
काठमाडौं । नेकपा एमाले भित्र पार्टी अध्यक्ष केपी शर्मा ओली बलियो देखिएको भनिए पनि यो हल्लामै सिमित भएको छ । ललितपुरमा शुरु भएको पार्टीको दशौं केन्द्रीय कमिटि बैठकमा ओली निकै कमजोर देखिए ।
ओलीले बैठकमा सम्बोधन गर्दै गर्दा बैठकबाटै नेताहरु उठ्नेदेखि चिया गफ गरेर उनको सम्बोधनलाई पुरै वेवास्ता गरे । पार्टी भित्र नेतृत्व परिवर्तनको कुरा जोडतोडले उठेपछि ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव राजनीतिक प्रतिवेदनमा नै उल्लेख गरे । यसले एमाले भित्र ओली कमजोर हुँदै गएको बिश्लेषण भई रहेको छ ।
जेनजी आन्दोलन अघिसम्म एमाले भित्र अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने त परको कुरा सुझाब दिन समेत डराउनु पर्ने स्थिति थियो । एमालेको विधि विधान र पद्धति भनेकै केपी ओली थिए । सनककै भरमा एमालेमा उनले चाहेको निर्णय गर्न सक्थे । तर जेनजी आन्दोलन पछि पहिलोपटक बसेको एमालेको दशौं केन्द्रीय समिति बैठकमा भने ओली निकै कमजोर देखिए ।
उनले सम्बोधन गर्दै गर्दा नेताहरुले निकै झिँझो माने । कोही उठेर शौचालय तिर निस्किए, कोही पानी खाए निहुँमा हल बाहिर आए, ओली बोलिरहँदा कोही चियाको चुस्की लगाउँदै कुराकानीमा व्यस्त बने । होहल्ला यति धेरै भयो कि ओलीले हल्ला नगर्न निर्देशन नै दिनु प¥यो ।
ओलीले सम्बोधन लगत्तै राजनीतिक प्रतिवेदन पेश गरे । पार्टी भित्र उठेको पुर्नगठनको आवाजलाइ दबाउन उनले प्रतिवेदनमा मंसिर २७, २८ र २९ गते पोखरामा पार्टीको १० औं महाधिवेशन प्रस्ताव पेश गरे ।
बैठकमा सहभागी सदस्यका अनुसार सचिवालय सदस्यहरुलाई बैठकमा बोल्न नदिन पार्टी महासचिव शंखर पोखरेलले कार्यक्रम सञ्चालन गर्दा नै ज्ञ बाट बोल्न दिने प्रस्ताव राख्दै सचिवालका नेताहरुले कति बेला बोल्ने भन्ने बैठकमा उद्घोष गरेनन् ।
अर्थात् सकेसम्म बैठकमा उनीहरु बोल्ने कार्यसूची नै राख्न खोजिएन । तर बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल सहित मञ्चमा बसेका अधिकांश नेताहरु उठेर त्यसको प्रतिवाद गरे । त्यसपछि अन्तिममा बोल्न दिने सहमतीमा बैठक अगाडी बढेको थियो ।
पार्टी भित्र कमजोर बन्दै गएका ओलीलाई बलियो देखाउन उनी पक्षका नेताहरुले कुनै कसर बाँकी राखेका छैनन् । तर पनि अहिले ओली कमजोर बन्दै गइरहेको र नेत्तृत्व छाड्नु पर्ने दबाबमा परिरहेको बिश्लेषण पार्टी भित्रैबाट भई रहेको छ ।
जेनजी आन्दोलनका बेला मुख्य मागको रुपमा रहेको भ्रष्ट्राचारको अन्त्य, सुशासन, स्थायीत्व र नेतृत्व परिर्वतनको मुद्दा मध्ये अध्यक्ष ओलीले नेतृत्व परिर्वतनको मुद्दालाई छल्दै ध्यान अन्यत्रै मोड्न खोजिरहेका छन् । तर पार्टी भित्र अधिकांश नेताहरुले भने नेतृत्व परिर्वतनको मुद्दा उठाईरहेको देखिन्छ । ओली पक्षका नेताहरुले समेत नेत्तृत्व परिवर्तन गनुपर्ने कुरालाई नकार्न सकेनन् ।
गत भदौं २२ गते गोदावरीमा सम्पन्न भएको विधान महाधिवेशनबाट दुई कार्याकाल मात्रै अध्यक्ष हुने व्यवस्थालाई परिमार्जन गर्दै ओली पार्टी भित्र झन शक्तिशाली बनेका थिए ।
उनी निकटहरु एमालेमा ओलीको विकल्प नै नभएको हुँकार गर्थे । तर भदौ २३ र २४ भएको जेनजी आन्दोलनले माहोल यस्तो बन्यो किन पार्टी र शासनसत्तामा जरा गाडेर बसेकाहरु एकाएक ज्यान जोगाउन भाग्नु पर्ने र भूमिगत बस्नु पर्ने अवस्था आयो । ओलीलाई विदाई गर्न चाहेर पनि नसकेकाहरुलाई जेनजी आन्दोलन कुचोले बढार्नु पर्ने कसिंगर हावाले उडायोझै भएको छ । अब आगामी महाधिवेशन पछि स्वतःस्फुर्तरुपमा एमालेमा नयाँ नेतृत्वको उदय हुने र त्यो पनि तेस्रो तहको नेता हुने बिश्लेषण भइरहेको छ ।