काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी शक्ति संघर्ष चुँलिदै गएको छ । सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन्द्र शाह पक्षका सांसदको क्रियाकलापले पार्टी भित्र उकुसमुकस अवस्था सिर्जना भएको हो । सांसदहरुको बेलगाम बोली र व्यवहारले ठुलै विस्फोट हुनेसम्म विश्लेषण सुरु भएका छन् ।
दुई\दुई पटक प्रशिक्षण कार्यक्रम राख्दा पनि सांसदहरु अनुशासनमा बाँधिन सकेका छ्रैनन् । यसले अभुतपुर्व जनमत पाएको रास्वपा दुर्घटनाको बाटोमा जाने त होइन् भन्ने आशंका बढाएको छ ।
‘जान्नेलाई छान्ने’ नारा बोकेको सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विवादको भुमरीमा पर्दै गएको छ । कारणः जान्नेलाई छान्ने नभई नजान्नेलाई छाँनिँदा समस्या बल्झिएको हो । संसदीय मर्यादा र राजनीति संस्कार नबुझेका सांसहरुको कारण पार्टी नेतृत्वले आलोचना खेप्नु परिरहेको छ । अझ प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रीमण्डलकै सदस्य विवादमा पर्नुले नागरिकमा निरासा छाएको छ ।
अहिलेसम्म दुई मन्त्री बर्खास्तीमा परिसकेका छन् भने पुनः रास्वपाकै अर्का सांसद विदेशी महिलासँगको सम्बन्धका कारण आलोचित बनेका छन् । आउनुहोस् बालेन नेतृत्वको सरकार गठन भएको ५५ औं दिनसम्म आइपुग्दा कुन कुन घटनाले रास्वपामाथि नैतिक प्रश्नचिन्ह खडा ग¥यो ।
पछिल्ला केहि विवाद र काण्डा बारे चर्चा गरौँ ।
१. कृष्णकुमार कार्कीः बिदेशी महिलासँग सम्बन्धको आरोप
मोरङ क्षेत्र नं. २ बाट निर्वाचित रास्वपा सांसद कृष्णकुमार कार्की प्रकरण सतही बनेको छ । कार्कीमाथि नाइजेरियन महिला रिता अजुकोलेलाई गर्भवती बनाएर अलपत्र पारेको गम्भीर आरोप लागेको हो । यसले सिंगो रास्वपामाथि नैतिक प्रश्न उठ्न थालेको छ । कार्कीले आरोपको खण्डन गरेपनि विपक्षी दलका सांसदहरुले संसदमै प्रश्न उठाइरहेका छन् ।
उक्त समाचार जनआस्थाको अनलाइन संस्करणमा सार्वजनिक भएको थियो । यो प्रकरणले विपक्षी दलहरुले मात्र होइन सत्तारुढ दलकै सांसदहरुले पनि प्रश्न उठाएका छन् । रास्वपा सांसद आशिका तामाङले यो प्रकरणका तत्काल छानबिन गर्न सामाजिक सञ्जालबाटै पार्टी नेतृत्वलाई झक्झकाएकी छन् ।
२. जगदिश खरेलः स्मार्ट टेलिकमको विवादः
पूर्वसंचारमन्त्री तथा ललितपुर क्षेत्र नं २ बाट निर्वाचित सांसद जगदिश खरेल पनि भ्रष्टाचार प्रकरणमा मुछिएका छन् । स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा खरेलको नाम पनि मुछिएको छ ।
संचारकर्ममा हुँदा नेताको पसिना निकाल्न माहिर खरेल ३० अर्ब ठगी प्रकरणमा मुछिनुले रास्वपामाथि नै नैतिक प्रश्न उठेको छ । रास्वपाबाट कस्ता कस्ता जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । रास्वपा सुशासनको नाराले नै सत्तामा पुगेको हो । यद्यपी खरेलले आफ्नो संलग्नता अस्वीका गरिरहेका छन् ।
३. सुधन र दीपक शाहको विवाद र मन्त्रीबाट बर्खास्त
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भ्रष्ट्राचार नियन्त्रण र सुशासन कायम गर्न शुन्य सहनशीलता अपनाएको दाबी गरिएको छ । सरकार गठनको दुई महिना नहुँदै रास्वपा नेतृत्वको सरकारका दुई मन्त्री बर्खास्तीमा परिसकेका छन् ।
