काठमाडौं । जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी ओली अन्तरिम सरकारमाथि चर्को आक्रोश पोख्नमा तल्लीन देखिन्छन् ।
संविधानतः सरकार गठनमा प्रश्न उठेपनि जेनजी विद्रोहका कारण सिर्जित सरकार भएकाले यसलाई आवश्यकताको सिद्धान्तमा आधारित भनिएको छ । तर, विस्तारै शान्त हुन थालेको माहोलमा ओलीले आफ्नो आक्रोशलाई संविधानभित्र राख्न थालेका छन् ।
अन्तरिम सरकार गठनकाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामा छन् । अदालतले गर्ने फैसला नै अन्तिम हुने भएपनि पछिल्लो समय अन्तरिम सरकारमाथि एकपछि अर्को चुनौती दिने काम बढ्न थालेका छन् ।
जेनजी आन्दोलनपश्चात बनेको राजनीतिक माहोलकाबीच एमाले अध्यक्ष केपी ओलीले भने आक्रोश पोखिरहेका छन् । संसद पुनस्र्थापना राष्ट्रपतिले गर्नुपर्ने दाबी गर्दै ओलीले सरकार पूर्णतः असंवैधानिक रहेको भनिरहेका छन् ।
ओली दम्भिमात्रै नभई उनी माहोल निर्माणमा समेत अब्बल मानिन्छन् । कुनै बेला आइलभ यु केपी बा भन्नेहरुको घेराबन्दीबाट ओरालो राजनीतिक यात्रामा हिड्नुपर्ने बाध्यताकाबीच ओलीले अन्तरिम सरकारमाथिको भडासलाई स्थायित्व दिन खोजिरहेका छन् ।
अन्तरिम सरकारमाथि आक्रोश पोखिरहेका ओलीले तोकिएको समयमा निर्वाचन गराउनका लागि स्थिति बनाउनुपर्नेमा अहिले मन्त्री भएकाहरुमाथि समेत व्यङ्ग्य कसिरहेका छन् । वडाध्यक्ष हुन्छु भन्ने सपना नै नदेखेकाहरु मन्त्री बनेको भन्दै ओलीले क्रोध पोखिरहेका छन् ।
राजनीतिक उद्देश्यमा प्रतिबद्ध रहेको दाबी गरेका ओलीले यो सरकारले राहदानी रोक्का गर्नेदेखि अन्य विषयमा प्रतिशोध साँधेको भन्दै आफू भागेर नजाने दाबी गरे । जसमा ओलीले दार्शनिक सुकरातलाई समेत जोड्न भ्याए ।
हाहा हुहुमा सरकार बनेको आरोप लगाएका ओलीले मर्नै परे नेपालमै मर्ने जिकिर गरेका छन् । सरकारले आफूजस्तै ठानेर राहदानी रोक्काको हल्ला चलाइएको भनेका छन् ।
ओलीलाई जाँचबुझ आयोगले काठमाडौं उपत्यका छाड्न नपाइने र राहदानी रोक्काको सिफारिस गरेको थियो । यहि विषयमा ओलीले आक्रोश जनाएका छन् ।
ओलीले आफ्नो सत्ता ढालेर बनेको अन्तरिम सरकारलाई अस्वीकार गर्नेमात्रै भनिरहेका छैनन्, उनले प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा उभिन समेत अपिल गरिरहेका छन् ।
कुनैबेला आफैले विघटन गरेको संसदलाई सहि भनिरहेका ओलीले परिवर्तित स्थितिको विघटनलाई किन असंवैधानिक भनिरहेका छन् ? यो समेत विशेष प्रश्न बन्न पुगेको छ ।
संविधानतः सरकार असंवैधानिक नै भएपनि अन्तरिम सरकार निर्माण आवश्यकताको सिद्धानमा आधारित रहेकाले समेत निर्वाचनमा गएर नयाव सरकार गठनमा जोड दिनुपर्नेमा राजनीतिक तानातानले संकट र समस्या पैदा हुनसक्ने संकेतहरु समेत देखिन थालेका छन् ।
