
काठमाडौँ । मङ्गलवार बिहान करिब ३ बजेतिर एक्कासि ठूलो बाढी आउँदा रसुवागढी नाका र आसपासको क्षेत्रमा ठूलै विध्वंश निम्त्यायो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तिब्बतबाट भोटेकोशी नदीमा अचानक बाढी आएकाले ठूलो क्षति भएको छ । रसुवागढी नाकास्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाउनुका साथै सुख्खा बन्दरगाहमा रहेका दर्जनौँ सवारी साधन तथा मालसामानका कन्टेर बगेका छन् ।
नाकाबाट केही तल रसुवा–टिमुरेस्थित रहेको जलविद्युत आयोजनाबाट प्राप्त स्वचालित जलमापन केन्द्रको तथ्यांकअनुसार बिहान ३ः१० बजे उक्त स्थानमा जलसतह एक्कासि करिब ३.५ मिटर बढेको देखिएको थियो । त्यसपछि रसुवागढी नाकाबाट करिब १३ किलोमिटर तल रहेको विभागको स्याप्रेबेसी स्वचालित केन्द्रमा बिहान ३ः३० बजे ५.३७ मिटर पुगेको र तत्कालै केन्द्रबाट तथ्याङ्क सम्प्रेषण बन्द भएको देखिन्छ । बाढीले जलमापन केन्द्र र उपकरण समेत बगाएको हो ।
उक्त बाढीका कारण अहिलेसम्म दुई जनाको मृत्यु पुष्टि भएको छ । नेपाल प्रहरीका तीन जना र चिनियाँ नागरिक छ जनासहित १८ जना बेपत्ता रहेका छन् भने करिब ५० जनाभन्दा बढीको उद्धार गरिएको छ । उक्त बाढीले रसुवागढी तथा त्रिशुली जलविद्युत लगायत चारवटा जलविद्युतमा क्षति पुर्याएको छ । बाढीपहिरोले रसुवागढी नाका हुँदै भइरहेको चीनसँगको व्यापारिक सम्बन्ध समेत विच्छेद भएको छ । नेपाल–चीन व्यापारको मुख्य नाका रसुवागढी विगतमा लामो समय भुकम्पका कारण थिलथिलो थियो, अहिले बाढीले पूरै विध्वंश पारिदियो । पुल र सडक बगेसँगै अर्बौंको व्यापार प्रभावित हुने देखिएको छ । सुख्खा बन्दरगाह समेत तहसनहस भएको छ ।
रसुवागढी नाका पछिल्लो समय अत्यन्तै महत्वपूर्ण नाकाका रुपमा लिने गरिएको थियो । चीनसँगको ब्यापार गर्न सोही नाका हुँदै छोटो दूरी पर्ने भएकाले त्यहाँबाट व्यापार गर्न ब्यापारीहरुले अति सहज मान्दै आएका थिए । तथ्यांकमै हेर्ने हो भने पनि भन्सार विभागका अनुसार रसुवागढी नाका हुँदै चीनबाट चालु आर्थिक वर्षको जेठसम्म ८० अर्बको ८१ करोडको वस्तु आयात भएको छ । त्यस्तै सोही नाकाहुँदै नेपालबाट चीनमा १९ अर्ब ६१ करोडको वस्तु आयात भएको छ ।
कसरी भयो विध्वंश ?
जल तथा मौसम विज्ञान विभागले उक्त विध्वंशकारी बाढी वर्षाका कारण मात्र नभएर हिमताल फुटेर आएको हुनसक्ने बताएको छ । बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै तिब्बततर्फको लेन्डेखोला (भाेटेकाेशी)मा अचानक बाढी आएर नेपालतर्फ त्रिशूलीमा मिसिँदा ठूलो क्षति भएको हो । यसरी बाढी आउनुको कारण हिमताल विस्फोटन रहेको र रसुवागढी तथा आसपासको क्षेत्रमा विध्वंश हुन पुगेको प्रारम्भिक ठहर छ ।
विश्व मौसम सङ्गठनको ‘फ्ल्याश फ्लड गाइडन्स सिस्टम’को ‘ग्लोबल हाइड्रोएस्टिमेटर स्याटलाइट–बेस्ड प्रिसिपिटेशन एस्टिमेट्स’ले भोटेकोशी जलाधार क्षेत्रमा विगत गत २४ घण्टामा वर्षा भएको नदेखाएको महाशाखाको भनाइ छ । यसको विस्तृत अध्ययन अनुसन्धान हुन बाँकी छ । महाशाखाले विज्ञप्ती जारी गर्दै भनेको छ– ‘भोटेकोशी नदी जलाधारको तिब्बतको क्षेत्रमा थुप्रै हिमतालहरू अवस्थित रहेकोले बाढीको सम्भावित कारण पत्ता लगाउन तथा नदी तटीय क्षेत्रमा बाढीको असर आकलनको लागि आज बिहान ७ बजे ‘सेन्टिनल एशिया प्ल्याट्फर्म’मा तत्कालको भूउपग्रह तस्बिर प्राप्त गर्न इमर्जन्सी अब्जर्भेशन रिक्वेस्ट (ईओआर) जारी गरिएको छ । उक्त तस्वीर प्राप्त भएपछि थप विश्लेषण गरेर बाढीको वास्तविक कारण पत्ता लाग्नेछ ।
उक्त घटनालगत्तै सरकारले उद्धार कार्यमा एक्सन लिएकोले थप क्षति हुन पाएन । तथापि पूर्व सतर्कता नअपनाउँदा ठूलै क्षति व्यहोर्नुपरेको छ । नेपालमा विपदपछि बैठक बस्ने तथा उद्धारको पहल हुने तर पूर्व तयारी कम हुने गरेको नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उनले बर्खाको समयमा हुने बाढी–पहिरोजस्ता घटना भइसकेपछि मात्र बैठक बस्ने परिपाटीको अन्त्य गर्नुपर्ने र पूर्वतयारी तथा सावधानीमा ज्यादा महत्व दिनुपर्ने बताए । विपदको सामना गर्न सरकारले जोखिमयुक्त ठाउँहरुमा आवश्यक पूर्वतयारीमा जोड दिनुपर्ने उनको भनाइ छ ।
चीनले केही दिनअघि नै नेपालको भोटेकोशी लगायत नदीमा ठूलो बाढी आउनसक्ने चेतावनी दिएको थियो । तिब्बत क्षेत्रमा भारी वर्षा हुने र यसको असर नेपालतर्फ पर्ने चेतावनीपछि सिन्धुपाल्चोक र काभ्रेपलान्चोक जिल्ला प्रशासनले सजगता अपनाउन भनेको थियो । विगतका बाढी पहिरो र यसपालीको वर्षाले उक्त क्षेत्रमा बाढीको जोखिम थप बढाएकाले पूर्वतयारी तथा सतर्कता आवश्यक देखिन्छ ।