
कास्की । पोखरा यसै पनि साहसिक खेलकुदको उत्कृष्ट गन्तब्य हो । पोखराको साहसिक खेलको सूचीमा रक क्लाइम्बिङ पनि थपिएको छ । मेथ्लाङमा कारण नयाँ गन्तब्यका रुपमा रक क्लाइम्बि पनि थपिएसँगै पर्वातारोहीहरुका लागि पोखरामा प्रशिक्षण पनि सुरु भएको छ ।
पोखरामा प्याराग्लाइडिङ, बन्जिजम्प, क्यानोनिङ, अल्ट्रालाइट, स्काइडाइभिङ लगायतका साहसिक खेलकुद पहिले देखि नै संचालनमा थिए । जुन पोखराको पर्यटनका प्रमुख आकर्षण हुन् ।
यस्तैमा साहसिक खेलको अर्को सूचीमा हालसालै रक क्लाइम्बिङ पनि थप भएको छ । पोखरा महानगरपालिका वडा नं १८ को मेथ्लाङमा यो साहसिक खेल सुरु भएको छ । त्यस्तै पर्यटक पथ प्रदर्शक र ट्रेकिङ गाइड प्रशिक्षार्थीहरुलाई रक क्लाइम्बिङको तालिम पनि मेथलाङमै दिन थालिएको छ । अहिले नाथम काठमार्डौ, नेपाल पर्यटन बोर्ड र टान गण्डकीले रक क्लाइम्बिङ तालिमको संयोजन गरेका हुन् । साहसिक गन्तब्यको रुपमा विकास भइरहेको गण्डकी प्रदेशमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले पर्यटक पथ प्रदर्शक, ट्रेकिङ गाइडलाई रक क्लाइम्बिङ तालिम दिन थालिएको हो ।
युवालाई पर्यटनतर्फ आकर्षण गर्ने र स्वरोजगार बनाउन तालिमको आयोजना गरिएको आयोजकको भनाइ छ । पर्यटक पथ प्रदर्शक र ट्रेकिङका गाइडका लागि रक क्लाइम्बिङलाई एउटा पेसाको रुपमा विकास गर्न सकिने सो क्षेत्रमा काम गर्ने अगुवाहरुको विश्वास छ ।
विश्वभर रक क्लाइम्बिङ गर्ने साहसिक पर्यटकको संख्या बढ्दै गएको र नेपालको भूगोल रक क्लाइम्बिङको लागि उपयुक्त पनि छ । पहाड र हिमालका लामो र छोटो दुरीमा रक क्लाइम्बिङ संचालन गर्न सकिन्छ । यसले पनि ब्यवसायीक खेलसँगै पर्यटन व्यवसायको रुपमा विकास हुनसक्छ । पर्यटनमा सम्भावना खोज्नेहरुले पनि रक क्लाइम्बिङलाई स्वदेशमा स्वरोजगार बन्ने अवसरको रुपमा लिएका छन् ।
पोखराको पर्यटकले नयाँ नयाँ पर्यटकीय गन्तब्य खोजिरहेको सन्दर्भमा रक क्लाइम्बिङ पर्यटकको रोजाइ बन्न सक्छ । जसको कारण पर्यटकको आकर्षण बढ्नुको साथै पर्यटकको बसाई पनि लम्बिने पर्यटन व्यवसायीको बुझाइ छ । प्रकृतिले पनि साथ दिएको नेपालमा रक क्लाइम्बिङको सम्भावनालाई मध्यनजर गदैँ व्यवस्थित रुपमा विकास गर्न सके पर्यटन क्षेत्रमा थप टेवा पुग्नेमा दुइमत छैन ।