
काठमाडौं । भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मुलधारका भनिएका सबै राजनीतिक दलहरु पार्टी पुनर्गठनमा लागेका छन् । तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने जेनजी आन्दोलनलाई घुसपैठ भन्दै आन्दोलनको मर्मलाई डाइभर्ट गर्ने प्रत्यत्नमा देखिन्छन् ।
मुलुकमा ब्याप्त राजनीतिक विकृतिका विरुद्धमा पोखिएको जेनजी आक्रोश राजनीतिक दलहरुलाई सच्चिने सन्देश भए पनि ओली यसलाई स्वीकार गर्न तयार देखिएका छैनन् ।
जेनजी आन्दोलनपछि सबैजसो राजनीतिक दलहरु पुनगर्ठनमा लागेका छन् । खासगरी प्रमुख ३ राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वमाथि युवाहरुले प्रश्न उठाएका छन् ।
त्यसैले आन्दोनलको मर्म अनुसार पार्टी पुनगर्ठनमा दलहरु लागि परेका छन् । माओवादी केन्द्रले केन्द्रीय समिति नै विघटन गरि पुष्पमकल दाहाल प्रचण्डलाई संयोजक तोकेको छ भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई पार्टीको कार्यबाहक सभापतिको जिम्मेवारी सुम्पिएका छन् । नेकपा एमाले पनि राष्ट्रिय महाधिवेशनमा जाने तयारीमा छ ।
पार्टीको पदाधिकारी, स्थायी समिति बैठकपछि बुधबारदेखि केन्द्रीय समिति बैठक शुरु भएको छ । तर जेनजी आन्दोलनको क्रममा सेनाको हेलिकोप्टरमा चढेर काठमाडौं उपत्यकाबाहिर मकवानपुरको सैनिक ब्यारेकमा हप्तौंसम्म सुरक्षित बसेर फर्किएका एमाले अध्यक्ष ओली भने आफ्नो कमजोरी स्वीकार गर्न तयार देखिएकै छैनन् । पार्टी भित्रैबाट पनि ओलीलाई नेतृत्व छाड्न दबाब बढेको छ ।
सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने ओली हठकै कारण जेनजी आन्दोलनका कारण लेखिटिनुपर्ने अवस्था विर्सिएका ओलीले केन्द्रीय समिति बैठकमा पनि उस्तै अभिब्यक्ति दिएका छन् ।
केपी ओलीको पुरानै हठ, फेरि आन्दोलनको आह्वान
आफूले पार्टीै नेतृत्व नछाड्ने हठ कायमै राखेका ओलीले केन्द्रीय समितिको बैठकमा पेश गरेको विशेष प्रस्तावमा पनि युवा पुस्ताको आलोचना गर्नेदेखि संसद पुनस्थापनाको माग गर्दै आन्दोलन चर्काउने उल्लेख गरेका छन् ।
‘सरकारको संरक्षणमा भइरहेको ज्यादति र उल्टो गतिको विरुद्ध एवम् विघटित संसदको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निश्कर्ष पनि हामी प्रष्ट पार्न चाहन्छौं ।
तसर्थ जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरु तय गर्दै अघि बढ्न सिङ्गो पार्टी पंक्ति, संविधान र लोकतन्त्रको पक्षधर राजनीतिक दलहरु र आम नागरिकलाई आह्वान गर्दछौं ।’ –ओलीले मुलुकको राजनीतिक परिस्थिति र हाम्रो नीति शीर्षकमा केन्द्रीय समिति बैठकमा पेश गरेको विशेष प्रस्तावमा भनेका छन् ।
पार्टी अनुशासन नमान्नेलाई कारबाही
