News 24 Television
रविसंग रास्वपा सांसदले भन्न थालेः सचिवालय नै टेरेनन्, रविलाई ढाकछेप गर्न कठिन बन्दै !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सांसदहरुसंग छलफल गरिरहेका छन् । सांसदहरुले प्रधानमन्त्री कार्यालयले महत्व नदिएकोदेखि मन्त्रीको सचिवालयसम्मले नटेरेको भन्दै दुखेसो पोखिरहेका छन भने प्रधानमन्त्री वालेन्द्र शाहको शैलीले सार्वजनिक प्रश्नको सामना कसरी गर्ने भन्ने प्रश्न पनि पेचिलो बन्दै गएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको जनमत र जनमतमाथि प्रधानमन्त्री वालेन्द्र शाहले देखाइरहेको व्यवहारले बहस सिर्जना गरिदिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा सांसदको प्रश्नको जवाफ समेत नदिने गरि अघि बढेपछि सभामुख डीपी अर्यालले संसदमा ल्याउने भन्दै समन्वयको तयारी गरे। तर, वालेन्द्रले दिएको जवाफपछि डीपी तनावमा देखिन्छन्। 

उनले सभा सञ्चालनमा समेत वालेन्द्रकै शैली अपनाउन थालेको आरोप लाग्न थालेको छ। यसरी अघि बढिरहेको संसदीय राजनीतिमा वालेन्द्रका कारण सर्वाधिक प्रश्नको सामना गरिरहेको रास्वपाभित्र आन्तरिक मतभेद छरपष्ट हुन थालेका छन्।

यस्तो स्थितिमा कसरी एकमत कायम गर्न सकिन्छ भन्दै पार्टी सभापति रवि लामिछानेले सांसदहरुलाई प्रदेशगत ढंगले भेटेर छलफल गरिरहेका छन्। जसमा कोशी प्रदेशबाट निर्वाचित सांसद तथा पूर्वउपसभामुख इन्दिरा राना मगरले सुकुम्वासी बस्तीमा सरकारले देखाएको शैलीमा प्रश्न उठाइन्। रविलाई सुकुम्वासीबारे पार्टीको धारणा मागेको उनले सार्वजनिक रुपमै भन्न थालेकी छन्।

संसदको नियमावलीमै प्रश्नोत्तर गर्ने व्यवस्था छ। जसमा संसद चलेको बेला महिनाको पहिलो हप्तालाई तोकिएको छ। विशेष कारण स्थगित भएमा सभामुखले तत्काल तोक्ने व्यवस्था गरिएको छ। तर, संसदका दुई अधिवेशन चलिरहँदासम्म प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक रुपमा प्रश्नको सामना गर्न चाहेका देखिन्नन् । यस्तोमा सार्वजनिक रुपमा प्रश्नमात्रै उठेका छैनन्, उनले जनमतको अपमान गरेको आरोप समेत लाग्न थालेको छ। तर, रास्वपालाई भने यसको वचाउ गर्नुपर्ने बाध्यता देखिन्छ ।

रास्वपामा रवि लामिछानेले पनि उपर्युक्त समयमा जवाफ दिने भनिरहेका छन्। जवाफदेहीता, सुशासन र भ्रष्टाचार नियन्त्रणसहित विधिको शासन स्थापित गर्ने दाबी गर्दै आएको रास्वपा संसदीय दलका नेता समेत रहेका वालेन्द्र शाहले नै संसद नियमावली पालना नगरेपछि प्रश्नहरु उब्जिएका छन्। संसदमा मन्त्रीको उपस्थिति पनि कमजोर बन्दै गएको र रास्वपा नेतृत्वको सरकारले संसदलाई महत्व नदिएपछि यसबारेका प्रश्नहरु असरल्ल बन्न पुगेका छन्। तर, सार्वजनिक प्रश्नको जवाफ कहिलेसम्म यसरी नै ढाकछेप गर्न सकिन्छ र गरिन्छ भन्ने विषय पनि चासोमा देखिन्छ। 

सभमुखले रुलिङ गर्नुको सट्टा सल्लाह गर्न पुगेपछि समेत उनको आलोचना चलिरहेको छ। यस्तोमा रास्वपाले सरकारलाई कसरी संसदप्रति उत्तरदायी बनाउछ र प्रधानमन्त्री संसदीय दलप्रति जवाफदेही बन्छन भन्ने चासो पनि उत्तिकै देखिन्छ। रास्वपाका सांसदहरुले प्रधानमन्त्रीको शैलीमा प्रश्न भने गर्न थालेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ ९, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update