दोलखा । यहाँकाे बैतेश्वर–१ गैरीमुदीमा एक अत्यन्तै अनौठो र संवेदनशील घटना प्रकाशमा आएको छ । पाँच महिनाअघि, असार ६ गते दिवंगत भएकी ९३ वर्षीय आमा फुलमाया तामाङ घाटमा गाडिएको अवस्थामा रहेकी थिइन्। तर शुक्रबार उनका छोरा जालन्धर तामाङले आमाप्रति अत्यधिक माया र भावनात्मक सम्बन्धका कारण उक्त शव आफैँले खनेर घरमै ल्याएका छन्।
बिहान-बेलुका आमाका लागि धुप बाल्न सजिलो होस् भनेर घरमै ल्याएको जालन्धरले बताएका छन् । स्थानीयका अनुसार शव काठको बाकस (कफिन) मा भएकाले पूर्ण रूपमा कुहिन–गलिन नपाएको र हल्का दुर्गन्ध मात्र आएको बताइएको छ । छोरा जलन्धरले आमाको माया सहन नसकेर यस्तो कदम चालेको बताएका छन्।
घटनाको जानकारी पाएपछि स्थानीयवासी र प्रहरी टोली घरमै पुगेका थिए। सबैको समन्वयमा शवलाई पुनः घाटमै पुर्याई आवश्यक विधिअनुसार दाहसंस्कार (गाड्ने प्रक्रिया) सम्पन्न गरिएको छ।
स्थानीयले यस घटनालाई मानसिक–भावनात्मक कारणले उत्पन्न भएको असामान्य घटना भन्दै मनोरोग वा गहिरो तनावका कारण यस्तो हुन सक्ने बताएका छन्। हाल घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।