जोमसोम । संघीय संसद्को पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चीनसँगको उत्तरी सीमा जोड्ने मुस्ताङस्थित कोरला नाकामा आवश्यक पूर्वाधार निर्माण गरी छिट्टै सञ्चालनमा ल्याउने बताएका छन्। नाकाको स्थलगत अनुगमनका क्रममा मुस्ताङ पुगेका सभापति गजुरेलले कोरला नाकालाई व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन सरकार गम्भीरतापूर्वक अघि बढ्ने बताएका हुन्।
गजुरेलले आफू राजनीतिमा प्रवेश गर्नुअघि बन्दरगाह हेर्ने संस्थाको प्रमुखका रूपमा काम गरिसकेको उल्लेख गर्दै नाका तथा सुख्खा बन्दरगाह सञ्चालनसम्बन्धी विषयमा आफू जानकार रहेको बताए। नेपाल र चीनबीच मुख्यतः तातोपानी, रसुवा र कोरला नाकाबाट व्यापारिक कारोबार हुने गरेको बताउँदै उनले रसुवा नाका बाढीका कारण प्रभावित भएपछि कोरला नाकाको पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औँल्याए।
उनका अनुसार तातोपानी र रसुवामा रहेका सुख्खा बन्दरगाह चीन सरकारकै सहयोगमा निर्माण भएका हुन्। रसुवास्थित बन्दरगाह बाढीका कारण क्षतिग्रस्त भए पनि तातोपानी नाका भने सञ्चालनमै रहेको उनले बताए।
निर्वाचनअघि नै कोरला नाकामा आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरी वातावरणीय प्रभाव मूल्याङ्कनलगायतका प्रक्रिया अघि बढाउन खोजेको गजुरेलले जानकारी दिए। सोही क्रममा चीन सरकारले तातोपानी र रसुवामा जस्तै कोरला नाकामा समेत पूर्वाधार निर्माण गरिदिने इच्छा व्यक्त गरेपछि डीपीआर अध्ययनका लागि चीन सरकारलाई उपलब्ध गराइएको उनको भनाइ छ।
निर्वाचनपछि यस विषयमा के–कति प्रगति भएको छ भन्नेबारे काठमाडौं फर्किएलगत्तै पूर्वाधार विकास समितिको बैठकमा छलफल गरिने उनले बताए। चीन सरकारले परियोजना निर्माण गर्ने भए प्रक्रिया छिटो टुङ्ग्याएर काम अघि बढाउनुपर्ने र नेपाल सरकारले नै निर्माण गर्ने भए पनि ढिलाइ नगरी अगाडि बढ्नुपर्ने उनको भनाइ छ। यस विषयमा सम्बन्धित मन्त्रालयसँग समेत छलफल गर्ने उनले बताए।
कोरला नाकामा सुख्खा बन्दरगाह निर्माणसँगै नाकासम्म पुग्ने सडकको स्तरोन्नति र निर्माणलाई पनि सरकारले प्राथमिकताका साथ अघि बढाउनुपर्ने गजुरेलले बताए। स्रोत अभावका कारण सडक निर्माण रोकिने अवस्था आउन नदिने उल्लेख गर्दै आवश्यक बजेटको सुनिश्चितता गरेर भए पनि आयोजना अघि बढाइने उनले प्रतिबद्धता जनाए।
यसैबीच, गजुरेलसँगै सडक अनुगमनमा पुगेका कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बेनीदेखि कोरलासम्म सडक निर्माणलाई तीव्रता दिन काम अघि बढाइएको जानकारी दिए। लामो समयसम्म काम गर्न नसकेका निर्माण कम्पनीसँगका ठेक्का सम्झौता रद्द गरी आयोजनालाई ११ वटा प्याकेजमा विभाजन गरेर नयाँ ठेक्का आह्वान गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए।
काम गर्न नसक्ने दुई निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरिसकेको जानकारी दिँदै शर्माले बाँकी सडक खण्डमा समेत निर्माण कार्यलाई गति दिने गरी आयोजना अघि बढाइएको बताए।
बेनी–जोमसोम सडकखण्डमा विशेषगरी गलेश्वरदेखि रुप्से छहरासम्मको क्षेत्रमा कमजोर भूबनोट, कालीगण्डकी नदीको कटान र पहिरोका कारण सडक निर्माण तथा स्तरोन्नतिमा बढी समस्या देखिएको उनले बताए।
त्यसैगरी, सडक बोर्डका कार्यकारी सदस्य अरुणकुमार श्रेष्ठले कोरला नाकामा जसरी पनि आवश्यक पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिए। मुलुककै गौरवको आयोजनाका रूपमा रहेको कोरला सडक आयोजनालाई पूर्णता दिन सरकार तथा सम्बन्धित निकाय गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ थियो। सडक निर्माणमा सहजीकरण गर्नुपर्ने अवस्था आए सडक बोर्डका तर्फबाट सक्रिय रूपमा खटिन आफूहरू तयार रहेको उनले बताए। पूर्वाधार विकास समितिका सभापति गजुरेलसहित स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूले कोरला नाकासम्म पुग्ने सडकको संयुक्त रूपमा स्थलगत अनुगमनसमेत गरेका थिए।


