दोलखा । दोलखाको बिगु गाउँपालिका–१ ठोङठाङ भिरमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिगु–२ ओराङ देउलाङका २१ वर्षीय आङफुर्वा तामाङ मंगलवार साँझदेखि बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा उनको शव ठूलो भीरमुनि फेला परेको हो।
प्रत्यक्षदर्शी नीर बुढाथोकीका अनुसार तामाङले मङ्गलवार साँझ करिब ७ बजे सिस्नेरी हाइड्रोपावरका कर्मचारी सुजन भण्डारीको नाममा दर्ता भएको बा. ४२ प ४९०० नम्बरको मोटरसाइकल लिएर गएकोमा रातभर घर नफर्केपछि आफन्त तथा मोटरसाइकलधनीले खोजतलास थालेका थिए।
मंसिर ३ गते बिहान करिब १० बजे तामाङलाई बिगु– १ ठोङठाङ भिरको सडकबाट करिब १०० मिटर तल मोटरसाइकलसहित घोप्टो अवस्थामा भेटिएको हो। घटनास्थल रोल्वालिङ, दोलखाबाट करिब ७ किलोमिटर उत्तरतर्फ पर्दछ। मोटरसाइकल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।