News 24 Television
वालेन्द्रप्रति प्रचण्ड आक्रामक, ओली रिझाउन कि सरकारलाई बाटो देखाउन ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले वालेन्द्र शाहप्रति आक्रोश व्यक्त गरेका छन्। सरकारले ल्याएको सय बुँदेमा समर्थन गरेपनि पछिल्ला कामले चित्त बुझाउन सकिने स्थिति नरहेको भन्दै प्रचण्डले सरकारप्रति आक्रोश पोखेका हुन् । 

नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड कुनै बेला वालेन्द्र शाह, हर्क साम्पाङ र गोपी हमाललाई गणतन्त्रको सुन्दर फुल भन्ने गर्थे। यतिमात्रै होइन, प्रचण्डले संसदको बजेट अधिवेशनको सम्बोधनको क्रममा समेत राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावमा प्राप्त गरेको जित आफुले प्राप्त गरेजस्तै भएको भन्दै अहिलेको प्रणाली, व्यवस्था ल्याउन खेलेको भूमिकाबारे स्मरण गरेका थिए।

प्रचण्डले परिवर्तन र चुनावी परिणामप्रति बेला–बेलामा शंका भने व्यक्त गर्दै आएका छन्। यस्तोमा सुर्खेत पुगेका प्रचण्डले भने प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय चालेका कदमले राष्ट्र निर्माण हुन नसक्ने भन्दै आक्रोश पोखे ।

गणतन्त्रका सुन्दर फूल भन्दै सदासयता देखाउने गरेका प्रचण्ड निर्मम पेश हुन थालेका छन्। पछिल्लो समय उनको पार्टीमा विरोध र नेतृत्वबाट हट्नुपर्ने दबाब बढ्दो छ भने प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसंगको विषय पनि चलिरहेको छ। ओलीलाई पनि एमालेमा चलिरहेको घेराबन्दी तोड्न केहि उपाय लगाउनुपर्ने बाध्यता छ भने प्रचण्डलाई पनि यस्तो देखिन थालेको छ। जसकारण प्रचण्डले सरकारप्रति आक्रामकता देखाउन थालेका त हैनन? शंका देखिन्छ।

प्रचण्डले पार्टी एकता, सहकार्य र समन्वय गर्ने र यो सम्भावना बढि एमालेसंगै रहेको भन्नु र उनीहरुबीच समान दबाब आउनुले पनि शंका देखाएको छ। तर, प्रचण्ड अत्यन्तै निर्मम र अत्यन्तै कोमल हुन सक्ने नेता भएकाले उनले सरकारविरुद्ध बोलेको आवाज पछिल्लो समय देखिएको सरकारको निर्णय क्षमतामाथि पनि हुनसक्ने कतिपयले दाबी गरिरहेका छन्।

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update