News 24 Television
किसानलाई पीरः असारमा सुख्खा, कार्तिकमा वर्षा

सर्लाही । गत असारमा सुख्खा हुँदा समयमा धान रोप्न नपाएका किसानले यसपाली धान भित्राउने बेला परेको पानीले ठूलो क्षति पुर्याएको छ । तीन दिनदेखिको वैमौसमी वर्षाले मधेश प्रदेशमा पाकेको धानबालीमा ठूलो नोक्सानी पुर्याएको हो । 

बडो दुःखका साथ उब्जनी गरिएको बाली वर्षाले नोक्सानी पुर्याएपछि सर्लाही लगायत तराई–मधेशका किसानहरू चिन्तित छ । कहिले बेमौसमी बर्षा त कहिले खडेरीको कारण किसान सधैँ मारमा पर्ने गर्दछन् । यो वर्ष साउनको पहिलो हप्तासम्म पनि बर्षा नहुँदा सर्लाही लगायत मधेसका किसानले समयमा रोपाइ समेत गर्न पाएका थिएनन् । पानी अभावले धानका बीउसमेत ब्याडमै सुकेका थिए ।

किसान पानी तान्ने मोटर,दमकल तथा अन्य वैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरेका किसानको उब्जनी भइसकेको धान यतिबेला पानीमा डुबेका छन् । वेमौसमी वर्षाले गर्दा उत्पादन भकारीमा खन्याउन तयार भएका धानखेत पानीले भरिएएपछि किसानहरु निकै चिन्तित छ । 

किसानको मुख्य बाली हो धान । तर भित्र्याउनका लागि अन्तिम तयारीका साथ काटिसकेको धान खेतको गरामै भिजेका छन् । तिहार सकिएलगत्तै पाकेको धान काटेर भित्र्याउने तयारी रहँदा अविरल वर्षाले धान खेतमै भिजेको हो । 

काटेर खेतमा सूकाएका धान बालामै उम्रिन थालेका छन् । असारको अन्त्यसम्म वर्षा नहुँदा मधेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको थियो । सोही बेला संघीय सरकारले पनि मधेशलाई संकटग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको थियो । 

त्यसबेला पनि राहत नपाएको किसानको गुनासो छ । पहिले मौसमले साथ दिन्थ्यो, सरकारले नदिँदा खासै फरक पर्थेन । अहिले प्रकृतिले पनि साथ दिन छाड्यो । धानको बोट लडेपछि धान सबै भुइँमा झर्छ, पछि परालसमेत कालो हुन्छ, गाईवस्तुले खाँदैनन् । जताबाट पनि आफूहरुलाई नै घाटा भएको किसानको गुनासो छ । 

समयमा धान भित्र्याउन नपाएका किसानलाई अर्को खेतीको चिन्ता पनि उस्तै छ । किसानहरूले धान काटेपछि प्राय ः गहुँ, मकै, उखु, तोरी, आलु, र काउलीजस्ता बाली लगाउने गर्छन् । तर यसपाली खेतमा पानी जमेकाले गहुँ र हिउँदे मकै रोप्ने तयारीमा रहेका किसानहरू समस्यामा छन् । 

उचाइ भएको खेतमा लगाइएका तरकारी बालीमा त्यति ठूलो क्षति नभए पनि, गहिरो जमिनमा लगाइएका तरकारी बाली डुबानमा परेका छन् । सर्लाही जिल्लामा मात्रै करिब ३९ हजार ४ सय ९० हेक्टर जमिनको करिब १ हजार हेक्टर क्षति पुगेको कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ   । 

सारमा समयमै धान रोप्न नपाउँदा यो वर्ष धान उत्पादन कम हुने भनिएको थियो । अहिले पुनः वर्षाले गर्दा काटेको धान भित्र्याउन नपाउँदा यो वर्ष धानको उत्पादन घट्ने निश्चित छ । धान काटेपछि घाम नलाग्दा र निरन्तर पानी पर्दा यतिवेला सर्लाही लगायत देशैभरका किसान चिन्तामा छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update