काठमाडौँ । चार वर्षअघि नेकपा एमालेबाट विद्रोह गरेर बनेको नेकपा (एकीकृत समाजवादी) अहिले अस्तित्वहीन मात्रै बनेको छैन, यसको नेतृत्व तह पनि तीन भागमा विभाजित भएका छन् ।
अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायतका अधिकांश नेताहरूले नेकपा माओवादी केन्द्रसहित नौवटा दलसँग एकता गरेर नयाँ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठन गरिसकेका छन् । यता, महासचिव घनश्याम भुसालसहितका केही नेताहरू पुनः नेकपा (एकीकृत समाजवादी)लाई पुनर्गठन गर्ने प्रयासमा छन् भने सचिव रामकुमारी झाँक्रीलगायतका नेताहरूले भने पुरानै पार्टी नेकपा (एमाले)मा फर्कने घोषणा गरेका छन् ।
एमाले फर्किने टिममा झाँक्रीसहित कृष्णकुमार श्रेष्ठ, अम्बरबहादुर थापा, डा.वंशीधर मिश्र, होमबहादुर बुढाथोकी, पीताम्बर श्रेष्ठ, अर्जुन राईहरू छन् । जेनजी आन्दोलनपछि पुराना दलहरूको अस्तित्व नै संकटतर्फ उन्मुख भएका वेला माओवादी–एकीकृत समाजवादी एकताको निर्णयमा पुगे भने सोही समयमा एमालेले पनि विगतमा पार्टी छाडेकाहरूलाई आउन आह्वान ग¥यो । यही मौकामा विगतदेखि नै एमालेप्रति नरम देखिँदै आएका झाँक्री र श्रेष्ठलगायतका नेताहरू एमाले फर्कने निष्कर्षमा पुगेका हुन् । तर, उनीहरू पार्टीगत तथा समूहगत एकताका रूपमा नभई व्यक्तिगत रूपमा एमालेमा फर्कनुपर्ने छ । किनभने एमाले नेतृत्व व्यक्तिगत रुपमा मात्रै स्वागत गर्न तयार छ । यति मात्र होइन, नीति, नेतृत्व र पदसम्बन्धी कुनै ‘बार्गेनिङ’का लागि पनि एमाले नेतृत्व तयार छैन । त्यही कुरा नमिल्दा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल अन्तिम समयमा आएर प्रचण्ड–माधव एकतामै मिसिए ।
झाँक्रीसहितको समूहले एमाले फर्कने घोषणा गरेपछि अध्यक्ष ओलीले तिनलाई कसरी स्वीकार गर्ने भन्ने विषयमा चासो सर्वत्र छ । झाँक्री फर्कँदा दुई विषय चर्चामा छन्, एउटा एमाले फुटाउन झाँक्रीले खेलेको भूमिका र अर्को ओलीविरूद्धको भाषण ।
२०७८ भदौ २ गते एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपालले ५० वर्ष पसिना बगाएको पार्टी परित्याग गरेर नयाँ आन्दोलन निर्माण गर्दै थिए । त्यसबेला माधवसँग थुप्रै सहयात्री छुटेका थिए । एमाले कालमा लामो समयदेखि उनलाई साथ दिँदै आएका अमृत बोहरा, युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य लगायत पहिलो पुस्ताका नेता मात्र होइन, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भूसाल, योगेश भट्टराई, भीम आचार्य, गोकर्ण विष्ट लगायत नेताहरूले अन्तिम सयमा माधवको साथ छोडेका थिए । एमालेको तेस्रो पुस्ताको प्रतिनिधित्व गरिरहेकी झाँक्रीले भने माधवलाई दर्बिलो साथ दिइन् । नयाँ पार्टी दर्ता गराउन उनले माधवलाई हात समात्दै निर्वाचन आयोगमा लगेकी थिइन् । त्यो दृश्य एमाले विभाजनको ठूलो विम्ब बनेको थियो ।
अहिले त्यही दृश्यले नेता झाक्रीलाई पिरोलिइरहेको छ । झाँक्रीले यसअघि पनि पटकपटक आत्मालोचना र पश्चात्ताप प्रकट गरेकी थिइन् । अहिले पनि उनले आयोगको त्यो दृश्यलाई एउटा राजनीतिक परिघटना भएको र समयक्रममा एउटा विम्ब बन्न पुगेको बताइन् । अहिले फर्किएर हेर्दा त्यो विभाजनले अगाडि बढ्न बाटो नदिएको भन्दै उनले विद्रोह पुष्टि हुन नसकेको आसय प्रकट गरिन् ।
यति मात्रै होइन, झाक्रीलाई अहिले अर्को विम्बले पनि पिरोल्न गरेको छ । एमाले र नेकपा कालमा रामकुमारी झाक्री सबभन्दा बढी नेतृत्वलाई प्रश्न गर्थिन् । नेकपाभित्रको विग्रह उत्कर्षमा पुग्दै पार्टी अध्यक्ष ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि झाक्री विरोधको अग्रपंक्तिमा देखिइन् । काठमाडौंको पुराना बसपार्क अगाडि, भृकुटीमण्डप जाने सडकको मुखैमा तत्कालीन प्रचण्ड–माधवकुमार नेपाल समूहले ओलीको कदमविरूद्ध सडक सभा राखेको थियो । उक्त विरोध सभामा झाक्री मुखमा टेप टाँसेर पुगेकी थिइन्। पार्टीभित्र बोल्न निषेध गरिएको प्रतिक्रियास्वरूप ’बोल्न पाइन्छ’ भन्दै मुखको टेप उघारेकी थिइन् । अहिले फर्किएर हेर्दा, त्यसबेलाको ती अभिव्यक्ति र गतिविधिले कतै अराजकतालाई प्रश्रय त दिइएन? भन्ने प्रश्न उनको मनमा उठ्न थालेको छ ।
यद्यपि पत्रकार सम्मेलन गरेरै एमालेमा फर्कने घोषणा गरिसकेकी झाँक्रीलाई एमालेले अहिलेसम्म औपचारिक रूपमा स्वागत गरेको छैन । १३ वर्षको उमेरदेखि राजनीति सुरू गरेकी उनी पहिलोपटक पार्टीविहीन बनेकी छन् । उनको मन एमालेमा फर्किसकेको भए पनि पाइला भने अझ प्रवेश गर्न सकेको छैन । एमालेमा फर्कन लागेका नेताहरूलाई कुन जिम्मेवारी दिइने भन्ने पनि टुंगो लागेको छैन । ‘जेनजी आन्दोलन’को प्रभावले एमालेभित्र पनि अध्यक्ष ओलीविरुद्ध प्रश्न गर्नेहरूको संख्या बढिरहेको छ । महाधिवेशन नजिकिँदै जाँदा आन्तरिक प्रतिस्पर्धा तीव्र बन्दै गएको छ । त्यसैले झाँक्री समूह एमालेभित्र कहिले र कसरी समाहित हुन्छ भन्ने हेर्न केही समय कुर्नुपर्ने देखिन्छ ।
