
काठमाडौं । अति सीमान्तकृत आदिवासी समुदायकी सविना प्रजा अहिले सबैको प्रेरणा बनेकी छन् । चेपाङ समुदायबाट पहिलो पटक एसईईमा ४.० जीपीए ल्याउने उनले आफू मात्र होइन आफ्नो समुदायको सपना पनि अगाडि बढाएकी छन् । कहिले जंगल पार गरेर विद्यालय जाने सविना आज काठमाडौंमा सफ्टवेयर इन्जिनियर बन्ने तयारीमा छिन् ।
उनी हुन् धादिङ गजुरी गाउँपालिका–१ निवासी केउरिनी घर भएकी, सविना प्रजा । सविनाको नाम अहिले सामाजिक सञ्जालदेखि शैक्षिक वृत्तसम्म चर्चा र प्रेरणाको शिखरमा छ । कारण, उनी चेपाङ समुदायबाट एसईईमा चार जीपीए ल्याउने पहिलो छात्रा बनिन् ।
गाउँदेखि काठमाडौंसम्मको यात्रा
सन्तबहादुर र ज्ञानुमाया प्रजाको घरमा जन्मिएकी सविना माइली छोरी हुन् । तर उनी साधारण छोरी भने थिइनन् । उनी सानैदेखि किताबप्रेमी थिइन् । तर, पढ्न भने त्यति सजिलो थिएन । विद्यालय एक घण्टा पैदल हिँड्नुपर्ने दूरीमा थियो । आर्थिक अवस्था पनि कमजोर । गाउँका धेरैजसो बालबालिकाले विद्यालय टाढा भएकै कारण पढाइबीचमै छाडे तर सविनाको आँट बेग्लै थियो ।
यसैबीच, काठमाडौंमा घरेलु काम गर्दै बसेकी सविनाकी फुपू गीता प्रजाले सविनाको लगन देखिन् र उनलाई काठमाडौं ल्याउने निर्णय गरिन् । जब कक्षा २ को परीक्षामा पहिलो आएर उनले आफ्नो क्षमता देखाइन्, घरधनीको सहमतिसहित उनी काठमाडौं झरिन् । त्यसयता उनको शैक्षिक यात्रा रोकिने कुरै थिएन । कक्षाको पहिलो स्थान उनका लागि सामान्य कुराजस्तै भयो ।
सविनाको शैक्षिक यात्रा अहिले नयाँ मोडमा पुगेको छ । एसईईपछि उनी पिनाकल एकेडेमीमा भर्ना भएकी छन् जहाँ उनलाई कक्षा ११ देखि स्नातक तहसम्म कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिइने घोषणा भएको छ ।
संस्थाले सामाजिक रूपले पछाडि पारिएका समुदायका प्रतिभाहरूलाई अघि ल्याउने उदेश्यले यो छात्रवृत्ति कार्यक्रम अघि सारेको हो । सविनाको रुचि सफ्टवेयर डेभलपमेन्टमा छ । कोड लेख्ने, सिस्टम बनाउने र प्रविधिमा काम गर्ने सविनाको होस्टेमा पिनाकल हैंसे बनेको छ ।
छोरीको प्रगतिमा सविनाका बुबा सन्तबहादुर प्रजा हर्षित छन् र उनलाई अझै सफल भएको देख्न चाहन्छन् । जन्मघर छाडेर पाण्डेको घरमा बस्न थालेकी सविनाले त्यहाँ सहयोगी वातावरण पाइन् । काठमाडौँलगायत सहरी क्षेत्रहरूका सामुदायिक विद्यालयहरूमा थुप्रै विद्यार्थी अरूको घरमा बसेर पढिरहेका छन् । कतिपय त बस्न नसकेर घर नै फर्कन्छन् भने कतिपयले पढाइका लागि समय नै पाउँदैनन् । तर, पाण्डे परिवारले सविनाको पढ्ने चाहनामा कहिल्यै रोक लगाएका छैनन् ।
आफ्नो घरबाट टाढा हुर्किएकी र परिवारको आर्थिक अवस्था बुझेकी सविनाको सपना नेपालमै बस्ने, यहीँ काम गर्ने, भाइलाई पढाउने, समुदायलाई शिक्षित गर्ने र परिवारलाई आर्थिक रूपमा सम्पन्न गराउने रहेको छ ।
सपना देख्न उमेर, जात, वर्ग, ठाउँ केहीले छेक्दैन भन्ने प्रमाण हुन् सविना प्रजा । संघर्षका बिच पनि सम्भावनाको झिल्को खोज्नेहरूका लागि उनी जीउँदो प्रेरणा बनेकी छन् । चेपाङ समुदायको चुलोबाट सुरु भएको यो शैक्षिक यात्राले अब हजारौं आँखामा नयाँ सपना रोप्ने निश्चित छ ।