काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीचको राजनीतिक टकराव कुनै बेला सीमाविहीन बनेको थियो । पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सबै सरकारी सुविधा नै त्यागेर खुला राजनीतिमा पुनरागमन गर्ने चाहना राखेकी विद्यालाई अवरोध गर्दा ओली र विद्याको टकरावले सिमा नाघेको थियो ।
प्रधानमन्त्री रहेकै बेला केपी ओलीले पार्टीको सचिवालय र केन्द्रीय कमिटिको बैठकमा पनि विद्याको सदस्यता नविकरण नगर्ने अडान राखेका थिए । तर यसपछि पनि नरोकिएकी विद्याले आफ्नै गुटको निर्माण र सत्रिय राजनीतिको चाहनालाई रोकिनन् । उनी अझै पनि एमालेको सक्रिय राजनीतिमा पुनरागमन गर्ने प्रयास गरिरहेकी छन् । तर जेनजी आन्दोलनपछि भने केपी ओली र समग्र एमाले पार्टी नै संकटमा छ । जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट अपदस्त भएका ओली फेरि बौरिने प्रयासमा छन् । यस्तैमा अध्यक्ष ओलीले विद्याको साथ पनि खोजेका छन् । अध्यक्ष ओलीले सोमबार मात्रै विद्यालाई टेलिफोन सम्पर्क गरेर देशी विदेशी प्रतिकृयावादीको सामना गर्नु परिरहेको भन्दै ओेलीले विद्याको सहयोग मागेकी छन् ।
नेतृत्व छाड्न विद्याको आग्रह
विगतको गहिरो टकरावपछि अध्यक्ष ओलीले नै विद्यासँग संवादको ढोका खोलेका छन् । उनले टेलिफोनमार्फत नै अहिलेको राजनीतिक परिस्थितिमा तपाईको साथ आवश्यक रहेको भन्दै हयोगको प्रस्ताव राखेपनि जवाफमा विद्याले भने ओलीलाई नेतृत्व सहजिकरण गर्न सुझाएकी छन् । उनले अध्यक्ष ओलीलाई जेनजी आन्दोलनको मर्म अनुसार पार्टीलाई अघि बढाउन पनि सुझाव दिएकी छन् । यद्यपि टेलिफोन संवादमा ओलीले सदस्यता नविकराणको विषय भने उठान नगरको खुलेको छ ।
के गर्दैछ एमाले ?
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहेकै बेला जेनजी आन्दोलनले उग्र रुप लिएपछि उनी सत्ताच्युत मात्रै भएनन् । ओली केही सातासम्म भूमिगत नै रहनुपर्यो । तर नयाँ सरकार निर्माण र निर्वाचनकै तयारी भइरहेको अवस्थामा एमाले भने विगतमा पार्टी छाडेकाहरुलाई मुल घरमा फर्कन आग्रह गरिरहेका छन् । यहीक्रममा विद्यालाई पनि उनले टेलिफोन गरेर कन्भिन्स गर्ने प्रयास गरेका हुन् । अर्कोतर्फ एमाले संसद विघटनको विपक्षमा उभिरहेको छ । उसले संसद विघटनको विरुद्धमा पार्टीको विभिन्न तहमार्फत विविध चरणमा देशव्यापी आन्दोलन गर्ने घोषणा नै गरिसकेको छ ।
यता अध्यक्ष ओली पनि वर्तमान सरकार असंवैधानिक भएको संसद विघटन संविधानसम्बत नभएको जिकिर गरिरहेका छन् । उनी सरकारको हरेक कदमको विपक्षमा टिप्पणी गरिरहेका छन् ।
एमाले यसरी निर्वाचनको तयारी भइसक्दासमेत संसद विघटनको विपक्षमा रहँदै पार्टीलाई देशभर परिचालन गर्ने पक्षमा छ । यही प्रयोजनका लागि पनि एमालेले विभिन्न समूहमा छरिएर रहेका नेताहरुलाई एकतामा बाँधिन आह्वान गर्दै शक्ति निर्माणको प्रयासमा छ । त्यसैक्रममा ओलीले विद्याको पनि साथ खोज्न थालेका हुन् । ओलीले पूर्वराष्ट्रपतिसमेत रहेकी विद्यालाई विगतमा पार्टीमा फर्किन अवरोध गरेपनि मुलुक राजनीतिक अस्तव्यस्तामा रहँदा उनको साथ खोज्नुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ । यही मेसोमा ओलीले विद्याको पार्टी सदस्यता नविकरण गर्नसक्ने आशंका पनि आम तहबाट आउन थालेका छन् ।