सुदन गुरुङले विचौलीया दिपक भट्टसँगको व्यावापरिक साझेदारीका कारण गृहमन्त्री पद गुमाउनु पर्यो भने दीपककुमार साहले आफ्नो श्रीमतिलाई नियुक्ति थमाएको कारण श्रम मन्त्रीपद गुमाउनु पर्यो ।
१३ दिनमा बर्खास्तीमा परेका साहले आफ्नी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य विमा बोर्डको सदस्यमा पुनः नियुक्ति दिलाएका थिए ।
४. केपी खनाल र च्याट जिपिटी
सरकारले भूमिहिन सुकुम्बासीले अतिक्रमण गरेर बसेको बस्तीमा सरकारले डोजर चलाउँदा रास्वपा सांसद केपी खनाल पनि ऐलानी जग्गामै बस्दै आएको खुल्यो ।
यो बहस सेलाउन नपाउँदै च्याट जिपिटीको सहयोगमा भनाई राखेको भन्दै कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद खनालको बौद्धिक क्षमतामाथि प्रश्न उठाइएका छन् ।
५.सांसदहरुको बेलगाम बोली र धम्की
रास्वपाले सांसदहरुको अस्वभाविक हरकर्त र व्यवहारले पनि हैरानी खेप्नु परेको छ । बाँके ३ बाट निर्वाचित रास्वपा सांसद खगेन्द्र सुनारले ‘प्रहरी प्रमुखलाई घिसारेर सडकमा ल्याउने र वर्दी फुकालिदिने’ भन्दै अभिव्यक्ति दिए । जुना सांसदको मर्यादा बाहिरको अभिव्यक्ती थियो, त्यसपछि उनी आत्मालोचना गर्न बाध्य भए पनि ।
ओखलढुंगा १ बाट निर्वाचित सांसद विश्वराज पोखरेलले गृहजिल्ला भ्रमणमा निस्किदा देखाएको व्यवहारले त रास्वपाको जान्नेलाई छान्ने नारालाई नै चिरहरण गरिदियो । उनले आफूलाई विद्यालयका हेडमास्टरले स्वागत नगरेको भन्दै आक्रोश पोखेको भिडियो समाजिक सञ्जालमा भाइरल भएको थियो ।
उसो, त रास्वपा स्थापना कालदेखि नै विवादको भुमरीमा रमलिँदै आएको छ । सभापति लामिछनेको सहकारी घोटाला काण्ड, २ करोडको ढाकाकुमार श्रेष्ठ अडियो प्रकरण, संस्थापक महामन्त्री मुकुल ढकाल बर्खास्ती जस्ता घटना पनि स्मरणीय छन् ।
पार्टी भित्र असन्तुष्टीका स्वर बाक्लिदै, गुटउपगुटको संकेत
फागुन २१ को चुनावमा १८२ सिट सहितको दुई तिहाईको जनमत पाएको रास्वपा भित्र असन्तुष्टीका स्वर बाक्लिन थालेका छन् । सांसदहरु एकअर्का प्रति आरोपप्रत्यारोप र रक्षात्मक बन्न थालेका छन् ।
यसले रास्वपा दुर्घटनातर्फ जाने त होइन भन्ने आशंका उत्पन्न हुनु स्वभाविक हो । किनकी संसद बैठकमै रास्वपा सांसदका सांसदबीच विचार बाझिएका छन् । संसदमा प्रधानमन्त्री बालेनको अनुपस्थितिलाई लिएर सत्तारुढ दल रास्वपाकै सांसद अमरेसकुमार सिंहले आलोचना गर्दा राजिव खत्री रक्षात्मक बनेका छन् ।
संसदमा मात्रै होइन, पार्टी भित्र पनि गुटउपगुटका संकेत देखिन थालेका छन् । विशेषगरी संस्थापक सभापति रवि लामिछाने र वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको गुट सक्रिय बनेको चर्चा चुलिएको छ ।
बालेनले आफ्ना विश्वासपात्र महामन्त्री भुपदेव शाह मार्फत् पार्टी कब्जा गर्ने रणनीति बुनेको दाबी गरिन्छ । सभापति रवि पक्ष पपनि रक्षात्मक र सजक देखिएको बताइन्छ । नेताहरु भने रास्वपा भित्र कुनै गुटउपगुट नरहेको दाबी गरिरहेका छन् । यद्यपी असार ७, ८ र ९ गते चितवनमा हुन लागेको रास्वपा पहिलो महाधिवेसनबाट पार्टीभित्रको मौलाउँदै गरेको गुट जरैदेखि निमोठिन्छ कि गुटबन्दी झाँङगिन्छ, हेर्न बाँकी छ ।
