
कास्की । पोखरामा पहिलो पटक आयोजना भएको आरयु फेष्ट २०२५ सम्पन्न भएको छ । ‘फोहोरलाई खजना’ बनाउने मूल मन्त्रसहित सुरु गरिएको यो महोत्सवले रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जनाको नयाँ यात्रा शुरू गरेको छ ।
पोखरामा पहिलो पटक आयोजना भएको आरयु फेष्ट २०२५ सम्पन्न भएको छ । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत आरयु फेष्ट २०२५ भएको हो ।
फोहोरलाई खजना अर्थात मोहोर बनाउने मूल मन्त्र सहित यो फेस्टिभल आयोजनासँगै परियोजना पनि शुरु गरिएको हो ।
परियोजनाले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माणमा सघाउ पु¥याउने विश्वास लिइएको छ । विश्व बजारमा हरित रोजगारी सिर्जना निकै महत्वपूर्ण र वातावरण तथा पर्यावरणीय दृष्टिले निकै अर्थपूर्ण हुने कोइकाका कन्ट्री डिरेक्टर मोहेओन कोङले बताए । पोखरामा सञ्चालित परियोजना मार्फत हजारौँ रोजगारी सृजना हुने कोइका एक बलियो साझेदारका रूपमा पोखराको साथमा उभिएको उनी बताउँछन् ।
फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता लगायतका विषयहरू माथि चर्चा परिचर्चा गरिएको थियो ।
प्रयोगहीन सामाग्रीहरूलाई रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना गर्दै चक्रीय अर्थतन्त्रको निर्माणमा यस परियोजना महत्वपूर्ण सिकाइ बन्ने विश्वास लिइएको छ । हाल समग्र पर्यावरण बिग्रिरहेको अवस्थामा सबै सचेत हुन जरुरी रहेको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको भनाइ छ ।
हाल रिसाइक्लिङ र अपसाइक्लिङमार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइरहेको छ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य समेत राखिएको छ ।