News 24 Television
किन आरोलो लाग्दै छ बालेनको लोकप्रियता ?

काठमाडौँ । जेनजी आन्दोलनपछि देश आशा र निराशाको कोपभाजनमा छ । गत भदौ २३ र २४ गतेको उक्त आन्दोलनले पुराना दल र नेताहरू पत्तासाफ हुने स्थितिमा पुगेका छन् भने केही नयाँ नेतृत्वको उदय भएको छ । तर, यही आन्दोलनमा काठमाडौंका मेयर बालेन साह भने नायक र खलनायक दुवै रुपमा चित्रण भइरहेका छन् । 

यो आन्दोलनको केन्द्रमा रहेका बालेनले सुरुमा युवाको आवाज बनेर चम्किए, तर आन्दोलनको हिंसात्मक मोडपछि उनको मौनता र नेतृत्वविहीनताले उनको लोकप्रियता घट्दै गएको छ । जेनजी आन्दोलन चर्किएपछि भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली रजीनामा दिएर भाग्न बाध्य भए । त्यसपछि बालेनकै चाहनाअनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भयो । 

बालेनका कानुनी सल्लाहकार ओमप्रकाश अर्याल गृहमन्त्री बने । यद्यपि बालेनकै इच्छाअनुसार सरकार बने पनि आन्दोलनपछि उनको छवि धमिलिँदै गएको छ । आन्दोलनको क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जलेर ध्वस्त भयो । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत जस्ता संरचनाहरू जलेका बेला काठमाडौं महानगरपालिकाले आफ्ना दमकल परिचालन नगरेको भन्दै मेयर बालेनको आलोचना भयो । 

केहीले उनको दुई वर्षअघिको सामाजिक सञ्जाल पोस्ट ‘सिंहदरबार जलाउने चेतावनी’सँग हालको घटनालाई जोडेर व्याख्या गरेका छन् । 

दमकल नपठाएको आरोप चर्किएपछि नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले त्यसको खण्डन गरे । तर, नगर प्रहरीको स्पष्टीकरणपछि पनि विवाद नथामिएपछि करिब एक महिनापछि मेयर बालेनले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिए । उनले सामाजिक सञ्जाल लेखेका छन्– ‘‘यत्रो सिंहदरबार जल्दा काठमाडौं महानगरको दमकल कहाँ गयो ? 

तीन दिनसम्म जलेको हेरेर बस्यो ?, सिंहदरबार जलाउने नै बालेन शाह हो, यस्ता प्रश्न र आरोप केही दिनदेखि उठिरहेका छन्, कारण थियो हुलले दमकललाई काम गर्न नदिएको, जब भिड अलि शान्त हुनेबित्तिकै २४ गते साँझ ८ः१५ भित्रै काठमाडौं महानगरको दमकल त्यहाँ पुगेको थियो । सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो, न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके, यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेको थियो ।’’

धेरैले जेनजी आन्दोलन बालेनकै योजनामा भएको र त्यसले देशलाई अराजकतातर्फ धकेलेको आरोप लगाइरहेका छन् । कतिपयले त उनलाई पश्चिमी सभ्यतामा दानव मानिने लुसिफरसँग तुलना समेत गरिरहेका छन् । आलोचना चर्किँदै गएपछि बालेनले सामाजिक सञ्जालमा विकासका गतिविधि दैनिकरूपमा देखाउन थाले । पुनर्निर्माण, मिनि रंगशाला, विद्यालय, पार्क, हाई मास्ट लाइट, एम्बुलेन्स वितरण लगायतका कामहरू दिनहुँ सामाजिक सञ्जालमा पोस्ट गर्न थाले । धेरैले यो कदमलाई आलोचना रोक्ने (निञ्जा टेक्निकका रूपमा व्याख्या गरेका छन् । यता, विद्यार्थी संगठनहरूले आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका विषयमा मेयर बालेनमाथि अनुसन्धान हुनुपर्ने मागसहित उजुरी दिइरहेका छन् ।

आफूविरुद्ध एकपछि अर्को राजनीतिक दलका भातृ संगठनले प्रहरी कार्यालयमा जाहेरी दिइरहँदा पनि मौन काठमाडौँ महागरपालिकाका मेयर बालेन्द्र शाह ’बालेन’ले सोमबार राति सामाजिक सञ्जालमा एउटा कविता लेखेका छन् । ‘सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन’बाट कविता सुरु गरेका उनले छैटौँ हरफमा किसानलाई ‘फोहोरी’का रूपमा प्रस्तुत गरेपछि आलोचना भइरहेको छ । 

सामाजिक सञ्जालमा श्रमिक, किसान, मजदुरप्रति उनको धारणा पहिलेदेखि नकारात्मक छ भनेर टिप्पणी भइरहेको छ । जेनजी आन्दोलनपछि बालेनसँग सम्बन्ध बिग्रिएका धरान मेयर हर्क साम्पाङले पनि बालेनको आलोचना गरेका छन् । माटोलाई फोहर ठान्नेविरुद्ध माटोको टीका लगाएर देश बचाउन आफू आएको उनको टिप्पणी छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्– ’किसान झैँ फोहोर लेख्नुभन्दा बरू हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि ! माटोलाई फोहोर ठान्नेहरूविरुद्ध हामी आएका छौँ माटोको टीका लगाएर देश बचाउन !’

त्यस्तै अखिल नेपाल किसान महासंघले पनि बालेनले किसानलाई अपमान गरको भन्दै विरोध जनाएको छ । महासंघका अध्यक्ष डा. प्रेम दंगालले हस्ताक्षर गरिएको विज्ञप्तिमा किसान समुदायलाई अपमानित गर्ने, होच्याउने र उनीहरुको स्वाभिमानमा चोट पु¥याउने उक्त अभिव्यक्ति अत्यन्त घोर भत्र्सनीय र निन्दनीय रहेको उल्लेख छ । 

मेयर साहलाई अविलम्ब आफ्नो स्टाटस हटाएर र किसानसँग माफी नमागे विरोधका कार्यक्रमहरू गर्ने चेतावनी समेत दिएको छ । आफ्नो आलोचना बढ्दै गएपनि बालेन भने रक्षत्मक बनेका छन् । पहिलाजस्तो दल र नेताहरूमाथि खनिनेभन्दा पनि आफूलाई राम्रो देखाउने गरी महानगरले गरेका कामको प्रचार गरिरहेका छन् । छिनमै देवत्वकरण र छिनमै दानवीकरण गर्ने नेपाली समाजमा अब बालेन नायक बनेर उदाउलान् कि खलनायक बन्लान् ? त्यो भने आगामी दिनमै स्पष्ट हुनेछ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  २०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update