल्य कार्यान्वयन गर्न माग गर्दै आन्दोलन गरिरहेका छन् । 

झापाको गौरादह, गौरीगंज, कमल, बुद्धशान्ति, अर्जुनधारा, मेचीनगर लगायतका किसानहरुले यतिबेला जिल्लाभर चैते धान भित्र्याइरहेका छन् । 

किसानहरू दिनरात खटिएर धान भित्र्याउने कार्यमा व्यस्त छन् । चैते धान भित्राएपछि उनीहरु असारे धान रोपाइँमा लाग्छन् । तर चैते धानको न्यूनतम मूल्यसमेत नपाएपछि उनीहरूको अनुहारमा खुशी छैन ।  झापासहित देशभरका किसानले चैतेधानको समर्थन मूल्य पाएका छैनन् ।

नेपालमा एक लाख १० हजार हेक्टरसम्ममा चैतेधानको खेती हुने गरेको छ । प्रतिमन एक हजार १२० रुपैयाँ पाउनुपर्ने भएपनि पाँचदेखि ६ सय प्रतिमनमै धान बेच्नुपरेको किसानहरूको गुनासो छ । 

उत्पादन लागत पनि उठेको छैन । खेती गर्ने वेलामा मल हुँदैन । भारतबाट मल ल्याउनुपर्ने बाध्यता किसानहरुलाई छ । धेरै मेहनतका साथ दुःख गरेर उत्पादन गरेको धानको उचित मूल्य नपाएपछि लगानी पनि नउठेको किसानको गुनासो छ । 

सस्तो मूल्यमा दिएर ब्यापार्री पोस्न किसानहरु विवश छन् । सरकारले चैते धानको समर्थन मूल्य प्रतिमन एक हजार १२० रुपैया तोकेको छ तर ब्यापारीले पाँच सयदेखि ६ सय प्रतिमनमा धान खरिद गर्दै आएका छन् । राज्यले यसतर्फ चासो नदिएपछि अहिले झापाका किसानहरु चरणबद्ध आन्दोलनको तयारीमा जुटेका छन् । 

झापाका किसानहरुले समर्थन मूल्य कायम गर्नुपर्ने मागसहित पालिकाहरूमा ज्ञापनपत्र समेत बुझाएका छन् । किसानको उक्त माग पूरा गर्न सरोकारवाला निकायलाई पहल गर्ने स्थानीय तहका जनप्रतिनिधिहरुले आश्वासन दिएका छन् । 

नेपालको मुख्य बालीमध्येको एक धान खेती पनि हो । “सरकारले बर्खे धान सरह चैते धानलाई पनि मूल्य संरक्षणको दायरा ल्याएर कडाइका साथ कार्यान्वयन गर्ने देखिन्छ ।  लगानी गरेर मेहनतका साथ किसानले उत्पादन गरे पनि बिचौलिया र व्यापारीले मात्रै नाफा कमाइरहेका छन् । यस्तो नियतीको अन्त्यका लागि तीनै तहका सरकारले ध्यान दिन जरुरी छ ।  

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update