
काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको जगमा उभिएर सुशीला कार्की नेतृत्वको सरकार खडा भएको छ । मुख्यतः पुराना दल र तिनका कार्यशैलीमाथि प्रश्न उठाउँदै तत्कालीन सत्ता र संसद नै भत्काएर जेन–जीको माग अनुसार नै सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार बनेको हो । पुरानालाई सबक सिकाउँदै नयाँ र युवा नेतृत्वको प्रतिनिधित्व अपेक्षा गरिएको अन्तरिम सरकार बनेको पनि एक महिना नाघिसक्यो । तर मुलुको वेथिति, भ्रष्टाचार, अनियमितता र ढिलासुस्तीका समस्या हल गर्ने आधार निर्माण गर्ने अपेक्षा गरिएको यो सरकार अझै अपूर्ण बनेको छ । जसले सरकारको कामकारवाही तथा छरित्तोपनामा प्रश्न उठेका छन् । तर पनि प्रधानमन्त्री सुशीला कार्की भने अझै मन्त्रिमण्डल विस्तारको प्रश्नमा अन्योलतासँगै आक्रोश पनि दर्शाइरहेकी छन् ।
प्रधानमन्त्री कार्कीले सुरुमै मन्त्रिमण्डाल बढीमा ११ सदस्सीयसम्म बनाउने भनेर घोषणा गरेकी थिइन् । उनले सो घोषणा गरेको समय पनि करिब महिना नाघेको छ । तर उनले भनेझै अझै मन्त्रिमण्डल गठन हुन सकेको छैन । कार्कीले भदौ ३० गते पहिलो पटक र असोज ६ गते दोस्रो पटक मन्त्रिमण्डल विस्तार गरेर ८ सदस्सीय बनाएका थिइन् । तर यसपछि भने उनले मन्त्री थप्न सकेकी छैनन् । खासगरी प्रधानमन्त्री कार्कीले अबको नयाँ मन्त्रीहरु जेनजी पुस्ताबाट समेट्ने प्रयास गरेकी छन् । उनले युवा पुस्ताको माग र भावना अनुसार नै चल्ने प्रतिबद्धता गरिसकेकी छन् ।
कार्की नेतृत्वको सरकारलाई सुशासन स्थापना र युवा भावना समेट्नु मात्रै छैन । उनी नेतृत्वको सरकारले आगामी फागुन २१ मा निर्धारण गरिएको आम निर्वाचनपनि गराउनु छ । तर यतिका समयसम्म सरकार संचालनका लागि आफ्नो टिम निर्माण गर्न नै नसक्दा सुशीलामाथि प्रश्न खडा भएका छन् । किनकी जेनजी आन्दोलनको मुख्य माग सुशासन र भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा दण्डहीनता स्थापित गर्नु हो । तर राज्य संचालनका लागि आवश्यक मन्त्रिमण्डल नै लामो समयसम्म अपुरो रहे कसरी नियमित कार्य संचालन गर्ने ? भन्ने प्रश्न उनीमाथि छ ।
जेनजीबाटै सुशीलालाई बाधा
प्रधानमन्त्री सुशीला कार्कीले तेस्रो पटक मन्त्रिमण्डल विस्तार गरेर सरकारलाई पूर्णता दिन नखोजेकी होइनन् । तर उनी जेनजीकै असहमति र विरोधका कारण तेस्रो पटकको मन्त्रिमण्डल विस्तारको योजनाबाट व्याक बन्नु परेको थियो । उनले गत सोमबारसम्ममा थप मन्त्रीहरुको सपथ गर्ने योजना बनाएनि एकलौटी तवरले मन्त्री सिफारिस गरिएको भनेर जेनजी समूहबाटै विरोध भयो । अन्य जेनजी समूहको विरोधका कारण नै राष्टपतिसहितको बैठकसमेत विथोलिएको थियो ।
तर अब भने चाँडै मन्त्रिमण्डल विस्तार हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री कार्कीले यसअघि मन्त्रिमण्डल विस्तार तयारीका लागि गरेको छलफल विफल भएपनि बिहीबार रातिको बैठक भने सकारात्मक भएको थियो । प्रधानमन्त्री तथा राष्टपतिसहितको उक्त बैठक सकारात्मक भएको जेनजी प्रतिनिधहरुले नै प्रतिकृया दिएका छन् ।
सुशीलाले जेनजी प्रतिनिधिहरुबाटै मन्त्रिमण्डल विस्तार गर्ने योजना बनाएपनि यसमा विभिन्न समूहबाट विरोध हुँदा सृजिएको समस्या वार्ता र सहमतिपछि समाधान हुने भएपछि अब चाँडै मन्त्रिमण्डलले पूर्णता पाउने अनुमान गर्न सकिन्छ ।