
काठमाडौं । बुधबारदेखि सुरु भएको नेकपा एमालेको १० औं केन्द्रिय कमिटि बैठकको दोस्रो दिन पनि केन्द्रिय सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीले मार्ग प्रस्तत गर्नु पर्ने र पार्टी पुर्नगठन हुनु पर्ने आवाज उठाई रहेका छन् ।
जेनजी आन्दोलनले उठाएको नेतृत्व परिर्वतनको मुद्दाका बिषयमा एमालेले के गर्छ भनेर सिङ्गो मुलुकले नै केन्द्रिय कमिटि बैठकतर्फ नजर लगाइरहेको बताउँदै नेतृत्व परिर्वतन सहित पार्टी पुर्नगठन हुनु पर्ने धेरै केन्द्रीय सदस्यहरुको माग छ । बिगतमा केपी ओलीको आलोचना त के सुझाब समेत दिन डर मान्ने नेताहरुले नै एकपछि अर्काे गर्दै अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न दबाब दिइरहेका छन् ।
नेकपा एमालेको केन्द्रीय कमिटिको बैठकको दोस्रो दिन पनि नेताहरुले नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको मुद्धा चर्काे स्वरमा उठाई रहेका छन् । युवा नेताहरु नविना लामा, रचना खड्का, विद्या भट्टराई, गणेशलाल साह, जमिन्द्रमान घले, सुरेन्द्र मानन्धर, नरेन्द्र श्रेष्ठ, मनोजजंग थापा, बिनाकुमारी गुरुङ, गणेश खनाल लगाएतका कैयौ नेताहरुले बैठकको दोस्रो दिन आफ्नो भनाइ राख्ने क्रममा नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको मुद्दालाई चर्काे स्वरमा उठाए ।
बिगतमा ओली पक्षमा लाग्ने र ओलीकै बचाउ गर्ने कतिपय नेताहरुले समेत ओलीले अभिभावकीय भुमिकामा रहँदै मार्गप्रशस्त गर्नु पर्ने भनिरहेका छन् । यसले पार्टी भित्र नै अध्यक्ष ओली कमजोर बन्दै गैरहेको र आगामी महाधिवेशन पछि एमालेले नयाँ नेतृत्व पाउने सम्भावना बलियो बन्दै संकेत गरेको छ ।
बैठकमा पदाधिकारीहरुले आफ्नो धारणा राखेका छैनन् । बैठक भन्दा अगाडी नै अध्यक्ष ओलीको राजीनामा माग्ने काम पदाधीकारीबाटै भएको र भबिष्यमा पदाधिकारीको समेत राजीनामा माग्ने स्थिती आउन सक्ने एमाले केन्द्रीय सदस्य महेश बर्तौला बताउँछन् ।
सचिवालयको बैठकमा ओलि अल्पमतमा परेका थिए । उनलाई सचिवालयका बहुमत सदस्यहरुले मार्गप्रस्तत गर्न सुझाएका थिए । तर ओलिले सचिवालयका नेताहरुसंग आफुले केन्द्रिय कमिटिको बैठक सामना गर्ने भनेका थिए ।
केन्द्रिय कमिटिमा अध्यक्ष ओलिको बहुमत रहेको बताइन्छ । विगतमा केन्द्रिय कमिटि बैठकमा नेताहरुको सात्तो खाने ओलिलाई अहिले सदस्यहरुले सातो मात्रै खाइरहेका छैनन्, उनलाई पुरै वेवास्था पनि गरिरहेका छन् । उनीहरुले नेतृत्व परिर्वतन र पार्टी पुर्नगठनको आवाज चर्काे स्वरमा उठाएपछि ओलि पक्षका नेताहरुले ओलिको बचाउ गर्दै नेतृत्वमाथि प्रश्न उठाउनेहरु माथि कार्वाही गर्नु पर्ने भन्दैछन् । तर कारबाहीको धम्कीबाट नेताहरु तर्सिएका छैनन् भने नेतृत्व परिर्वतनको मुद्दालाई पनि जोडतोडले उठाइरहेका छन् ।
११ औं महाधिवेशनमा आफुसँग प्रतिस्पर्धा गर्ने ठानेकै कारण अध्यक्ष ओलिले विद्या भण्डारीको पार्टी सदस्यता नविकरणलाई विधान महाधिवेशनबाट रोकेका थिए । तर बैठकमा नेकपा एसका नेताहरुलाई पार्टीमा आउ भन्दै अपिल गर्नुको साटो भण्डारीको पार्टी सदस्यता नविकरण गर्न नेताहरुले ओलीलाई सुझाव दिएका छन् ।
बोल्न त केही नेताहरुले ओलीको बचाउमा समेत बोलेका छन् । विगतमा ओलिका आलोचकहरु माथि जाइलाग्ने उनीहरु अहिले रक्षात्मक बनेका छन् भने उनीहरुको आवाज पनि मधुरो बनिरहेको छ । यी सबै परिदृश्य हेर्दा आगामी मंसिरमा तोकिएको महाधिवेशन पछि एमालेको अध्यक्षमा केपी ओलीकै निरन्तरता हुन सक्ने सम्भावना निकै कमजोर देखिन्छ ।