कविता : सिंहदरबारको आत्मालाप

एउटा सूर्य,
जसले मलाई आफ्नै उज्यालो बेच्यो र गयो
एउटा सिपाही,
जसले मलाई आफ्नै हतियार बेच्यो र गयो
अनि एउटा मान्छे,
जसले मलाई आफ्नै स्वतन्त्रता बेच्यो र गयो
अन्तिममा उभिएको थियो लुसिफर
जसले मलाई आगो बेच्यो र गयो ।
म त्यही हुँ
जो सूर्यको उज्यालो,
सिपाहीको हतियार
र, मान्छेको स्वतन्त्रता बोकेर उभिरहेको छु
शासकविहीन राज्यमा
जहाँ आफ्नै शासकीय हक दाबी गर्ने
कुनै शासक छैन
शासक खोजिरहेको म
भोको कुखुराजस्तो खोस्रिरहेछु आफ्नै रछ्यान ।
त्यो मूर्ख सूर्य
जो उदाउनुपर्ने ठाउँमा उदाएन
तर अस्ताउनुपर्ने ठाउँमा उदायो ।
त्यो सिपाही,
चुक्चुकाइरहनेछ निर्वस्त्र इतिहासको गर्तमुनि
वर्तमान ऊ पङ्गु बन्यो
जसले आफैँलाई बेच्यो
सिपाहीसँगै बडेमानको कचौरा बोकेर
पछुताउने छ मानिस
स्वतन्त्रताको बिलो चप्किने आसमा ।
प्रकाशित मिति: बुधबार, असोज २९, २०८२ १८:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय