News 24 Television
प्रचण्ड–जनार्दन सम्बन्धविच्छेद, माओवादीबाट के–के लाभ लिएका थिए जनार्दनले ?

काठमाडौँ । माओवादी नेताद्वय पुष्पकमल दाहाल प्रचण्ड र जनार्दन शर्माको ४० वर्षे राजनीतिक सम्बन्ध टुंगिएको छ । वि.स. २०४२ सालमा भूमिगत अवस्थामै रुकुमम प्रचण्डबाट प्रशिक्षण पाएपछि जनार्दन शर्मा प्रभावित भएर माओवादी आन्दोलनमा होमिएका थिए । तर पछिल्लो पटक माओवादीले नेकपा एससँग एकता गर्ने निर्णय गरेसँगै प्रचण्ड र जनार्दनको राजनीतिक सम्बन्ध औपचारिक रुपमा टुगिएको हो । जेनजी आन्दोलनपछि प्रचण्डले माधवसहितका विभिन्न वाम घटकहरुसँगको एकताको तयारी थालेपछि नै जनार्दनले विमत्ति जनाउँदै आए । प्रचण्ड–माधवसहितको १० दलको एकताप्रति असन्तुष्ट बनेका जनर्दन स्पष्ट रुपमै यसको विपक्षमा उभिए । र, उनले एकता प्रकृयाको विरोध नै जनाए । 

कात्तिक १५ गते बसेको माओवादी केन्द्रको सचिवालय बैठकमै एकताप्रति असन्तुष्टि जनाएर निस्किएका जनार्दनलाई प्रचण्डलेसमेत उनको शैलाीलाई आराजक भनेर जवाफ फर्काएका थिए । 

यस्तै विवादकाबीच प्रचण्डसँगै विदाइ भेट गरेका जनार्दन औपचारिक रुपमै अलग्गिएका छन् । मंगलबार नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसिरहँदा जनार्दनले भने ललितपुरमा आँफै पत्रकार सम्मेलन गरिरहेका थिए । पत्रकार सम्मेलनमार्फत नै उनले प्रचण्डले भ्रष्टाचारको मुद्दा लागेका एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधव नेपालसँग पार्टी एकताको नाटक गरेर पार्टीलाई अझ भद्रगोल, विधिविहीन बनाएको आरोप लगाएका छन् । साथै उनले अब प्रगतिशील अभियान नेपाल सञ्चालन गर्ने घोषणासमेत गरे । 

प्रचण्ड र जनार्दनबीच आ–आफ्नै गुट रहेको चर्चा चल्दै आएको नयाँ विषय थिएन । तर ३ वर्ष अघि पार्टीको महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनको सशक्त दावी रहँदा प्रचण्डले तेस्रो विकल्पका देव गुरुङलाई महासचिव बनाएपछि जनार्दन र प्रचण्डको सम्बन्ध अझ बिग्रियो । त्यसपछि पार्टीले दिएको उपमहासचिव पद समेत शर्माले लामो समय अस्वीकार गर्दै आएका थिए । उनले प्रचण्डमाथि दवाव बढाउँदै जाँदा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको निर्वाचनमा पनि जनार्दनले आफ्नै प्यानल खडा गरेका थिए । यसपछि पनि जनार्दनले प्रचण्डमाथि नेतृत्व छाड्नुपर्ने दवावलाई निरन्तरता दिँदै आए । 

गत जेठमा माओवादीले आयोजना गरेको मध्यपहाडी लोकमार्ग जागरण अभियानमा पनि जनार्दनले प्रचण्डलाई साथ दिएनन् । यस्तै निरन्तर रुपमा पार्टी पुनर्गठनको माग राख्दै आएका जनार्दनले गत असोजमा बसेको पार्टी पदाधिकारी बैठकमा पनि सबै पदाधिकारीले राजीनामा दिई महाधिवेशनसम्मका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई संयोजक बनाउन प्रस्ताव गरेका थिए ।

यसपछि प्रचण्ड पनि अध्यक्ष पद त्यागेर राष्ट्रिय महाधिवेशन आयोजक कमिटिको संयोजक बने । तर यसपछि पार्टीले नेकपा एससँग एकताको निर्णय गरेपछि नै जनार्दनले आफ्नै बाटो तताएका हुन् । उनको पार्टी छाड्ने निर्णयपछि पनि प्रचण्डले भने जनार्दनलाई एकतामा सरिक हुन बारम्बार आह्वान गर्दै आएका  छन् ।  यद्यपि जनार्दन यतिकैमा फर्किने मुडमा देखिएका छैनन् । यसघि २०७४ सालमा एमाले र माओवादीको एकतामा अग्रमोर्चामा रहेका जनार्दन अहिले भने एकताको कडा प्रतिवादमा लागेका छन् । 

माओवादीमा रहेर के–के पद लिएका थिए जनार्दनले ? 

पछिल्लो समय पार्टी पुनर्गठन र नेतृत्वबाट प्रचण्डलाई अलग्याउन जोडतोडले लागी परेका जनार्दनको योगदान पार्टीमा कम भने छैन । तर उनले माओवादी आबद्धताको लामो सयम संघर्षसँगै पदीय लाभ पनि उत्तिकै लिएका छन् । माओवादीको नेतृत्वमा संचालित १० वर्षे जनयुद्ध कालमा उनले डेपुटी कमाण्डरको भूमिकामा रहेर अग्र मोर्चामा खटिएका थिए । तर माओवादी शान्ति प्रकृयामा आएपछि भने उनले बारम्बार पदीय लाभ लिँदै आएका छन् । 

२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछि निरन्तर संसदीय भूमिका रहेका शर्मा पाँच पटक मन्त्री बनेका छन् । उनी २०६३ सालमा प्रचण्ड नेतृत्वकै सरकारमा शान्ति तथा पुननिर्माण मन्त्री, २०७३ को प्रचण्ड नेतृत्वकै सरकारमा ऊर्जामन्त्री, २०७४ सालको शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृह, २०७८ सालमा केपी शर्मा ओलीले गरेको संसद विघटन बदर भएपछि पुनस्र्थापित संसदबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री र एक पटक बिनाविभागिय मन्त्रीसमेत बनेका छन् ।

यसका अलावा जनार्दनले संसदको सार्वजनिक लेखा समिति तथा सेना समायोजन विशेष समितिमा रहेरसमेत काम गरेका छन् । उनको यो पदीय लाभ माओवादी र प्रचण्डकै कारण प्राप्त भएको टिप्प्णी हुने गरेका छन् । तर अब भने उनी प्रचण्ड र माओवादी पार्टीबाट औपचारिक रुपमै अलग्गिएका छन् । 
 

प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update