News 24 Television
तिब्बती हिमतालहरूको जोखिममा नेपाल, रसुवागढी बाढीले पढाएको पाठ

काठमाडौँ । मंगलबार उत्तरी सीमा–नाका रसुवागढीमा आएको भीषण बाढीले नेपाललाई हिमतालजन्य विपदको जोखिमतर्फ झनै सचेत गराएको छ । पानी नपरेको बेला अचानक आएको भयावह बाढीले मानवीय र भौतिक दुवै ठूलो क्षति पुर्यायो । यो क्षति अकल्पनीय मात्र नभई नेपाललाई झस्काउने खालको छ, जुन तिब्बती क्षेत्रमा भएको हिमनदी तथा हिमताल विस्फोटनसँग सम्बन्धित देखियो । स्थानीय स्तरमा भारी वर्षा नभए पनि चीनतर्फबाट लेन्दे खोला (भोटेकोशी नदी) मा एक्कासि ठूलो बाढी आयो, जसको प्रारम्भिक अध्ययन निष्कर्ष हो– तिब्बतमा भएको हिमताल (सुप्राग्लेसियल) विस्फोट । 

स्याटलाइट तस्वीरको विश्लेषणका आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको पुष्टि भइसकेको छ । जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरुले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएकै कारण उक्त बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । जल तथा मौसम विज्ञान विभागले पनि बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रबल सम्भावना रहेको सोही दिन बताइसकेको थियो । स्वतन्त्र विज्ञहरुको अध्ययन टोलीले यसबारे थप पुष्टि गरेका हुन् । 

जलवायुविद् डा. धर्मराज उप्रेतीले स्याटलाईट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको बताए । सो क्षेत्रमा अन्य तालहरु पनि रहेकाले ती तालको परिर्वतनको अवस्थाबारे सुक्ष्म विश्लेषण समेत भइरहेको उनी बताउँछन् । हाल विस्फोट भएको हिमताल धेरै पुरानो पनि नभएको देखिएको हुनाले थप अध्ययनको खाँचो रहेको उनको भनाइ छ । 

नेपालकै उत्तरी क्षेत्र र तिब्बतमा सयौँ हिमताल विष्फोटनको जोखिममा रहेको विज्ञहरु बताउँछन् । यसका लागि निरन्तर चीनसँग सहकार्य गरेर जोखिम न्यूनीकरण गर्न सकिन्छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको क्षति न्युनिकरणका लागि चीनसँग समन्वय बढाउनु जरुरी रहेको बताएको छ । बुधवार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले चीनसँग सूचना आदानप्रदान नहुने हो भने नेपाल जतिबेला पनि दुर्घटनाको जोखिममा रहनेतर्फ सचेत गरायो । 

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विपद्बाट लड्न चीनसँग स्थायी समन्वय जारी राखिरहनु जरुरी रहेको बताएका छन् । उनले युएनडिआरआरको प्रपोजल बनाउने चरणमा आफूहरु रहेको भन्दै पूर्वसूचना प्रणाली अहिले नेपालको मात्रैले काम गरिरहेको र चीनसँग समेत सहकार्य गरेर अघि बढ्नु आवश्यक रहेको बताए । उहाँले नेपालकै पूर्वसूचना प्रणालीले मात्रै नपुगेको भन्दै अझै विस्तार गर्न जरुरी रहेको उनको भनाइ छ । 

विश्वव्यापी जलवायु परिवर्तनको असर नेपालको उच्च हिमालय क्षेत्रमा देखिएको छ । तापक्रम बढ्दै जाँदा हिमालहरू तीव्र गतिमा पग्लिरहेका छन् । यसले नयाँ हिमतालहरू बन्नुका साथै पहिलेका हिमतालहरूको आकार र पानीको मात्रा बढाइरहेको विज्ञहरु बताउँछन् । तापक्रम वृद्धिका कारण हिमनदी पग्लिएर तालमा पानीको घनत्व बढ्छ, जसले तालको किनारा (मोराइन बाँध) मा दबाब बढाउँछ र विष्फोट भएर बाढी चल्छ । नेपालका धेरै हिमतालहरू दुर्गम क्षेत्रमा रहेकाले पर्याप्त अध्ययन हुन सकेको छैन । कुन ताल कति जोखिममा छ भन्नेबारे विस्तृत जानकारीको अभावले जोखिम व्यवस्थापनमा चुनौती थपेको छ ।

हालसम्म नेपालमा २४ वटा हिमताल विष्फोटनका घटनाहरू भइसकेका छन् । यी घटनाहरूले ठूलो मात्रामा मानवीय र भौतिक क्षति पु¥याएका छन् । विभिन्न अध्ययनअनुसार नेपालमा रहेका हिमतालहरूमध्ये २१ वटा हिमताल विस्फोटनको उच्च जोखिममा छन् । तिब्बती क्षेत्रमा भएका हिमतालहरुको अवस्थाबारे नेपालमा यकीन तथ्यांक छैन । जबकि यहाँका मुख्य नदी प्रणाली तिब्बतदेखि नै बगेर आएका छन् । 

कोशी जलाधार क्षेत्र हिमताल विष्फोटनको दृष्टिकोणले सबैभन्दा संवेदनशील मानिन्छ । नेपाल, भारत र तिब्बतमा गरी पहिचान भएका ४७ वटा उच्च जोखिमयुक्त हिमतालमध्ये ४२ वटा कोशी बेसिन क्षेत्रमा छन् । च्छो रोल्पा, इम्जा र तल्लो वरुण यस क्षेत्रका प्रमुख जोखिमयुक्त हिमतालहरू हुन् । गण्डकी जलाधार क्षेत्रमा ३ वटा हिमताल उच्च जोखिमयुक्त पहिचान भएका छन् भने कर्णाली जलाधार क्षेत्रमा २ वटा हिमताल उच्च जोखिमयुक्त मानिएका छन् । जुनसुकै बेला रसुवागढीको नियति दोहारिने भएकाले चीनसँग समेत सहकार्य गरेर हिमतालजन्य विपद् न्यूनीकरणका लागि नेपालले थप प्रयासहरु गर्नु आवश्यक देखिन्छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update