News 24 Television
त्रिविको बेथिति अन्त्य गर्ने चुनौति अर्यालको काँधमा

काठमाडौं । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले जल तथा मौसमविज्ञ प्रा.डा. दीपक अर्याललाई विश्वविद्यालयको नयाँ उपकुलपतिका रूपमा नियुक्त गरेका छन् । तीन दशकभन्दा लामो शैक्षिक तथा अनुसन्धान अनुभव बोकेका अर्यालका लागि त्रिविको बेथिति अन्त्य गर्दै स्थायित्व, गुणस्तरीय शिक्षा र अनुसन्धान प्रवद्र्धनका लागि चुनौति छ । 

त्रिभुवन विश्वविद्यालयको नयाँ उपकुलपतिमा जल तथा मौसम विज्ञानका प्राध्यापक प्रा.डा. दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्रीसमेत रहेका कुलपति केपी शर्मा ओलीले बुधबार उनलाई उपकुलपति पदमा नियुक्त गरेसँगै अर्यालले पद तथा गोपनियताको पनि शपथ लिइसकेका छन् । 

अर्याल त्रिवि अन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन् । यसपटक उपकुलपति पदका लागि १२ जना आकांक्षीमध्ये शिक्षा मन्त्री रघुजी पन्त नेतृत्वको समितिले तीन जनाको नाम सिफारिस गरेको थियो ।

असार २३ गते समितिबाट निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी, विज्ञान संकायका पूर्व डीन प्रा.डा. विनिल अर्याल र प्रा.डा. दीपक अर्यालको नाम सिफारिस भएको थियो । चर्चाअनुसार तीन जना नै एमालेनिकट भए पनि ओलीले रुचाएको पात्रमा भने दीपक अर्याल हुन् ।  

विश्वविद्यालयमा झण्डै तीन दशकदेखि संलग्न रहेका अर्याल १९९५ देखि १९९७ सम्म शिक्षण सहयोगी, १९९७ देखि २००९ सम्म सहायक प्राध्यापक, २००९ देखि २०१९ सम्म उपप्राध्यापक, त्यसपछि प्राध्यापकको भूमिकामा काम गरेका थिए । 

उनी विश्वविद्यालय अनुदान आयोग तथा नास्टका प्राज्ञसमेत हुन् । विज्ञान शिक्षाको गुणस्तर अभिवृद्धि, अनुसन्धानको प्रवद्र्धन, अन्तर्राष्ट्रिय सहकार्य विस्तार, र विद्यार्थी–शिक्षक सम्बन्ध सुधारलाई उनी आफ्नो कार्यकालको प्राथमिकतामा राख्ने बताइन्छ । 

चरम मौसमीय घटनाहरू तथा वायु प्रदूषणसम्बन्धी प्रक्रियामा विशेषज्ञता राख्ने अर्यालले हिमाली भूभागमा हुने संवहनीय गतिविधि, वायुमण्डलीय प्रदूषणको यातायात तथा रूपान्तरण प्रक्रियामा गहिरो अनुसन्धान गर्दै आएका छन् । 

प्रख्यात हास्यव्यङ्ग्यकार भैरव अर्यालका जेठा छोरा दीपकका ३५ भन्दा बढी अनुसन्धान लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । यद्यपि, त्रिविको नेतृत्व सहज हुने निश्चित छैन । 

पछिल्लो समय निवर्तमान उपकुलपति प्रा.डा. केशरजंग बरालको कार्यकालमा देखिएको अस्थिरता, तालाबन्दी, तथा करार शिक्षकहरूको आन्दोलनजस्ता समस्याले विश्वविद्यालय व्यवस्थापनमा गम्भीर चुनौती उत्पन्न गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update