
काठमाडौं । परम्परागत शिक्षाको ढर्राबाट बाहिरिँदै ललितपुरस्थित काठमाडौं मोडल कलेज ‘केएमसी’ले कानूनी शिक्षामा व्यवहारिकताको नयाँ ढोका खोलेको छ । आफ्नै मुटकोर्टमार्फत विद्यार्थीहरूले अब अदालतजस्तै वातावरणमा मुद्दा दायर गर्ने, बहस प्रस्तुत गर्ने र कानूनी रणनीति विकास गर्ने अवसर पाइरहेका छन् ।
परम्परागत रूपमा विज्ञान, व्यवस्थापन र मानविकीलाई माध्यमिक तहका तीन मूल संकाय मानिँदै आएको छ । तर प्रविधिको तीव्र विकास र विश्वव्यापी प्रतिस्पर्धाले शिक्षाको दायरा र धारणा परिवर्तन गरिरहेको छ ।
अब शिक्षा केवल ज्ञानको भण्डार मात्रै होइन जीवनोपयोगी सीपको माध्यम बन्न थालेको छ । त्यसैले व्यवहारिक शिक्षाको माग झनै तीव्र भएको छ । यसै सन्दर्भमा ललितपुरस्थित काठमाडौं मोडल कलेज ‘केएमसी’ले कानुनी शिक्षामा आफ्नै मुटकोर्ट स्थापना गरेर अभूतपूर्व र व्यवहारमुखी अभ्यास सुरु गरेको छ ।
अब कानुन पढ्ने विद्यार्थीहरू केवल पुस्तक पढेर वा परीक्षा दिएर वकिल बन्ने छैनन् । केएमसीले उनीहरूलाई अदालतजस्तो वातावरणमा आफैं मुद्दा दायर गर्ने, बहस प्रस्तुत गर्ने र न्यायाधीशसमक्ष कानुनी व्याख्या गर्ने अभ्यास गराउँदै आएको छ । यो मुटकोर्टमा संवैधानिक, आपराधिक र नागरिक विषयमा बहस गरिन्छ । विद्यार्थीहरूले प्रत्यक्ष रूपमा कानुनी प्रक्रिया सिक्न पाउँछन् ।
प्रतियोगितात्मक मुटकोर्टमा विद्यार्थीहरूले न्यायाधीशको भूमिका समेत निर्वाह गर्दै निष्पक्ष निर्णय क्षमताको विकास गरिरहेका छन् । यो अभ्यासले उनीहरूलाई कानुनी विवेक, तर्कशक्ति र नैतिकताको सम्मिलनसहितको सशक्त कानून व्यवसायी बनाउने विश्वास लिइएको छ ।
व्यवहारिक शिक्षामा जोड दिएको केएमसीको मुटकोर्ट अभ्यासले नेपाली कानुनी शिक्षामा नवीनता र गुणस्तरको सन्देश दिएको छ । विद्यार्थीहरू केवल किताब पढेर वकिल बन्ने होइन अदालतमा प्रस्तुत हुन तयार व्यवसायी बन्न थालेका छन् । यस्तो अभ्यासले केएमसीलाई मात्र नभई समग्र कानुनी शिक्षालाई नै नयाँ दिशा दिने विश्वास गरिएको छ ।