News 24 Television
प्रचण्ड बने नयाँ पार्टीको कमाण्डर, माधव, झलनाथदेखि महिन्द्रराय बने सारथी

काठमाडौं । जेनजी आन्दोलनपछि राजनीतिक दलहरुबीच पुर्नगठन र रुपान्तरणको बहस चलिरहँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० वटा दल तथा समूहबीच एकता भई नेपाली कम्युनिस्ट पार्टीको गठन भएको छ । 

बुधबार काठमाडौंको भृकुटी मण्डपमा भएको एकता घोषणा तथा रएकता राष्ट्रिय सम्मेलनबाट पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा एकीकृत पार्टीको घोषणा भएको हो । 

२०७५ सालमा एक भई दुई वर्ष नहुँदै छुट्टिएका प्रचण्ड र माधव नेपाल पुनः एक भएका छन् । यो एकतालाई ऐतिहासिक भनेका नेताहरुले एकीकृत पार्टी अब मुलुककै पहिलो पार्टी बन्ने उद्घोष गरेका छन् । 

हजारौँ नेता कार्यकर्ताले भरीएको हलमा संयोजकका रुपमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन भए । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट अलग रहेका नेता महिन्द्र राय यादवले प्रचण्डलाई संयोजक र माधवलाई सहसंयोजकको प्रस्ताव गरेका हुन् । त्यसपछि दुबै नेताले पार्टी एकता र नयाँ राजनीतिक यात्राबारे व्रिफिङ गरेका थिए । 

माओवादी केन्द्र र नेकपा एससहितका दल तथा समूहबीच एकता गर्ने सहमति हुँदा समाजवादीका नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले विरोध गरिरहेका थिए । बुधबार नै भुसालले समाजवादीलाई नै पुनर्गठन गर्ने घोषणा गरिरहँदा अन्तिम समयमा झलनाथ भने एकता सम्मेलनमा झुल्किएका थिए । 

अन्तिम समयसम्म पनि एमाले अध्यक्ष माधव नेपालसँग वार्गेनिङ गरेका झलनाथ अन्ततः एकीकृत पार्टीको तेस्रो बरियताका साथ एकतामा सहभागी भएका छन् । उनले बाम एकतालाई मजबुत बनाउन एकतामा आएको उद्घोष गरे । 

खनाल तेस्रो बरियतामा रहँदा बामदेव गौतम चौंथो र माओवादीमा प्रचण्डपछिका नेता नारायणकाजी श्रेष्ठ भने एकतापछि पाँचौ बरियतामा पुगेका छन् । 

नौँ बुँदे राजनीतिक प्रस्ताव, २३ बुँदे घोषण–पत्र

चार पेजको घोषण–पत्र जारी गरेको नेकपा एकता राष्ट्रिय सम्मेलनले नौँ बुँदे राजनीतिक प्रस्ताव समेत पारित गरेको छ । जहाँ चुनाव चिन्ह, पार्टी संगठन विस्तारदेखि चल अचल सम्पत्तिका विषय रहेका छन् । 

२३ बुँदे घोषण–पत्रमा माक्सवाददेखि जनजिविकाका विषय समावेश गरिएको छ । सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको एकता सम्मेलनमा जेनजी पुस्ताको समेत चर्चा भएको छ ।  

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update