News 24 Television
जिसि इन्टरनेसनलको हिसाबकिताब नबुझाई बाहिरिएकी काउन्सिलर केसी, अन्य म्यानपावरसँग डिल गरेको आरोप

काठमाडौँ । जिसि इन्टरनेसनल म्यानपावर प्रालिमा काउन्सिलरका रूपमा कार्यरत कविता केसी लाखौँ रुपैयाँको आर्थिक हिसाबकिताब संस्थालाई नबुझाई बाहिरिएको गम्भीर आरोप लागेको छ। संस्थाबाट अलग भइसकेपछि पनि उनले जिसि इन्टरनेसनलकै आधिकारिक कागजात र परिचय प्रयोग गरेर अन्य म्यानपावर कम्पनीहरूसँग कारोबार तथा डिल गरिरहेको विषय बाहिर आएको छ।

जिसि म्यानपावरमा आफ्ना कागजात तथा राहदानी बुझाएका एक पीडित कामदारले केसीले साइप्रस पठाउने बाहानामा ३ लाख ५० हजार रुपैयाँ मागेपछि शंका उत्पन्न भएको बताएका छन्। यस विषयमा पीडितले जिसि म्यानपावरमा बुझ्दा उनीहरूले पनि कविता केसीले संस्थाको हिसाबकिताब नबुझाई बाहिरिएको पुष्टि गरेका छन्।

संस्थाबाट बाहिरिएपछि पनि केसीले पुराना कागजातहरू दुरुपयोग गर्दै अन्य म्यानपावरहरूसँग कारोबार अघि बढाइरहेको गुनासो आएको छ। यस सम्बन्धमा जिसि म्यानपावरले उनीसँग सम्पर्क गर्ने प्रयास गरे पनि उनले बेवास्ता गर्दै आएको र हाल संस्था यस विषयमा आन्तरिक छलफलमा रहेको जनाएको छ।

संस्थाको आधिकारिक अनुमति र सहमतिबिना पुराना कागजात प्रयोग गरी अन्यत्र व्यावसायिक डिल गर्नुले वैदेशिक रोजगार व्यवसायको गोपनीयता, सुरक्षा र वैधतामाथि ठूलो प्रश्नचिह्न खडा गरेको छ। कर्मचारी संस्थाबाट अलग भएपछि पनि यसरी व्यावसायिक कागजात र परिचयको दुरुपयोग गर्नु वैदेशिक रोजगार कानुन र व्यावसायिक आचरणविपरीत रहेको सरोकारवालाहरूको भनाइ छ।

यस संवेदनशील विषयमा जिसि इन्टरनेसनल म्यानपावरले आर्थिक अभिलेख, कारोबार विवरण र कागजातको प्रयोगबारे निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ। वैदेशिक रोजगार क्षेत्रमा व्यक्तिगत स्वार्थका लागि संस्थागत कागजात दुरुपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सम्बन्धित नियामक निकायले समेत सत्यतथ्य परीक्षण गरी आवश्यक कारबाही अघि बढाउनुपर्नेमा जोड दिइएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  १७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update