News 24 Television
बालेनविरुद्ध मोर्चाबन्दीमा मुख्य ३ दल, आफ्नै पारामा हर्क !

काठमाडौँ । सरकारको कार्यशैली अलोकतान्त्रिक  र सर्वासत्तावादी भएको भन्दै प्रतिपक्षी दलहरु असन्तुष्ट छन् । सुकुम्बासी बस्तीमा चलाइएको डोजर, अध्यादेश जारी, प्रधानन्यायाधीश नियुक्ति प्रकृयामा विधि मिचिएको तथा प्रधानमन्त्रीले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा संसदमा उपस्थिति नजनाएको भन्दै प्रतिपक्षी रुष्ट छन् । यस्तैमा सरकारले थप निरंकुश शैली देखाउने भन्दै प्रतिपक्षीहरु घोषित–अघोषित मोर्चाबन्दीमा लागेका छन् । मुख्यतः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको कार्यशैलीप्रति अग्र मोर्चामा रहेर विरोध जनाइरहेको छ । उसले संसदमा मात्रै नभइ, बाहिरी संसद बाहिरसमेत सरकारकाको खुलेर आलोचना गर्न थालेको छ । 

काँग्रेसको यही लयमा अन्य विपक्षी दलहरुपनि सामेल छन् । मुख्यतः विपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल पनि सरकारको शैलीप्रति कठोर आलोचनमा उत्रिने गरेका छन् । उनले संसदमा पटक पटक रास्वपा सरकारलाई अवैधानिक भन्न भ्याएका छन् । यतिमात्रै नभइ, उनले नेपाली सेना तथा अन्य गैरसरकारी संस्थाहरुलाई समेत एमालेविरुद्ध लागेको गम्भीर आरोप लगाउँदै आएका छन् । उनि पछिल्लो समय एमाले र पार्टी नेतृत्वविरुद्ध राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको व्याख्या गर्न थालेका छन् । 

बादलले मात्रै होइन, नेकपा एमालेले नै अब सरकारको कार्यशैली र अधिनायकवादी चरित्रविरुद्ध विरोधमा उत्रन निर्देशन दिन थालेको छ । हालको सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सन्तुलन नै खलबल्याएको समग्र एमालेको दावी छ । 

उता विगतमा नयाँ दल र वर्तमान सरकारप्रति नम्र प्रस्तुत हुने नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड पनि अहिले आएर निर्मम बन्न थालेका छन् । वाम एकताको चर्चा चलिरहँदा ओलीसँग नजिकिएका प्रचण्ड सदन र सदन बाहिरबाटै सरकारको विरोधमा उत्रिएका छन् । नयाँ संसदमा पहिलो पटक बोलेका प्रचण्ड सम्बोधनको सुरुमा सन्तुलित सुनिए पनि अन्त्यतिर आक्रामक र आलोचनापूर्ण भाषामा प्रस्तुत भएका थिए । यसको केही दिनमै सुर्खेत पुगेका प्रचण्डले प्रधानमन्त्री बालेनको नियत ठिक नभएको टिप्पणी गरे । 

यसरी हेर्दा वर्तमान सरकारप्रति मुख्यतः विपक्षी दलहरुको धारणा समान नै देखिन्छ । उनलीहरु वर्तमान सरकारप्रति उही मुद्धा बोकेर घोषित अघोषित रुपमा मोर्चाबन्दी गर्ने तयारीमा देखिन्छन् । खासगरी नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा सरकारको कार्यशैलीलाई अधिनायकवादी, अलोकतान्त्रिक र सर्वसत्तावादी ट्याग लगाइरहेका छन् । 

राप्रपा र श्रमसंस्कृति पार्टीको आ–आफ्नै पारा 

प्रतिपक्षी दल राप्रपा सरकारको विरोधमा रहेपनि उसले प्रधानमन्त्री बालेन शाहप्रति नम्रता प्रटक गर्दै आएको छ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको राजीनामा माग गर्दा राप्रपा भने अहिले नै त्यस्ता माग राख्न उचित नहुने भन्दै बालेनको बचाउमा लागेको छ । तर उता हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी भने संसदमा अझै आक्रामक भएर प्रस्तुत भइरहेको छ । हर्कले यसअघि पटक पटक प्रधानमन्त्री बालेन शाहको राजीनामा मागे । तर सोमबारको संसद बैठकमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर श्रम संस्कृति पार्टीले पर्चा लिएरै विरोध ग¥यो । जुन पर्चामा उक्त हर्कतकाविरुद्ध सभामुखले संसदमा आदेश नै जारी गर्नु प¥यो । 

विपक्षी दलहरु मुख्यतः नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा सरकारविरुद्ध मोर्चाबन्दी गरेर अघि बढ्ने रणनीतिमा रहँदा राप्रपा र श्रम संस्कृति पार्टीका विरुद्धमा आ–आफ्नै ढंगले अघि बढेको देखिन्छ । यस्तोमा सरकार विपक्षीका माग अनुसार आफूलाई सुधारेर अघि बढ्छ की दुई बहुमतको शक्ति प्रदर्शन गरेर विपक्षीलाई पेलेरै अघि बढ्छ ? यो भने हेर्न बाँकी छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update