जेनजी आन्दोलनपछिको विकसित घटनाक्रम बारेमा ल्याएको ६ पृष्ठको विशेष प्रस्तावमा उनले पार्टी भित्रै अराजक प्रवृत्ति कायमै रहेको भन्दै अनुशासनको डण्डा लगाउने चेतावनी दिएका छन् । पार्टीको सुदृढ एकताका लागि अनुशासन तोड्नेलाई तत्काल कारबाही गरिने प्रस्ताव केन्द्रीय समितिबाट पारित गरिने ओलीले उल्लेख गरेका छन् ।
‘पार्टी अनुशासन तोडेमा, अनैतिक अराजक र भ्रष्टाचारजन्य क्रियाकलाप गरेमा पार्टीको केन्द्रीय संगठन विभागले तत्काल आवश्यक कारबाही गरि केन्द्रीय सचिवालयमा जानकारी गराउने ब्यवस्था यस केन्द्रीय कमिटी बैठकबाट गरिनेछ ।’– ओलीले विशेष प्रस्तावमा भनेका छन् ।
ओलीको दृष्टीमा युवा आन्दोलन हिंसा र विध्वंश
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ को जेनजी विद्रोहलाई हिंसाकै रुपमा अथ्र्याएका छन् । युवाहरुको भविष्य लोकतन्त्र, संवैधानिक प्रणाली, शान्ति र राजनीतिक स्थायीत्वमा मात्रै सुनिश्चित हुने भन्दै उनले नव युवाहरुलाई आफूलाई कुनै पनि हिंसा र विध्वंशबाट अलग राख्न आग्रह गरेका छन् ।
उनले आफू सरकारमा रहँदा युवाकै पक्षमा काम गरेको समेत ओलीको जिकिर छ । सरकारमा रहँदा उद्यमशीलता, सीप विकास, उत्पादन र बजार श्रृंखलाको इकोसिष्टम निर्माण गर्न, स्टार्टअप लगायतका विभिन्न कदम चालिएकोदेखि डिजिटल नेपालको अवधारणा शुरु गरेर डिभिटल नेपाल फ्रेमवर्क २.० मा आइपुगेको तर्क गरेका छन् ।
भदौ २३ मा युवा विद्यार्थीहरुमाथि भएको गोली प्रहारको जिम्मा आफूले लिन अस्वीकार गरेका ओलीले आफ्नो राजनीतिक प्रस्तावमा समेत उक्त घटना सुरक्षा त्रुटी मात्रै थियो कि त्यसमा अरु पनि स्वार्थहरु अन्तरनिहित थिए ? भन्दै प्रश्न तेर्साएका छन् ।
‘कलर रिभोल्यूसन’ कै अभ्यासको निरन्तरता !
एमाले अध्यक्ष ओलीले भदौ २३ र २४ को जेनजी आन्दोलनलाई कलर रिभोल्युसनकै अभ्यासको निरन्तरता भएको बताएका छन् । ‘वास्तवमा यो घटना विभिन्न शक्ति राष्ट्रहरुले शित युद्धपछि विभिन्न मुलुकमा गर्दै आएको तथाकथित ‘कलर रिभोल्युसन’ कै निरन्तरता थियो ।’– ओलीले आफ्नो विशेष प्रस्तावमा भनेका छन् ।
जेनजी आन्दोलनमा घुसपैठ तथा भूराजनीतिक चलखेलको आशंका पनि नभएका होइनन् । यद्यपि दलहरुको सत्ता स्वार्थकै कारण मुलुकको राजनीतिक वातावरण विग्रिएको भने यथार्थ हो ।
जसलाई लयमा ल्याउनका लागि राजनीतिक दलहरु नै सच्चिएर मुलुकको हितमा काम गर्ने प्रण गर्नु जरुरी छ । विगतमा सत्ता स्वार्थको आवेगमा ओली आफैले २, २ पटक संसद विघटन गरिदिएका थिए ।
अब पनि मुलुकलाई संवैधानिक बाटोमा फर्काउनको लागि निर्वाचनको विकल्प देखिदैन । प्रतिशोधको भावनाले निर्वाचन हुन नदिने र संसद पुनस्र्थापनाको लागि सडक आन्दोलन चर्काउने ओली हठले राजनीतिक वातावरण झनै विग्रिने संकेत देखिएको छ ।